
रंगहरु अब रंगीन थालेका छन्
कतै बालिकाहरुको हातमा
कतै युवतीहरुको हातमा
त कतै वृद्ध आमाहरुको हातमा
जसरी इन्द्रेणीका सप्तरंगी रंगहरु रंगिन्छन्
त्यसरी नै अब रंगहरु रंगिनुपर्छ
आमाको साथमा छोरी रंगिनुपर्छ
छोरीको हातमा आमा रंगिनुपर्छ
श्रीमानको मातमा श्रीमती रंगिनुपर्छ
बलियो बन्ने हो भने महिला घातमा नि रंगिनुपर्छ
साउनमा मात्र होइन अब
हरेक साँझमा महिला रंगिनुपर्छ
जसरी रंगिनुपर्छ नौ लाख ताराहरु
तिहारमा सयपत्री फूलहरु
जंगलमा लालीगुँरासहरु
हो त्यसरी नै रंगिनुपर्छ महिलाहरु
हातमा बसेको मेहेन्दीको छाप जस्तै गाढा
संसारको जुनसुकै दूरीमा भए पनि टाढा
सौन्दर्यमा पर्याय भएर
निश्चल प्रेम र कोमलताको प्रतीक भएर
तात्तातो समस्याको समाधान गराएर
विश्वास, आँट, भरोसाको कीर्तिमान बनाएर
अब महिलाहरु रंगिनुपर्छ
जसरी रंगिनुपर्छ लालीमा
जसरी देखा पर्छिन् आभा
जसरी चम्किन्छिन् किरण
ठ्याक्कै त्यसैगरी
तिमी पनि एकमा सयको दम लिएर
पूरा जोश र जाँगर दिएर
आधा धरती आधा आकाश ओगटेर
यो सारा दुनियाँलाई सप्तरंगी इन्द्रेणी बनेर
अब तिमी चम्किलो हुँदै रंगिनुपर्छ ।।
प्रतिक्रिया 4