+
+

बस्नका लागि सबैभन्दा योग्य विश्वका ५ सहर, के-के छन् विशेषता ?

एजेन्सी एजेन्सी
२०८० साउन १४ गते १४:१०

कोरोना महामारीको अन्त्यपश्चात् विश्वभरका सहरहरुमा जीवनको गुणवत्ता पुनः एकपटक सुधार भएको छ ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वार्षिक ग्लोबल लिभेबिलिटी इन्डेक्सका अनुसार सहरहरुको औसत जीवनस्तर पछिल्लो १५ वर्षयताकै सबैभन्दा उच्चस्तरमा पुगेको छ ।

यो रिपोर्टमा स्थायित्व, स्वास्थ्य, संस्कृति तथा पर्यावरणसँगै शिक्षा र भौतिक संरचनाहरुको आधारमा विश्वका १७३ सहरहरुको मूल्यांकन गरी सूचकांकका आधारमा मापन गरिएको छ ।

रिपोर्टअनुसार युक्रेन युद्धबाट पैदा भएको विश्वव्यापी मुद्रास्फीतिको संकटको कारणले विश्वभरकै स्थीरतामा भने केही गिरावट देखिएको छ ।

तथापि अर्कोतर्फ कोरोना महामारीका बेला लगाइएका प्रतिबन्धहरु समाप्त भएपश्चात् विश्व समुदाय सामान्य जीवनतर्फ फर्किएको र समग्र रुपमा मानिसहरुको जीवन जिउने स्तर राम्रो हुँदै गएको पाइएको छ ।

उल्लेखित सूचकहरुको आधारमा विश्वका १७३ सहरहरूमध्ये यो वर्ष पनि अष्ट्रियाको भियना पहिलो नम्बरमा कायमै रहेको छ ।

भियनापछि शीर्ष पाँच स्थानसम्म रहेका अन्य सहरमा डेनमार्कको कोपनहेगन, अष्ट्रेलियाको मेलवर्न, अष्ट्रेलियाके सिड्नी र क्यानडाको भ्यानकुभर रहेका छन् । त्यस्तै छैटौंमा स्विट्जरल्याण्डको जुरिख, सातौंमा क्यानडाको काल्गरी, आठौंमा स्विट्जरल्याण्डको जेनेभा, नवौंमा क्यानडाको टोरन्टो र दशौं स्थानमा जापानको ओसाका रहेका छन् ।

आखिर यी पाँच सहरमा खास त्यस्तो के कुरा छ, जसले उनीहरुलाई विश्वकै बस्नलायक सहर बनाएको छ ? बीबीसीले यी शीर्ष १० मध्ये ५ वटा सहरका बासिन्दाहरुसँग कुराकानी गरेर सहरका विशेषताका बारेमा विस्तृतमा जान्ने प्रयास गरेको छ ।

भियना, अष्ट्रिया : अष्ट्रियाको राजधानी भियना सहर सन् २०२१ बाहेक पछिल्ला धेरै वर्षदेखि विश्वको सर्वाधिक बस्नलायक सहरको पहिलो नम्बरमा रहँदै आएको छ ।

सन् २०२१ मा चाहिं कोरोना महामारीका कारण त्यहाँका संग्राहलय तथा रेष्टुरेन्टहरू बन्द भएका कारण भियना यो सूचीमा दोस्रो स्थानमा झरेको थियो । भियनावासीहरुका अनुसार यो सहर स्थिरता, स्वास्थ्य व्यवस्था, शिक्षा तथा भौतिक संरचनाहरुका कारण सबैभन्दा उत्कृष्ट छ ।

म्यानुएला फिलिपो भियनामा सञ्चालित दुईवटा तारे रेष्टुरेन्टकी म्यानेजर हुन् । उनका अनुसार सहरको इतिहास, विश्वसनीय सार्वजनिक यातायात, क्याफे, थिएटर तथा अन्य मनोरञ्जनका ठाउँहरुसम्म सहज पहुँचलगायतले गर्दा भियना बस्नका लागि एउटा उत्कृष्ट सहरको रुपमा स्थापित भएको हो ।

