+
+

पोखराको फोहोर व्यवस्थापनमा स्थानीयको अवरोध, ४ दिनदेखि सडकमै थुप्रियो

स्थानीयले भने : महानगरले सहमति पूरा गरेन, फोहोर फाल्न दिँदैनौं

पोखरा-३२ लामेआहाल क्षेत्रका बासिन्दाले ६ महिनाका लागि फोहोर व्यवस्थापन गर्न दिने सम्झौता भएको र त्यसको अवधि समाप्त भएकाले अब नदिने अडान लिएका छन् । मेयर धनराज आचार्यले भने डेंगु फैलिने समयमा फोहोर व्यवस्थापन रोकिएकामा आफू दु:खी भएको बताएका छन् ।

विकास रोकामगर विकास रोकामगर
२०८० साउन १३ गते २०:३२

१३ साउन, पोखरा । महानगरले सहमतिअनुसार काम नगरेको भन्दै स्थानीयले अवरोध गरेपछि पोखराको फोहोर ४ दिनदेखि बिसर्जन भएको छैन । ६ महिनाका लागि अस्थायी रुपमा फोहोर फाल्ने, फोहोर बिसर्जन गरिसकेपछि माटोले पुर्नेलगायत सहमति भए पनि लागू नभएको भन्दै स्थानीयले फोहोर फाल्न रोक लगाएका हुन् ।

पोखरा महानगरपालिकाले हाल वडा नं. ३२ स्थित लामेआहाललाई अस्थायी ल्यान्डफिल साइटका रुपमा प्रयोग गर्दै आएको छ । महानगरले यसअघि पोखरा–१४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो । महानगर सरसफाइ शाखाका अनुसार हाल पोखरा महानगरबाट दैनिक २०० टन फोहोर व्यवस्थापन गर्नुपर्छ ।

हिजोआज मुख्य चोक तथा सडक किनारमा डंगुर थुप्रिन थालेको छ । शहरमा फोहोरको दुर्गन्ध बढेको छ । पोखरा महानगर– ३२ का बासिन्दा इच्छा गुरुङले महानगरले आफैं पहिले गरेको सहमति पूरा नगरेको आरोप लगाए ।

‘पहिले यहाँ फोहोर फाल्न ल्याउँदा पनि स्थानीयसँग कुनै वार्ता गरिएन । २/४ जना आफ्ना मान्छे राखेर सहमति गरेर फोहोर फाल्न ल्याइयो । त्यतिबेला यहाँ ल्याएको फोहोर सेग्रिगेसन (बर्गीकरण) नगर्ने, फोहोर फाल्नेबित्तिकै पुर्ने भन्ने सहमति थियो’, गुरुङले भने, ‘तर, सहमति भएको १ प्रतिशत पनि काम भएन ।’

महानगरले सहमतिअनुसार काम नगर्दा वरिपरि दुर्गन्ध फैलिएर बस्नै नसक्ने स्थिति आएको स्थानीयको भनाइ छ । ‘अहिले फोहोर फालिरहेको ठाउँ पहिरो जाने ठाउँ हो । फोहोर फाल्दै पुर्दै गयो भने पहिरो पनि रोकिन्छ भन्ने हाम्रो विश्वास थियो । तर, कुनै पनि काम भएन,’ गुरुङले भने, ‘बरु यहीं बसेर सेग्रिगेसन गर्दा त्यसको गन्ध आएर बसिनसक्नु हुन्छ ।’

स्थानीय बासिन्दाले सहमति बमोजिमको ६ महिना पूरा भएको र महानगरपालिकाले सम्झौता अनुसार काम नगरेकाले अब फोहोर फाल्न नदिने अडान राखेका छन् ।

ल्याण्डफिल साइट क्षेत्रमा दुर्गन्ध फैलिएपछि केही दिनअघि पनि स्थानीयले फोहोर बोक्ने गाडी अवरोध गरेका थिए । स्थानीयको विरोधपछि महानगरले अहिले भने फोहोर विसर्जनलगत्तै पुर्न सुरु गरेको थियो ।

पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बर्खामा ल्यान्डफिल साइटमा भएको हिलोका कारण बस्तीमा पनि असर परेको बताए । ‘ल्यान्डफिल साइटमा जाने गाडीको टायरमा हिलो आउँछ । घाम लागेको बेला त्यही हिलो धुलो हुन्छ’, उनले भने, ‘त्यसको लागि पनि हामीले समाधान खोजिरहेका छौं ।’

कार्कीले स्थानीयसँगको सहमतिबमोजिम ल्यान्डफिल साइट नजिकै फोहोर वर्गीकरण गर्न बन्द गरिसकेको जानकारी दिए । उनले ल्यान्डफिल साइटमा बसेर फोहोर वर्गीकरण गर्न सहमति नदिएको र केही व्यापारी आएर आफूखुुसी वर्गीकरण गरेको जानकारी दिए ।

