
१२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिका सेयर धितो कर्जा, स्वीकृति लिएर सञ्चालित रियलस्टेट व्यवसायीको कर्जा र हायर पर्चेज कर्जाको जोखिम भार घटाएको छ ।
शुक्रबार बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत बनाएको छ । यसअघि २५ लाखसम्मको कर्जाको जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जाको जोखिम भार १५० प्रतिशत रहेको थियो ।
यस्तै २५ लाखसम्मको व्यक्तिगत हायर पर्चेज कर्जाको जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशतमा झारेको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति लिएर घरजग्गा प्लानिङ र डेभलपमेन्ट गर्ने कम्पनीले लिएको कर्जाको जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशतमा झारेको छ ।
यस्तै पहिलो घर खरिद वा निमार्णको लागि १ करोड ५० लाखसम्मको कर्जामा लोन टू भ्यालु रेसियो ७० प्रतिशत रहेकोमा त्यसको सीमा बढाएर २ करोड पुर्याएको छ । व्यक्तिगत आवासीय घर कर्जाको सीमा नै बढाएर २ करोड पुर्याएको हो ।
विकास बैंकलाई पनि क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ लागु भएको छ । राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकलाई क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार पूँजीकोष कायम गर्न निर्देशन दिएको छ ।
यससँगै अब विकास बैंक्हरुले पनि त्युनतम ८.५ प्रतिशत प्राथमीक पूँजीकोष सहित ११ प्रतिशत न्यूनतम पूँजीकोष कायम गर्नुपर्ने भएको छ । अन्य विकास बैंकले भने समानान्तर रुपमा क्यापिटल एडुकेसी फ्रमेवर्क २००८ र २०१५ अनुसार न्यूनतम पूँजीकोष कायम गर्नुपर्ने हुन्छ ।
यस्तै कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाइन राष्ट्र बैंकले जनाएको छ ।
तीनै तहले आफ्नो कार्यक्रम अन्तर्गतको वा कुनै दातृ निकायबाट प्राप्त सहुलियत दरको सहायता/अनुदान रकमलाई बैंक तथा वित्तीय संस्थामार्फत तोकिएको क्षेत्र एवम् वर्गमा ऋण परिचालन हुने गरी सञ्चालन गरेको कार्यक्रम अन्तर्गतको कर्जा औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया 4