
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्डमा क्यूआर भुक्तानी को रियल–टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन् ।
क्यूआर मार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भएपछि कारोबार पूर्ण भएको जानकारीको लागि कुर्न पर्ने बाध्यता थियो । टेलिकम नेटवर्कमा समस्या आउँदा वा एसएमएस प्राप्तिमा ढिलाइ हुँदा तथा कहिलेकाहीँ एसएमएस प्राप्त नहुँदा मर्चेन्टहरूलाई कारोबार पूरा भएको यकिन गर्न कठिन भइरहेको थियो ।
साथै ग्राहकको चाप धेरै भएको मर्चेन्ट लोकेसनमा एसएमएस मार्फत कारोबारको यकिन गर्दा समय खेर जाने समस्या थियो । त्यसै गरी एसएमएस प्राप्त हुन नसकेको अवस्थामा कारोबार यकिन गर्न नसक्दा ग्राहक तथा मर्चेन्ट दुवैलाई अप्ठ्यारो भइरहेको थियो ।
एससीटीले मर्चेन्टहरुलाई मोबाइल तथा वेब लगइन मार्फत पनि कारोबार हेर्न, पैसा जम्मा तथा फिर्ता गर्न मिल्ने सुविधा सुरुवाती दिनहरू देखि नै दिँदै आइरहेको छ ।
सोही कारोबारको अलर्ट प्राप्तिकै लागि मोबाइल तथा वेब लगइन चलाई राख्न समेत कारोबार धेरै हुने ठाउँहरूमा झन्झटिलो तथा समय खर्चिनु पर्ने परिस्थिति थियो । अब एलईडी स्क्रिनमा कारोबार भए लगत्तै कारोबारको रकम देखिने हुँदा कारोबार पूर्ण भए नभएको सहजै यकिन गर्न सकिने छ । एलईडी स्क्रिन जडान गर्न सजिलो र सरल छ ।
यसलाई एस सिटिले प्रदान गर्ने मोबाइल एप्लिकेसन द्वारा सजिलै कन्फिगर गर्न सकिन्छ । स्मार्ट क्युआरमा आबद्ध बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरूले स्मार्ट क्यूआरमा दर्ता भएका कुनै पनि मर्चेन्टहरूले यो सुविधा लिन सक्नेछन् ।
मोबाइल एपद्वारा नै नेटवर्क तथा स्क्रिनको ब्राइटनेस पनि मिलाउन सकिन्छ । स्क्रिनमै कारोबारको रकम देख्न सकिने भएकाले भिडभाड तथा हल्ला खल्ला हुने ठाउँमा यो प्रविधि निकै नै उपयुक्त तथा प्रभावकारी छ ।
पाथीभरा सेन्सर सोलुसनको सहकार्यमा स्मार्ट च्वाइस टेक्नोलोजीले यो सेवा सुरु गरेको हो ।
प्रतिक्रिया 4