उनी भन्छिन्, ‘कहिलेकाहीँ जब हामी काममा धेरै व्यस्त हुन्छौं र बाहिर जानका लागि समेत समय हुँदैन, त्यस्तो बेला सहरभित्रै हामीले मनोरञ्जनका सबै आवश्यताहरु पूरा गर्न सक्दछौं ।’

रिचर्ड बोस भियनास्थित होटल दास टिगारामा बिक्री प्रबन्धकको रुपमा कार्यरत छन् । उनका अनुसार सांस्कृतिक इतिहास र सांस्कृतिक गतिविधिहरुले सहरको जीवनको गुणवत्तामा वृद्धि हुन्छ ।

उनी भन्छन्- भियनामा शनब्रुन दरबार, हफबर्ग दरबारका साथै भियना सिटीहल जस्ता विभिन्न प्रभावशाली ऐतिहासिक भवनहरु छन् । यो सहर आफ्नो संगीत परम्पराहरुका लागि पनि प्रसिद्ध छ, किनकि यो मोजार्ट, बिथोवेन तथा स्ट्रस जस्ता विश्वचर्चित संगीतज्ञहरु यहीँ बस्दथे ।

उनका अनुसार सहरमा विभिन्न संग्राहलय, थिएटर तथा ओपेरा हाउसहरु भएका कारणले गर्दा सहरबासीहरुसँग धेरै विकल्प उपलब्ध छन् । मानिसहरुले भियनाको खानाको पनि आनन्द उठाउनुपर्ने सुझाव उनको छ ।

मेल्बर्न, अष्ट्रेलिया : अष्ट्रेलियाको मेलबर्न र सिड्नीले यो पटक बस्नलायक सहरको सूचीमा क्रमशः तेस्रो र चौंथो स्थान हासिल गरेका छन् ।

मेलबर्नले खासगरी संस्कृति तथा पर्यावरणको क्षेत्रमा राम्रो अंक हासिल गरेको छ र स्थानीय मानिसहरुमा यसप्रति गर्व छ ।

जेन मोरेल क्यारियर सोलुसन्स कम्पनीका सिइओ हुन् । उनका अनुसार मेलवर्न आफ्नो खाना, सांस्कृतिक गतिविधि, कार्यक्रमहरुका साथै अष्ट्रेलियाली फर्मुला वान तथा अष्ट्रेलियन ओपन टेनिस जस्ता अन्तराष्ट्रिय खेलका कारण पनि एक शीर्ष सहरमा पर्दछ ।

उनका अनुसार ट्रामका कारण सहरमा यात्रा गर्न पनि निकै सहज भएको छ ।

मेलवर्न पनि विश्वप्रसिद्ध समुद्री तटबाट नजिकैको दूरीमा पर्दछ । क्यालिफोर्नियाकी ब्लगर किमी कनरको दृष्टिमा सिड्नी सहर मेलबर्न भन्दा पनि उत्कृष्ट छ ।

उनी भन्छिन्, ‘सिड्नी सुन्दर छ किनकि त्यहाँ धेरै सुन्दर दृष्य, समुद्री तटका साथै ऐतिहासिक भवनहरु छन् । तर मेलबर्न भवनहरुको सहर होइन संस्कृतिको सहर हो र त्यहाँ घुम्न केही समय लाग्दछ ।’

उनका अनुसार मेलबर्नलाई बुझ्नका लागि एउटा क्याफेमा बस्नुपर्छ र आफ्नो जीवनको सबैभन्दा स्वादिष्ट कफी पिउनु पर्दछ । सहरका रेष्टुरेन्टमा विभिन्न खालका खानेकुराहरु पाइन्छन् जसका लागि भित्रभित्रसम्म लुकेका रेष्टुरेन्ट बारहरु खोज्नुपर्दछ । उनका अनुसार मेलबर्नका मानिसहरु भने सिड्नीको तुलनामा निकै असल छन् ।

