
बा
जीवनको जन्मदाता
आस्थाको केन्द्र, प्रेरणाको स्रोत
विश्वास र शक्तिको खानी
इमान्दारिताको प्रतिमूर्ति
प्रसन्नता र आत्मविश्वास
पूर्ण वात्सल्यता
थोरै भय तर हार्दिकताले भरिपूर्ण
जस्तोसुकै पीडा र दु:खहरुमा पनि
निडर र सतिसाल झैं अडिग
बा
यो शब्दले ऊर्जा र शक्ति दिन्छ
आनन्दित र प्रफुल्लित बनाउँछ
दु:ख र कठिन परिस्थितिमा
मजबुत दिवार बन्दै
सन्तानको सुखद् भविष्यको लागि भनी
मनमा दृढ अठोट र संकल्पसहित
निर्भयका साथ अविचलित रुपमा
एकलव्य अगाडि बढिरहनुभयो
मात्र सुखहरुलाई महसुस गर्दै
बा
तपाईंको
राष्ट्र र राष्ट्रियताप्रतिको निष्ठा
शिक्षाप्रतिको उत्सर्ग र लगाव
शिक्षित समाजको अवधारणा
जसको लागि आफ्नो सम्पूर्ण जीवनको समर्पण
थुप्रै सकारात्मक कर्म र अमिट छापहरु
शालीनता अनि उच्च सम्मान
यस्तो लाग्छ सयौं जुनी
तपाईंकै छायामा जिउन पाऊँ
हृदयको स्पन्दनमा भनौं वा मानसपटलमा
तपाईं कदापि अमिट हुनुहुनेछैन ।।
–सुर्खेत (हाल काठमाडौं)
प्रतिक्रिया 4