
१४ साउन, काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले १४ साउन आइतबारदेखि प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओमा आवेदन माग गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन खुला गरेको हो ।
सार्वजनिक निष्कासनका लागि स्वीकृति पाएको मध्ये जारी पूँजीको १० प्रतिशतले हुने ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो।
आयोजना प्रभावित स्थानियलाई निष्कासन हुने सेयरमध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अति प्रभावित सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ११ का बासिन्दाहरुलाई निष्कासन हुने कम्पनीले जनाएको छ । यस्तै १ लाख ८७ हजार १०० कित्ता सेयर सोलुखुम्बुको अन्य स्थानीयका लागि छुट्याएको हो ।
यस्तै जारी पूँजीको १० प्रतिशतले हुने ७ लाख ४८ हजार ४०० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कानस गर्नेछ । जसको १० प्रतिशतले हुने ७४ लाख ८४० सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन हुनेछ । यस्तै १४ हजार ९६८ कित्ता सेयर कम्पनीका कर्मचारीलाई र ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
वैदेशीक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई सेयर निष्कासन गरेपछि सर्वसाधरणका लागि आवेदन खुला हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आईपीओमा २८ साउनसमम्म आवेदन दिने सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद ११ भदौसम्म थप हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने २८ साउनभित्र आवेदन दिनुपर्ने हुन्छ ।
आईपीओ निष्कासनका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै बिक्री प्रबन्धकको वेभसाइटमा गई रितपूर्वक विवरण भरी पनि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रयोग आवेदन दिन सक्नेछन्।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले खोलुखुम्बुमा ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजनाको निमार्ण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ र प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा रहेको छ।
प्रतिक्रिया 4