+
+

काम चलाउ मुख्यमन्त्री आफू भएको दाबी गर्दै कार्यालय जान गाडी कुरेर बसेका छन् कार्की

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १४:४३

१२ साउन, विराटनगर । सर्वोच्च अदालतले उद्धव थापाको नियुक्ति बदर गरेपछि आफू कामचलाउ मुख्यमन्त्री भएको दाबी गरेका नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री कार्यालय फर्कन गाडी कुरेर बसेका छन् ।

मुख्यमन्त्री कार्यालयलाई शुक्रबार हाजिर हुन आउने जानकारी गराएका कार्कीको सचिवालयले शुक्रबार बिहान विराटनगर एयरपोर्ट गाडी पठाउन भनेको थियो ।

तर काठमाडौंबाट फर्किएर कार्यालय जान खोजेका कार्कीलाई लिन  प्रदेश प्रमुख सचिवले मुख्यमन्त्रीले प्रयोग गर्ने गाडी पठाएनन् ।

अर्कै गाडी पठाएपछि कार्की  प्रमुख प्रतिपक्षी दलको नेताले प्रयोग गर्ने गाडी चढेर पिपलचोक स्थित निवास पुगे ।

निवासमा रहेका उनी कार्यालय फर्कन गाडी पर्खिरहेका हुन् । प्रमुख सचिवले गाडी पठाएपछि कार्की मुख्यमन्त्री कार्यालय जाने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

‘मुख्यमन्त्री कार्यालयले गाडी पठाए मुख्यमन्त्री आजै कार्यालय जानुहुन्छ,`नेकपा एमाले प्रमुख सचेतक भण्डारीले भने, ‘प्रमुख सचिवज्यूले गाडी पठाउनु पर्‍यो उहाँको निवासमा, अहिलेसम्म पठाएको छैन, पठायो भने जानुहुन्छ ।’

उनले अदालतले सुरुकै विन्दुबाट सरकार गठनको आदेश गरेपछि कार्की स्वत कामचलाउ मुख्यमन्त्री भएको दाबी गरे । ‘अदालतको आदेश त स्पष्ट छ नि, सरकार विहिन अवस्था हुँदैन, उनले भने, उद्धव थापाको नियुक्ति सुरुबाटै बदर भयो, बदर भएपछि हिजोकै अवस्था आइहाल्यो नि ।’

संघीय सरकारले निर्देशन नदिएका कारण प्रदेशको प्रमुख सचिवले मुख्यमन्त्री चढ्ने गाडी नपठाएको उनले आरोप लगाए ।

अदालतले स्पष्ट नभनेका कारण मुख्यमन्त्रीले प्रयोग गर्ने गाडी नपठाएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ ।

प्रदेश प्रमुखको कार्यालयले अदालतको आदेशपछि नयाँ सरकार गठनको आह्वान गरेको छ ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान गरेको हो । साउन १६ गते बेलुका ५ बजेसम्मको समय दिएर सरकार गठनको आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले कामचलाउ मुख्यमन्त्रीका बारेमा केही बोलेको छैन । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले कामचलाउ सरकारका विषयमा कार्यालयबाट केही निर्णय नभएको बताए । ´प्रदेश प्रमुखबाट अहिलेसम्म कुनै निर्देशन भएको छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?