जेन मोरेल पनि सहरले धेरै अंक पाउनुको एउटा कारण सहरबासीहरुको सकारात्मक व्यवहार भएको बताउँछन् । उनका अनुसार मेलबर्नबासीहरु निकै मिलनसार छन् ।

भ्यानकुभर, क्यानडा : यो पटकको विश्वका बस्नलायक शीर्ष १० सहरको सूचीमा क्यानडाका तीनवटा सहरहरु भ्यानकुभर, क्यालगरी र टोरन्टो परेका छन् ।

आफ्नो संस्कृति तथा पर्यावरणका कारण भ्यानकुभर शीर्ष ५ मा परेको छ र सहरबासीहरु सोही कारण भ्यानकुभरलाई मन पराउँछन् ।

भ्यानकुभरमा रहेका एक व्यवसायी टोनी हो भन्छन्, ‘भ्यानकुभर जंगल, समुद्र र आकाससम्म सजिलै पहुँच राख्ने सहर हो ।’

उनका अनुसार भ्यानकुभरको सडक तथा कनेक्टिभिटी यति उत्कृष्ट छ कि एकैदिनमा एउटा सुन्दर समुद्र तटबाट सहरको अग्लो पहाडसम्म जान सकिन्छ र यसका लागि तपाईं बस, साइकल वा डुंगा जेबाट पनि यात्रा गर्न सक्नुहुन्छ ।

उनी भन्छन्, ‘हामीले सहरमा प्राप्त हुने विभिन्न खालका खानेकुराहरुको पनि आनन्द लिन सक्छौं जो सहरको बहुसांस्कृतिक पहिचानको हिस्सा हो । यहाँ तपाइँले इथियोपियाई इन्जेरादेखि तिब्बती मोमोसम्मका सबैखाले परिकारहरु पाउन सक्नुहुन्छ ।’

उनका अनुसार सहरमा हरेक २० मिनेटको दूरीमा सुन्दर पार्कहरु छन् । सहरको आप्रवासन नीतिका कारण विश्वका विभिन्न देशका मानिसहरु त्यहाँ आउन आकर्षित हुने गरेका छन् ।

रकेट प्लान नामक मोबाइल प्लाटर्फमका सीईओ जो टल्जम्यान भन्छन्, ‘म क्रोएसियन हुँ । म एउटा यस्तो सहरको खोजीमा थिएँ जसले विकासलाई बढावा देओस् र मानिसहरुलाई हार्दिकतापूर्वक न्यानो स्वागत गरोस् ।’

उनका अनुसार व्यवसाय सुरु गर्नका लागि भ्यानकुभरमा सबैभन्दा राम्रो कुरा भनेकै यहाँका मानिस हुन्। त्यहाँ हरेक समयमा मानिसहरुबाट सहयोग प्राप्त हुने र व्यापारिक समुदाय पनि निकै सहयोगी रहेको उनी बताउँछन् ।

व्यवसायको अलावा भ्यानकुभरको छटापनि निकै सुन्दर छ । उनी भन्छन्,’जब मलाई कामबाट आरामको आवश्यकता पर्दछ त्यस्तो बेला सहरमै एकातर्फ समुद्र हुन्छ र सडकको अर्कोतर्फ पहाडको आनन्द लिन पाइन्छ ।’

ओसाका, जापान : विश्वका बस्नलायक सहरहरुको सूचीको दशौं नम्बरमा जापानको ओशाका सहर रहेको छ । यो शीर्ष १० मा परेको एकमात्र एसियाली सहर हो । यद्यपि ओशाकाले स्थिरता, स्वास्थ्य प्रणाली र शिक्षाको विधामा शतप्रतिशत अंक प्राप्त गरेको छ ।

विश्वमा महँगीले चरम रुप लिइरहेको बेला ओशाका भने सस्तो तथा किफायती सहरको रुपमा रहेको छ । सोही कारण स्थानीय बासिन्दाहरु खुसी छन् ।

