+
+

मिस युनिभर्स नेपाल-२०२३ को आवेदन खुला, २८ वर्षसम्मका युवतीले भाग लिन पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १६:१२

काठमाडौं । मिस युनिभर्स नेपाल-२०२३ को आवेदन खुला भएको छ । बिहीबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा यसको आगामी संस्करणबारे जानकारी दिइयो ।

इच्छुकले साउन १८ गतेसम्म आवेदन दिन सक्ने ब्युटी पेजेन्टकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले जानकारी दिइन् । उनले आगामी संस्करणलाई थप समावेशी र लोकतान्त्रिक बनाउने प्रयास भइरहेको बताइन् ।

जसअनुसार अबको संस्करणमा प्रतिस्पर्धीको उमेर सीमा बढाएर १८ देखि २८ वर्षसम्म पुर्‍याइएको छ । यसअघिका अन्य नियमलाई भने निरन्तरता दिइने भएको छ । नयाँ संस्करण घोषणा गर्न पाउँदा आफूलाई सपनाजस्तो महसुस भइरहेको पूर्वमिस युनिभर्स नेपालसमेत रहेकी नग्माले भनिन् ।

उचाइ वा तौलको मापदण्ड नहुने, ट्रान्स वुमनलाई स्वीकार गरिने, गैरआवासीय नेपालीलाई पनि खुला, विवाहित महिला र आमा भएकाले पनि प्रतिस्पर्धामा भाग लिन पाउने नियमलाई यथावत् राखिएको छ ।

आयोजक संस्था उमंग क्रिएसनले प्रतियोगिताको टाइमलाइन पनि घोषणा गरेको छ । जसअनुसार साउन १८ गतेसम्म आवेदन दिन सकिने, साउन १९ गते क्वार्टरफाइनलिस्टको नाम घोषणा, साउन २९ गते सेमिफाइनलिस्ट घोषणा र भदौ २२ गते ग्राण्ड फिनाले हुनेछ ।

प्रतियोगिताको विजेताले मंसिर २ गते (नोभेम्बर १८) मध्य अमेरिकी मुलुक एल साल्भाडोरमा आयोजना हुने मिस युनिभर्स-२०२३ को अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने जनाइएको छ । विजेतालाई वर्तमान सुन्दरी सोफिया भुजेलले ताज हस्तान्तरण गर्नेछिन् भने इलेक्ट्रिक स्कुटर पनि प्रदान गरिने भएको छ । विजेतासँगै चार उपविजेतालाई पनि मान्यता दिइने भएको छ ।

उद्धव अधिकारी र नग्माले मिलेर स्थापना गरेको उमंग क्रिएसनले आयोजना गर्न लागेको मिस युनिभर्स नेपालको यो चौथो संस्करण हुनेछ । पत्रकार सम्मेलनमा वर्तमान मिस युनिभर्स नेपाल भुजेलले जितपछि आफूमा आएको सकारात्मक परिवर्तन र समाजमा आफूले पुर्‍याएको योगदानको चर्चा गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव सुनाएकी थिइन् ।

पर्यटन बोर्डकी प्रबन्ध निर्देशक नन्दिनी थापाले प्रतियोगिताको विजेतालाई नेपालको पर्यटन दूत घोषणा गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?