
काठमाडौं । अभिनेता राजेश हमाल अघिल्लो सातासम्म अमेरिका भ्रमणमा व्यस्त थिए । केही अमेरिकी राज्यमा नेपाली र भुटानी समुदायले आयोजना गरेका कार्यक्रममा भाग लिएर उनी केही दिनअघि नेपाल फर्किए ।
काठमाडौं फर्किएको भोलिपल्टै उनी तीज गीतको छायांकनमा व्यस्त भएका छन् । बिहीबार उनलाई फिचर्ड गरिएको तीज गीतको छायांकन सकिएको छ, जहाँ हमालले महिला कलाकारसँगै तीज गीतमा छमछमी नाचे ।
पछिल्लो समय म्युजिक भिडियोमा कम देखिने उनी लामो समयपछि यसमा फर्किएका हुन् । अहिले हमालको हातमा फिल्म छैन । यद्यपि उनलाई म्युजिक भिडियोमा फर्काउने काम चाहिं एक म्युजिक भिडियोले गरेको हो ।
जसमा डेभिड शंकर र भावना आचार्यको युगल स्वर समावेश छ । ‘आफ्नो घरआँगनमा नाच’ बोलको गीतमा देवेन्द्र पाण्डेको नृत्य निर्देशन छ । बिहीबार काठमाडौंको धर्मस्थलीमा यो गीतको छायांकन गरिएको हो ।
गीतमा हमालले मोडल मञ्जु थापासँगै कम्मर मर्काएका छन् । सुहाउने गीत भएकाले हमाल गीतमा अभिनय गर्न तयार भएको निर्देशक देवेन्द्र पाण्डेले बताए । गीतलाई डान्सिङ बिटको शैलीमा तयार पारिएको छ । केही दिनमा युट्युबमा सार्वजनिक गर्ने तयारी छ ।
राजेश हमालले यसअघि सुनिता दुलालको ‘हजुरैको मन’, विष्णु माझीको ‘मेरो भेना हङकङको लाहुरे’ लगायतका तीज गीतमा अभिनय गरेका थिए ।
प्रतिक्रिया 4