+
+

राप्रपा मनाउन नसकेपछि प्रचण्डले भने : सभामुखले राजीनामा गर्नुपर्ने भयो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते २१:४४

१४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई मनाएर कोशी प्रदेशमा सरकार बनाउने सत्तारुढ गठबन्धनको प्रयास असफल भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता सहकार्यको प्रस्ताव अस्वीकार गरेपछि सत्ता गठबन्धनको पहिलो विकल्प नै विफल भएको हो ।

सर्वोच्च अदालतको आदेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले १६ गतेभित्र दाबी पेश गर्न आह्वान गरेलगतै राप्रपा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफै लागेका छन् ।

तर देउवा र प्रचण्डलाई लिङदेनले अहिले सरकार बनाउन साथ दिन नसकिने जवाफ फर्काए । उच्च स्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्डले संघ र सबै प्रदेश सरकारमा सहकार्यको प्रस्ताव लिङदेनसँग गरेका थिए । तर लिङ्देनले सत्ता अहिले प्राथमिकतामा नरहेको जवाफ फर्काए । १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन साथ दिएका लिङदेनले अहिलेकै अवस्थामा सरकारमा नआउने अडान राखेको ती स्रोत बताउँछन् ।

लिङदेनको सकारात्मक जवाफ नपाएका प्रधानमन्त्री प्रचण्डले आइतबार साँझ कोशीका नेताहरुसँग कुराकानी गरेका छन् । ‘राप्रपाले सत्ता बनाउन साथ नदिने भयो, अर्कै विकल्पमा जानुपर्ने भयो’, प्रचण्डको बिफ्रिङ थियो ।

त्यो छलफलमा सहभागी एक नेताका अनुसार, सर्वोच्चले संयुक्त सरकार बनाउन दिएको समयभित्र राप्रपा मनाउन नसकिने निष्कर्ष समेत प्रचण्डले सुनाए ।

कोशीमा सरकार बनाउन राप्रपाको साथ लिने सत्तारुढ नेतृत्वको पहिलो विकल्पमा थियो । यदि ६ सिटको राप्रपाले साथ दिँदा कोशी प्रदेशसभामा कांग्रेस नेतृत्वको सत्तारुढ दलहरुसँग सभामुख बाहेक पनि ५२ प्रदेशसभा सदस्य हुन्थ्यो । सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर बुझाएर मुख्यमन्त्री नियुक्त कांग्रेस नेता उद्धव थापालाई सर्वोच्चले पदमुक्त गरेकाले राप्रपाको साथ संयुक्त सरकारका निम्ति अनिवार्य जस्तै छ ।

प्रचण्ड–देउवाले पनि राप्रपासँग कोशीमा आलोपालो मुख्यमन्त्रीसहित सत्ता सहकार्यलाई प्राथमिकतामा राखेका थिए । ‘समय सकिन लाग्यो, राप्रपा मानेन । अब अर्को विकल्पतिर जानुपर्छ होला’, कोशीका सत्तारुढ एक नेता भन्छन् । उनका अनुसार, आइतबारको छलफलमा प्रधानमन्त्री प्रचण्डले पनि अर्को विकल्पमा जानुपर्ने अवस्था आएको बताएका थिए ।

त्यो भनेको सभामुखबाट गौतमलाई राजीनामा गराउने हो । गौतमले राजीनामा दिए यो गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य हुन्छ । कांग्रेससँग २९, माओवादीसँग गौतमले सभामुखबाट राजीनामा दिदा १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादी पार्टीसँग १ सदस्य छन् । मुख्यमन्त्री दाबी गर्न यो आवश्यक संख्या हो । ‘तत्काललाई नेतृत्व जोगाउने विकल्प यही नै हो’, ती नेता भन्छन् ।

तर आइतबार प्रचण्ड समेतको छलफलमा गौतमले सभामुखबाट राजीनामा दिन आनाकानी गरेका छन् । मुख्यमन्त्रीको टुंगो नलागी पदबाट राजीनामा नगर्न कोशीकै माओवादी नेताहरुले गौतमलाई साथ दिएका छन् । स्रोतका अनुसार, माओवादी केन्द्र आफैले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले सार्वजनिक रुपमै मुख्यमन्त्रीमा दाबी रहने बताइसकेका छन् । यसअघि एमाले नेता हिक्मत कार्कीको सरकारबाट बाहिरिँदा पनि आङ्बोले मुख्यमन्त्री लिने सहमति गरेका थिए ।

तर बालुवाटारमा शीर्ष नेताहरुसहितको बैठकले आङ्बो नभएर कांग्रेसभित्र कृष्णप्रसाद सिटौला निकट नेता थापालाई मुख्यमन्त्री बनाउने निर्णय गर्यो । तर थापा नेतृत्वको सरकारलाई सर्वोच्चले असंवैधानिक ठहर गरेपछि अर्को सरकार बनाउने समय अब तीन दिन मात्रै बाँकी छ । यदि यो समयभित्र संविधानको धारा १६८ (२) बमोजिम संयुक्त सरकार नबने अर्को उपधारा बमोजिम सवैभन्दा ठूलो दलको हैसियतमा फेरि एमालेका कार्की मुख्यमन्त्री नियुक्त हुनेछन् । अहिले त्यही जोखिम टार्न गठबन्धनका शीर्ष नेताहरु लागिपरेका छन् ।

एमाले नेतृत्वमा सरकार जान नदिन पनि सभामुखले राजीनामा गर्नुपर्ने विकल्प खुला गर्नुपर्ने कोशीका नेताहरुसँग प्रधानमन्त्री प्रचण्डले समेत बिफ्रिङ गरे । तर बालुवाटारमा भएको छलफलमा सभामुखबाट राजीनामा दिनेबारे प्रष्ट कुरा नराखी गौतम हिँडेको एक नेता बताउँछन् । छलफलमा सहभागी ती नेता भन्छन्, ‘राजीनामा गर्ने कुरामा आनाकानी गर्दै सभामुख हिड्नुभयो । तर प्रधानमन्त्रीले मनाउछु भन्नुभएको छ ।’

गौतमले सभामुखबाट राजीनामा दिएर तत्काललाई सरकार गठन गरेपछि राप्रपालाई मनाउनेदेखि सरकारलाई टिकाउनेसम्मका अरु विकल्पमा काम गर्न सकिने प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?