+
+

रौतहटमा बढ्दैछ राजनीतिक तनाव

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० साउन १४ गते १८:२५

१४ साउन, जनकपुरधाम । गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै रौतहटमा निरन्तर प्रदर्शन गरिरहेको छ । गौर हत्याकाण्ड पीडित संघर्ष समितिको नाममा भएको प्रदर्शनको नेतृत्व आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गरिरहेका छन् ।

आइतबार संघर्ष समितिले गौरमा मोटरसाइकल र्‍यालीसहितको प्रदर्शन गरेको छ । सोमबारदेखि रौतहट बन्दको घोषणा गरिएको छ । ‘हामीले घटनापछि दिएको जाहेरी अनुसार जबसम्म दोषीहरूलाई पक्राउ गरी कारबाही हुँदैन, तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ’, संघर्ष समितिकी संयोजक रूपसागर देवीले भनिन् ।

आइतबार रौतहटमा निकालिएको मोटरसाइकल र्‍याली ।

२०६३ साल चैत ७ गते गौरको राइस मिलमा तत्कालिन माओवादी केन्द्र र मधेशी जनाधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । घटनामा दर्जनौं घाइते भएका थिए ।

जसमा पीडितहरूले उपेन्द्र यादवसहित २५३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गराएका थिए । हालसम्म प्रशासनले सो घटनामा कारबाही अघि बढाएको छैन ।

त्यतिबेला ज्यान गुमाउनेका आफन्तहरुले संघर्ष समितिको नाममा आन्दोलन गरिरहेका छन् । शुक्रबार पालिका–पालिकामा घटनाका विषयमा जानकारी गराइएको थियो भने शनिबारदेखि रौतहटको चन्द्रनिगाहपुरमा शहीद तथा पीडित परिवार अनशन बसेका छन् ।

तर आन्दोलनमा प्रभु साह एकातिर र जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत सत्तारुढ दलहरु अर्कोतिर देखिएका छन् ।

यसअघि १ साउनमा पनि संघर्ष समितिले उपेन्द्र यादवलाई गौर हत्याकाण्डको मुख्य दोषी भन्दै कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरुले गौर हत्याकाण्डको मुख्य दोषी उपेन्द्र यादवलाई कारबाही गर, न्याय पार्न पाइँदैन, दर्ता भएको जाहेरीमाथि कारबाही अघि बढाऊ, जंगलीराज चाहिँदैनलगायतका नारा लगाएका थिए ।

त्यसको ९ दिनपछि कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले जुलुस निकालेर प्रभु साहलाई कारबाहीको माग गरे ।

सर्वदलीय/सर्वपक्षीय संघर्ष समितिका नाममा भएको प्रदर्शनमा प्रभु साहलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको छ ।

माओवादी शान्ति प्रक्रियामा आएयता काशीनाथ तिवारी, सुनिल यादव, महादेव साह, शम्भु पटेल सहित दर्जनभन्दा बढी व्यक्तिको हत्यामा प्रभु साहको संलग्नता रहेको ती दलहरुले दाबी गरेका छन् ।

अहिले गौर हत्याकाण्ड पीडित संघर्ष समितिको आन्दोलनको पनि जनता समाजवादी पार्टीले प्रतिवाद गर्ने चेतावनी दिएको छ । जिल्ला अध्यक्ष श्यामबिहारी यादवले भने, ‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार हो । तर जोरजबर्जस्ती बजार बन्द र जनतालाई दुःख दिने काम भयो भने हामी प्रतिकार गर्छौं ।’ प्रतिकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपासहित चार दलको साथ रहन्छ ।

संघर्ष समिति संयोजक रूपसागर देवीले न्यायको लागि शान्तिपूर्ण रूपमा गरिरहेको आन्दोलनलाई रोक्ने अधिकार कसैसँग नभएको जिकिर गरिन् । ‘हामी न्यायको लागि आन्दोलन गर्दै आएका छौं । अरूले पनि शान्तिपूर्ण रूपमा आन्दोलन गर्न पाउँछन् । तर एकअर्काले हस्तक्षेप गर्न पाउँदैनन् । न हामीलाई रोक्न सक्छन्, न हामी उनीहरूलाई रोक्न सक्छौं’, उनले भनिन् ।

संघर्ष समितिले घटनाका मुख्य अभियुक्त तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादव रहेकाले उनी लगायत संलग्नहरूमाथि तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेको छ । ‘गौर हत्याकाण्डका मुख्य दोषी उपेन्द्र यादव हुन् । उनी लगायत हाम्रो आँखा अगाडि खुलेआम घुमिरहेका दोषीहरूमाथि अविलम्ब कारबाही हुनुपर्छ’, संघर्ष समितिकी संयोजक रूपसागर देवीले भनिन् ।

संघर्ष समितिप्रति जसपा असन्तुष्ट हुनुको कारण पनि यही हो । ‘त्यो दिन कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव सहभागी हुनु भएकै थिएन । तर उहाँलाई प्रमुख दोषी भनेर फसाउन खोजेका छन्’, जसपाका रौतहट अध्यक्ष श्यामबिहारी भन्छन् ।

तत्कालीन माओवादी नेता प्रभु साहका कारणले गौर घटना भएको दाबी गर्दै उनले साहमाथि कारबाही हुनुपर्ने बताए । यसरी आम जनता पार्टी र जसपा एकअर्का विरुद्ध सडकमा आएपछि रौतहटमा झडपको सम्भावना बढेको छ । सम्भावित द्वन्द्व सिर्जना हुन नदिन स्थानीय प्रशासनले दुवै पक्षसँग वार्ता थालेको छ ।

‘आन्दोलनरत पक्ष र विरोध गर्ने पक्षसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छौं । लोकतान्त्रिक हिसाबले सबैले आ–आफ्नो माग राख्न सक्छन्’ रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भने, ‘एक पक्षले बन्द गर्ने र अर्को पक्षले उल्लंघन गर्ने भएपछि झन् त्यहाँ झडप हुने सम्भावना हुन्छ भनेर हामी सचेत छौं ।’

उनले द्वन्द्व चर्कंदै गए प्रशासनले हेरेर नबस्ने बताए । ‘गौर हत्याकाण्ड सम्बन्धी रिट सर्वोच्च अदालतमा विचाराधीन छ । त्यो रिटमा आउने आदेश पर्खिदिन आन्दोलनरत पक्षसँग मैले आग्रह गरेको छु’, प्रजिअ मिश्रले भने ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?