
काठमाडौं । क्रिस्टोफर नोलन निर्देशित हलिउड फिल्म ‘ओपेनहाइमर’ले पहिलो साता नेपाली बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । सीमित मल्टिप्लेक्समा मात्र प्रदर्शनमा आएको किलियन मर्फी स्टारर फिल्मले सात दिनमा दुई करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको हो ।
चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकमा बिहीबारसम्म यो फिल्मको कमाइ एक करोड ९८ लाख रुपैयाँ ग्रस (एक करोड ३२ लाख रुपैयाँ नेट) कलेक्सन छ । आणविक बमका पिता मानिने जे रोबर्ट ओपनहाइमरको बायोपिक मानिने यो फिल्मले अन्तर्राष्ट्रिय बक्स अफिसमा उछाल कमाइ गरिरहेको छ ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको अर्को हलिउड फिल्म ‘बार्बी’ले नेपाली बक्स अफिसमा बिहीबारसम्म (पहिलो साता) ४८ लाख २६ हजार रुपैयाँ नेट (७२ लाख ३९ हजार ग्रस) कलेक्सन गरेको छ । विश्वव्यापी क्रेज देखिएको बार्बीले अन्तर्राष्ट्रिय बजारमा उच्च कमाइ गरिरहेको छ ।
सरोज खनाल निर्देशित नेपाली फिल्म ‘बगान’ले दुई सातामा ८३ लाख रुपैयाँ ग्रस कमाइ गरेको बोर्डले जनाएको छ । टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वन’को शो शुक्रबारदेखि खुम्चिएको छ ।
प्रतिक्रिया 4