
संस्कृतमा एउटा भनाइ प्रचलित छ, ‘एक लज्जाः परित्यज्य, सर्वत्रः विजयी भवेत ।’ एउटा लाज छाडेपछि सबै जितिन्छ ।
यो एउटा व्यङ्ग्यात्मक उक्ति पनि हो, ‘लाज नभएका मान्छेसित कसैको केही लाग्दैन, उनीहरू सबैतिर जितेरै छाड्छन्, सज्जनले नै पर हट्दिन पर्छ ।’
लाजको सामान्य अर्थ भित्रैदेखि लाग्ने संकोच वा धक मान्नु हो । लाजले व्यक्तिलाई नैतिक बन्धनमा बाँधेर आत्मानुशासनमा बस्न प्रेरित गर्छ । त्यसैले लाज मानव जातिको गहना भनिएको हुनुपर्छ । लज्जाको सम्मान गर्नेलाई समाजले पनि सम्मान गर्छ । लज्जाको कदर गर्न नसक्ने व्यक्तिको समाजमा पनि इज्जत हुँदैन ।
कुनै पनि कुरा गर्नका लागि आत्मविश्वासको कमीले उत्पन्न हुने एक प्रकारको संवेग नै लाज हो । रिस, खुसीजस्तै लाज पनि एउटा संवेग हो । जुन संवेगलाई मान्छेले सकारात्मक र नकारात्मक दुवै तरिकाले प्रयोग गर्छन् ।
नराम्रो काम गर्न मान्छेहरू लजाउनुपर्छ, त्यसैले यो हामी जन्मिंदै प्राप्त भएको गुण हो । नराम्रो काम गर्नका लागि लजाउनुपर्नेमा केही मान्छेहरू भने राम्रो काम गर्न लजाउने गर्छन् ।
चाहिने कुरामा लजाउनु हुँदैन
मैले केही नराम्रो काम गरे भने मलाई अरूले के भन्लान् भनेर लाज मान्नु राम्रो हो । तर समाजमा खुलेर बोल्नुपर्ने कुरा, आफूसँग भएको क्षमतालाई अरूको अघि देखाउने कुरामा डराउनु, लाज मान्नु भने गलत हो ।
लाजले मान्छेलाई कतिपय कुरामा अघि बढ्न दिंदैन । कुनै व्यक्ति आफूसँग भएको प्रतिभा अरूको अघि देखाउन लजाउँछ भने उसले जीवनमा प्रगति गर्न सक्दैन । आफ्नो क्षमता प्रदर्शन गर्न आफूलाई प्रस्तुत गर्नका लागि लाज मान्नु हुँदैन । यस्तो कुरामा लजाइयो भने त्यो व्यक्तिले आफ्नो जीवनमा धेरै कुरा गुमाउँछ ।
शिक्षा लिनु वा कसैबाट केही सिक्नु गलत होइन । जब कसैबाट केही सिक्ने मौका मिल्छ तब बिना लाज सिक्नुपर्छ, किनकि लज्जाको कारण धेरै पटक तपाईंले सही कुरा सिक्न सक्नु हुन्न र यस कारणले तपाईंलाई असफलताको सामना गर्नुपर्छ । जीवनमा सफल हुन चाहनुहुन्छ भने बिना लाज शिक्षा लिनुपर्छ ।
नेपालमा कामको कुरामा लाज धेरै जोडिएर आउँछ । डाक्टर, इन्जिनियरको काम मात्र ठूलो हो सरसफाइकर्मी, चालक जस्तो काम सानो हो भनेर छुट्याइएको छ । जसले गर्दा मान्छेहरू सरसफाइको काममा जोडिन लजाउँछन् । तर काम ठूलो सानो हुँदैन र काम गरेर खान लजाउन पनि हुँदैन । जबकि विकसित मुलुकमा हरेक कामलाई सम्मान गरिन्छ । जसले गर्दा त्यहाँका मान्छेहरू काम गर्न लजाउँदैनन् ।
आचार्य चाणक्यका अनुसार पैसा कमाउने काम गर्दा मानिसले कहिल्यै लाज मान्नु हुँदैन । तर पैसा कमाउनको लागि गलत बाटोको प्रयोग गर्नु हुँदैन । यदि कुनै व्यक्ति चाहिने कुरामा पनि लजाउँछ भने उसले त्यो लाजलाई हटाउनुपर्छ । त्यसको लागि मनोचिकित्सक, मनोविद् र प्रेरकवक्तासँग काउन्सिलिङ गर्नुपर्छ ।
गलत कुरामा लजाउनुपर्छ
लाजले इज्जत दिने हो र नजान्दा बेइज्जत पनि । यदि कुनै व्यक्ति नैतिकवान र कर्तव्यनिष्ठ हुन चाहन्छ भने त्यो व्यक्ति नराम्रो काम गर्न लजाउनैपर्छ ।
लाजले व्यक्तिलाई नैतिक बन्धनमा बाँधेर आत्मानुशासनमा बस्न प्रेरित गर्छ । तर व्यक्तिले लाज मान्न छोड्दा उसले आत्मानुशासन नै बिर्सन्छ । जसले गर्दा उसले चोरी, ठगी, भ्रष्टाचार जस्ता काम गर्न पुग्छ । त्यसैले समाजलाई नकारात्मक असर गर्ने काम गर्न भने मान्छे लजाउनैपर्छ ।
(डा. केसीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4