क्यानडाको भ्यानकुभर घर भएकी शर्ली जेंग हाल जापानको ओशाकामा बस्दै आएकी छिन् । ओसाकामा भाडादर विश्वका अन्य ठूला सहरहरु तथा जापानकै अरु सहरमा भन्दा सस्तो रहेको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘मेरो अपार्टमेन्ट भाडादर पानी, इन्टरनेट तथा अन्य खर्च सहित मासिक ४ सय १० युरो अर्थात् ७०० क्यानेडाली डलर बराबर छ । यो सानो अपार्टमेन्ट भए पनि सफा छ । यदि भ्यानकुभरमा तपाईं यत्तिको अपार्टमेन्टमा बस्नुभयो भने यसको मासिक भाडा १२ सय क्यानेडियन डलरभन्दा कम पर्दैन ।’

त्यस्तै, ओशाकामा रहेका बेलायती नागरिक जेम्स हिल्सका अनुसार बेलायतमा बाहिर खाना खानु निकै महँगो पर्दछ । तर ओशाकामा भने रेष्टुरेन्टमा निकै सस्तोमा खाना खान पाइन्छ र हरेक दिन बाहिरै खान सकिन्छ ।

ओशाका अन्य सहरको तुलनामा निकै सुरक्षित पनि मानिन्छ । आफू रातको समयमा घुमफिर गर्दा पनि सुरक्षित महसुस गर्ने शर्ली बताउँछिन् । उनले अहिलेसम्म हिँडडुल गर्दा आफ्ना सामान चोरी हुने चिन्ता गर्नुपरेको छैन ।

ओशाकाको सार्वजनिक परिवहन पनि निकै विश्वसनीय तथा फाइदाजनक छ । सहरमा यत्रतत्र रेलको लाइन छ । सहरबाहिर क्योटो, नारा तथा कोबेजस्ता सहरसम्म सजिलैसँग जान सकिन्छ ।

अकल्याण्ड, न्युजिल्याण्ड : अकल्याण्ड पनि ओसाका जस्तै दशौं नम्बरमा रहेको छ । अघिल्लो वर्ष भने अकल्याण्ड २५ औं स्थानमा थियो । सन् २०२२ को सेप्टेम्बरबाट सहरमा कोरोनासम्बन्धी सबै प्रतिबन्ध हटाइएको थियो ।

अकल्याण्डले शिक्षा, संस्कृति तथा पर्यावरणमा उच्च मानक हासिल गरेको छ ।

मेगन लरेन्स एक ब्लगर हुन् । उनका अनुसार अकल्याण्डबासीका लागि हरेक २० मिनेटको दूरीमा एक सुन्दर समुद्र तट छ । उनी भन्छिन्, ‘सहरको चारैतर्फ निकै हरियाली छ र तपाईं सहरबाट टाढा जान सक्नुहुन्छ ।’

अकल्याण्ड विश्वस्तरीय कार्यक्रहरुको आयोजना गर्ने न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर हो । अकल्याण्डमा २०२३ को महिला विश्वकप फुटबल पनि भैरहेको छ ।

एक ट्राभल कम्पनीमा काम गर्ने ग्रेग म्यारियट भन्छन्, ‘हामीसँग उत्कृष्ट सांगितिक कार्यक्रम, प्रदर्शनी तथा खेल कार्यक्रम छन् । आगामी हप्ता अकल्याण्ड संग्राहलयमा मिश्रको फिरोनका बारेमा एक प्रदर्शनी छ ।’

न्युजिल्याण्डमा विश्वका विभिन्न देशका मानिसहरु आएर बसोबास गरेका छन् । त्यसैले अकल्याण्डमा पनि विश्वभरका खानेकुरा पाइन्छन् ।

यी सबै कुराका अतिरिक्त सहरका मानिसहरुको मित्रवत व्यवहार सबैभन्दा राम्रो पक्ष रहेको लरेन्स बताउँछिन् ।

उनी भन्छिन्, ‘अधिकांश मानिसहरु सहयोगका लागि सदैव तयार हुन्छन् । यहाँका मानिसहरु मुस्कुराउँदै अभिवादन गरेको मलाई निकै राम्रो लाग्छ ।’

बीबीसी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?