
१० साउन, काठमाडौं । सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ ।
सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन् । एमालेको नाराबाजीपछि सभामुख घिमिरेले प्रतिनिधसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरेका छन् ।
प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु आआफ्नो सिटबाट उठेका थिए । प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गरे । त्यसपछि आकस्मिक समयमा अरु दलका सांसदहरुले पनि धारणा राखे । आकस्मिक समयको पालो सकिएर सभामुखले शून्य समय सुरु गर्नेवित्तिकै एमाले प्रमुक सचेतक गिरी पुनः उठे ।
उनले सुन तस्करीका विषयमा अरु दलका सांसदहरुले पनि भनाइ राख्न खोजेकाले आफूहरु लचिलो भएको बताए । तर उच्चस्तरीय छानबिन समिति गठनका लागि सभामुखबाट रुलिङ नभएसम्म बैठक चल्न नदिने बताए ।
पछिल्लो एक महिनामा हरेक दिनजसो त्रिभुवन विमानस्थलबाट सुन तस्करी भइरहेको दाबी गर्दै उनले भने, ‘गृहमन्त्री र अर्थमन्त्रीको संरक्षणमा सुन भित्रिएको छ, यो अन्तिम पटक सेटिङ बिग्रिदा पक्राउ परेको हो । उच्च स्तरीय छानबिना समिति बन्नुपर्छ । मन्त्रीदेखि तलसम्म को को संलग्न छन्, त्यसको छानबिन हुनुपर्छ ।’
प्रतिक्रिया 4