‘पहिले पनि हामीले सेग्रिगेसन नगर्ने नै भनेका थियौं । तर, केही मान्छेहरु आएर आफैं काम गरेका हुन् । महानगरले अनुमति दिएको थिएन । हामीले पटकपटक भन्यौं पनि’, वडाध्यक्ष कार्कीले भने, ‘अस्ति महानगरमै गएर सम्झाएर पठाएपछि अहिले त्यो हटिसकेको छ ।’

मेयर धनराज आचार्यले डेंगुको असर बढिरहेका बेला फोहोर उठाउन बन्द गरिँदा आफू दुखी भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘डेंगु बढिरहेको अबस्थामा फोहर उठाउन नपाउदा हामी अत्यन्त दुखी छौं । आशा गरौं छिटोभन्दा छिटो समस्या समाधान हुनेछ । फोहोर उठाउने गाडी नआउँदासम्म प्रतीक्षा गरौं । कृपया सडकमा फोहर नफालौं ।’

स्थायी ल्यान्डफिल साइट कहाँ ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने बेलामा बच्छीबडुवाको ल्याण्डफिल साइटमा फोहोर फाल्न नपाएपछि लामेआहालमा ६ महिनाका लागि फोहोर फाल्ने र त्यसपछि नयाँ ठाउँ तोकिने भनी पोखरा महानगरपालिकाले स्थानीयसँग सहमति गरेको थियो । तर, सम्झौता अवधि सकिँदासम्म महानगरले अर्को विकल्प दिन सकेको छैन ।

ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण विमान दुर्घटनाको खतरा हुने भएकाले ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।

तत्कालीन मेयर मानबहादुर जिसी नेतृत्वको पोखरा महानगरले यसअघि वडा नम्बर १६ र २० को सीमानामा पर्ने पस्मराङमा ल्यान्डफिल साइट सार्ने निर्णय गरेको थियो । पोखरा–१६ का वडाध्यक्ष जीवन आचार्यको संयोकत्वमा गठित समितिले बुझाएको प्रतिवेदनका आधारमा पस्मराङ पोखराको नयाँ ल्यान्डफिल साइट तोकियो ।

पस्मराङमा करिब २५० रोपनी क्षेत्रफललाई ल्यान्डफिल साइटका लागि प्रयोग गर्ने महानगरको निर्णय थियो । तर, पछि स्थानीय बासिन्दाको तीव्र विरोध भएपछि निर्णय कार्यान्वयनमा आउन सकेन ।

पस्मराङमा ल्यान्डफिल साइट बन्न नसकेपछि विकल्पमा निवर्तमान मेयर जिसीले आफ्नो कार्यकालको अन्तिममा आएर ल्यान्डफिल साइट पोखरा वडा नम्बर ३३ मा सार्न अध्ययन गर्ने निर्णयसँगै महानगरबाट बिदा भए ।

धनराज आचार्य नेतृत्वको पहिलो कार्यपालिका बैठकले पोखरा ३३, टिमुरपाटामा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गर्‍यो । टिमुरपाटामा ल्यान्डफिल साइट बनाउनका लागि विस्तृत अध्ययन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न तथा पूर्वाधार निर्माण गर्न महानगरले १० करोड रुपैयाँसमेत विनियोजन गरेको थियो ।

तर, निर्णय भएकै १ वर्षभन्दा बढी बितिसक्दासमेत कार्यान्वयनमा आउन सकेको छैन । केही समयअघि पोखरा– ३३ पुँडीटारमा करिब ९६ रोपनी जग्गामा ल्यान्डफिल साइट बनाउने भन्दै वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत खातामा ५५ लाख रुपैयाँ पठाइएको थियो ।

व्यक्तिगत खातामा महानगरको रकम गएको खुलेपछि उक्त रकम फिर्ता गरिसकेको वडाध्यक्ष अधिकारीले जानकारी दिए । ‘खास त्यो पैसा जग्गा रोक्का गर्न दिइएको थियो । त्यो पैसा फिर्ता भइसकेको छ’, उनले भने । ल्यान्डफिल साइट बनाउने भनिएको पुँडिटारको जग्गा रोक्का गरिएको भन्ने आफूले सुनेको तर, जानकारी नभएको उनले बताए ।

पुँडीटारमै ल्यान्डफिल साइट बनाउन जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्‍बाट ३ महिनाअगाडि नै निर्णय आइसकेको छ । तर, पनि जग्गा प्राप्तिमा जिल्ला प्रशासन कार्यालयबाट निर्णय हुनुपर्नेमा ढिलाइ हुँदा ल्यान्डफिल साइट बनाउन पनि ढिलो भइरहेको महानगरको भनाइ छ ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?