
११ साउन, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि पहिलो पटक ट्रेकिङ गाइड तालिम प्रदान गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीमार्फत संयुक्त रुपमा सञ्चालित जिविकोपार्जन पुनरूत्थानका लागि दिगो पर्यटन परियोजना र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले यस्तो तालिम सञ्चालन गरेका हुन् ।
नेपालमै पहिलोपटक यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि आयोजना गरिएको तालिममा २५ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको सहभागिता रहेको बोर्डले जनाएको छ । तालिम ३५ दिनसम्म चलेको थियो ।
तालिममा सहभागीहरुलाई पर्यटनमन्त्री सुदन किरातीले प्रमाणपत्र वितरण गरेका थिए । सो क्रममा मन्त्री किरातीले यौनिक तथा लैङि्गक अल्पसंख्यकहरुका लागि सञ्चालित यो कार्यक्रम आफैंमा ठूलो सन्देश भएको बताए । यो तालिमले यस समूहका सदस्यहरुलाई पर्यटन क्षेत्रमा काम गर्न तथा स्वरोजगार बन्न सहयोग मिल्ने विश्वास मन्त्री किरातीको थियो ।
‘यो हेर्दा सानो काम देखिन सक्छ तर यसले दिने सन्देश ठूलो छ । यसबाट हामीले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि यस समूहका सदस्यहरुलाई नेपाल आउन सहयोग पुग्ने छ,’ उनले भने ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी नेपालका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले अल्पसंख्यकहरुलाई समाजको मूल प्रवाहमा ल्याउन अझै पनि ठूलो चुनौती रहेको अवस्थामा यो तालिमले उनीहरूको जिविकोपार्जनमा सहयोग पुग्ने बताइन् ।
प्रतिक्रिया 4