
१२ साउन, पोखरा । पोखरा–३३ भरतपोखरीका किसान शोभाखर अधिकारीले व्यावसायिक गाई पाल्न थालेको २५ वर्ष पुगिसक्यो । तर, यसपटकजस्तो ठूलो रोग र क्षति कहिल्यै बेहोरेका थिएनन् ।
७१ वर्षीय शोभाखरले जीवनमै यति ठूलो गाईबस्तुमा लागेको महामारी देखेकै थिएनन्, यसपटकक आफैंले बेहोरेका छन् ।
गाईका शरीरैभरि बिबिरा, घाउहरु देखिँदै बिरामी पर्न थाले । दूधको मात्र ह्वात्तै घट्न थाल्यो । तर, गार्ईको बिमार र उपचारबारे शोभाखरमात्रै होइन पशु चिकित्सक नै अनभिज्ञ थिए । यो रोगले शोभाखरका फार्मबाट गाईहरु मर्न थाले । गाई बिमार गर्दै मर्न थालेपछि बल्ल थाहा पाए कि यो त लम्पी स्किन पो रहेछ ।
शोभाखरको फार्मबाट सानाठूला गरेर २५ वटा गाईगोरु मरे । यो रोगको उपचारै नहुने जानकारी पाएपछि अत्तालिएका शोभाखरले अहिले बल्ल गाईलाई खोप लगाउन पाएका छन् । अहिले उनको फार्ममा ५१ वटा गाईबस्तु छन् ।
‘सुरुमा न रोगबारे थाहा भयो, न बेलैमा भ्याक्सिनबारे नै जानकारी भयो । भ्याक्सिन पाइन्छ भन्ने थाहा पाएको भए आफैं खरिद गरेर भए पनि ल्याउन हुन्थ्यो,’ अधिकारीले भने, ‘जब मेरा गाईहरु मरे र पछि ढिलै भए पनि खोप लगाउन पाएँ, मैले गाउँ गाउँ डुलेर खोप लगाउन भन्दै हिँडे ।’
शोभाखरको दाबी छ, लम्पी स्किनकै कारण २५ लाखभन्दा बढी क्षति भयो । उनले ५ सय लिटर दूध प्रतिदिन बिक्री गर्दै आएकोमा अहिले २ सय लिटरमा झरेको छ ।
नौलो खालको रोग लम्पी स्किनको माहामारी देशैभरि डढेलो झैं सल्किकरहेको छ र किसानले समयमै गाईबस्तुलाई भ्याक्सिन लगाउनसमेत नपाउँदा ठूलो क्षति बेहोरेका छन् । शोभाकर गर्दै सोेही वडाका रामप्रसाद पौडेलका पनि ४ वटा गाई मरे ।
तालचोकका वोधराज दवाडी पीडा पनि उस्तै छ । पोखरामा सबैभन्दा पहिले उनकै गोठबाट पहिलो पटक कास्कीमा पनि यो रोगको संक्रमण फैलिएको पुष्टि भएको थियो । ठूलो फार्म चलाउनेदेखि १÷२ वटा गाईगोरु पाल्नेहरुसमेत लम्पी स्किनको मारमा परेका छन् ।
गाईबस्तुमा लाग्ने लम्पी स्किन संक्रमणको माहामारी अहिले मनाङ, मुस्ताङसहित गण्डकीका ११ जिल्ला र ८२ वटा स्थानीय तहमा सल्किसकेकोे कृषि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता डा. गृष्म न्यौपानेले जानकारी दिए । अहिले गण्डकी प्रदेशका करिब ३२ हजार किसान लम्पी स्किनको संक्रमणले मारमा परेका छन् ।
गण्डकीका ८५ वटा स्थानीय तहमध्ये मुस्ताङको लोमान्थाङ, लो घेकर दामोदर कुण्ड र मनाङको नापाभूमि गाउँपालिकाबाहेक सबै ठाउँका गाईबस्तुमा यो रोगको संक्रमण फैलिइसकेको छ ।
गण्डकी प्रदेशमा ५८ हजार ९८२ गाईबस्तु लम्पी स्किनबाट गाईबस्तु संक्रमित छन् । प्रारम्भिक प्राप्त तथ्यांकअनुसार २ हजार २८४ गाईबस्तु मरिसकेको डा. न्यौपानेले जानकारी दिए ।
अहिले पनि ३१ हजार ८६४ अहिले पनि बिरामी अवस्थामै छन् । वैशाखबाट देखिन थालेकोे लम्पी स्किनबाट पोखरामा मात्र ४०१ गाई र ४२ गोरुको मृत्यु भइसकेको महानगरको पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
गण्डकी प्रदेशमा लम्पी स्किनको संक्रमणपछि मृत्यु हुनेको संख्या ४ प्रतिशत रहेकोमा अहिले थोरैे कम भएको डा. न्यौपानेको भनाइ छ । अहिलेसम्म गण्डकीमा १ लाख ३ हजार २३० गाईबस्तुलाई खोप लगाइएको छ । यो भनेको १२ प्रतिशत गाईबस्तुलाई मात्र लगाइएको उनले जानकारी दिए ।
लम्पी स्किन फैलिन थालेपछि असार अन्तिममा गण्डकी प्रदेश सरकारले खोप खरिदका लागि १ करोड रुपैयाँ रकमान्तर गरेको थियो । अहिले ५६ हजार ६२५ डोज खोप खरिद गरिएको डा. न्यौपानेले जानकारी दिए ।
गण्डकीका बिस्तारै सबै ठाउँमा लम्पी स्किन फैलिए पनि मनाङ र मुस्ताङमा भने नियन्त्रणमै रहेकोे उनको भनाइ छ । संक्रमणले मरेका पशुको एकीन रिपोर्टिङ नहुँदा पनि समस्या परेको न्यौपानेले बताए ।
क्षतिपूर्तिको माग गर्दै किसानको प्रदर्शन
लम्पी स्किनले धमाधम गाईबस्तु मर्ने र दूधको मात्रा पनि घट्न थालेपछि देशैभरिका किसानले यतिबेला क्षति बेहोरिरहेका छन् । पोखरामा शुक्रबार किसानहरुले प्रदर्शन गर्दै क्षतिपूर्ति र किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
किसानलाई राहत दिन र बिमालाई सुनिश्चित गर्नुपर्ने भन्दै उनीहरुको सरकारको ध्यानाकर्षण गराएका हुन् । विभिन्न राजनीतिक दल निकट किसान संगठनहरुको नेतृत्वमा प्रदर्शनमा उत्रिएका किसानहरुको सरकारले राहतको कार्यक्रम ल्याउनुपर्ने आवाज छ ।
विरोधका क्रममा केहीले सडकमै लम्परासर परेर पनि प्रदर्शन गरेका थिए । नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीका अध्यक्ष गोवद्र्धन गौलीले सरकार किसानको पीडिप्रति चिन्तित नदेखिएको बताए ।
किसानहरुले द्रुत गतिमा खोप र उपचारको व्यवस्था हुनुपर्ने माग राखेका छन् । किसानलाई क्षतिपूर्ति, राहतका कार्यक्रम र व्यावसायिक प्रोत्साहन गर्ने नीति ल्याएर राज्य पनि छ भन्ने प्रत्याभूति गराउन माग गरेका छन् ।
प्रतिक्रिया 4