१५ साउन, काठमाडौं । पहिलोपल्ट एसियाली खेलकुद खेल्न पाएको नेपाली महिला भलिबल टिम तयारीमा व्यस्त छ । एसियाली खेलकुद नेपाली महिला भलिबल खेलाडीको लागि सबैभन्दा ठूलो अवसर हो ।
त्यसैले खेलाडीहरु यो अवसर खेर नफाली प्रतियोगितामा राम्रो गर्ने लक्ष्यसहित अभ्यासमा छन् । ‘हाम्रो लागि यो चुनौती त हो नै चुनौतीभन्दा पनि हामीले यसलाई अवसरका रुपमा लिएका छौं’, कप्तान अरुणा शाही भन्छिन्, ‘हाम्रो लागि यो इतिहास हो । धेरै बलिया टिमसँग खेल्दा हामीले सिक्ने मौका पाउनेछौं ।’
एसियाली खेलकुदमा एसियाका बलिया टिम पनि सहभागी हुनेछन् । बलिया टिमसँग खेल्दा राम्रो एक्सपोजर पाउने र यसले अरु अवसरको ढोका खुल्ने संभावनालाई खेलाडीले बुझेका छन् ।
‘हाम्रो लागि यो एकदमै खास प्रतियोगिता हो,’ कप्तान अरुणाले भनिन्, ‘हामीले यस प्रतियोगितामा राम्रो गरेको खण्डमा विदेशी लिग खेल्न पाउने अवसर मिल्न सक्छ ।’
दुई स्पाइकर प्रतिभा माली र उषा भण्डारीले विदेशी लिग खेलिरहेका छन् । एसियन गेम्सपछि अन्य खेलाडीका लागि पनि विदेशी लिगको ढोका खुल्न सक्ने छ । ‘अरुले पनि नेपाललाई चिन्ने मौका हुनेछ । अन्य खेलाडीलाई पनि विदेशी लिगको अफर आउन सक्छ । यो निकै फरक अनुभव हुनेछ’, कप्तान अरुणाले भनिन् ।

नेपाली टिमले घरेलु मैदानमा काभा वुमन्स च्यालेन्ज कप खेल्यो । त्यसबाट १/२ हप्तामात्र आराम पाएका खेलाडीले पुनः सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता खेले । असार ३० गते प्रतियोगिता सकेका खेलाडीको २ साउनदेखि एसियनका लागि प्रशिक्षण सुरु भयो ।
लगातारको प्रतियोगिता र त्यसलगत्तै सुरु भएको बन्द प्रशिक्षणमा रहेका खेलाडीमा फिटनेसको कुनै समस्या छैन । ‘हामी लगातार खेलबाट आएकाले लो इन्टेन्सिटीको ट्रेनिङबाट सुरु गरेका छौं । अब बढाउँदै लैजाने हो’, अरुणाले भनिन् ।
नेपालको १२ सदस्यीय टिममा काभा वुमन्स च्यालेन्ज कप खेलेका ४ खेलाडी छैनन् । स्पाइकमा प्रतिभा माली र सेटरमा त्रिभुवन आर्मी क्लबकी जानकी भण्डारीले मौका पाएका छन् । ‘हामी अहिले १२ खेलाडीसँग तयारी गरिरहेका छौं । प्रायः अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा १४ जना खेलाडी हुन्छन् तर एसियन गेम्समा १२ जनाको कोटा रहेछ’, प्रशिक्षक जान डी ब्रान्टले भने ।
भारतसँग अभ्यास खेल
नेपालले एसियन गेम्स खेल्न चीन जानुअघि मध्य अगस्टमा काठमाडौंमा नै भारतसँग अभ्यास खेल खेल्ने तयारी छ । ‘भारत नेपालको राम्रो प्रतिस्पर्धी हो । उनीहरुविरुद्ध हामी सेट जित्ने प्रयास गर्नेछौं,’ ब्रान्टले भने, ‘हामीले माल्दिभ्स, बंगलादेशसँग अभ्यास खेलेर एसियन गेम्सका लागि तयारी हुँदैन । हाम्रो स्तरको वा हामीभन्दा बलियो टिमसँग अभ्यास खेल्नुपर्छ ।’
भारतीय खेलाडी नेपालका खेलाडीभन्दा शारीरिक रुपमा बलियो भएका कारण उनीहरुसँगको खेलले एसियाली खेलकुदमा बलिया प्रतिस्पर्धीको सामना गर्न सहयोग मिल्ने उनले बताए ।

नेपालले भारतसँग जित्न सकेको अवस्थामा नेपाली भलिबल टिमले थप उचाइ लिँदै जाने प्रशिक्षक जान डी ब्रान्टले बुझेका छन् ।
काभा वुमन्स च्यालेन्ज कपमा भारतको खेल हेरेपछि उनले अभ्यास खेलका लागि पनि छिमेकी राष्ट्र भारतलाई चुनेका हुन् । ‘हामी भारतसँग राम्रो खेल्न सक्छौं । फिजिकल टिममा हामीले यत्तिको खेल्दा हाम्रो भविष्यका लागि यो निकै राम्रो पक्ष हो’, उनले भने ।
दक्षिण कोरिया र भियतनाम प्रतिद्वन्द्वी
एसियाली खेलकुदको समूह ‘सी’ मा नेपालले दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ । यो नेपालका लागि कम चुनौतीपूर्ण हुँदैन ।
दक्षिण कोरियासँग नेपालको स्तर नपुग्ला तर नेपाली खेलाडीको लागि यो एउटा उत्कृष्ट एक्सपोजर हो ।
‘एसियन गेम्स सबै खेलाडीका लागि राम्रो अनुभव हुनेछ । नेपाली खेलाडीका लागि यो स्तर निकै नै माथिल्लो तह हो जति उनीहरुले खेल्न सक्छन्,’ प्रशिक्षक ब्रान्टले भने, ‘वर्ल्ड च्याम्पियनसिप, ओलम्पिक गेम्स निकै टाढाको कुरा हो । त्यसैले पनि उनीहरुका लागि यो निकै महत्वपूर्ण हुनेछ ।’
२ महिनाको समयलाई ३ भागमा विभाजन गरी प्रशिक्षण गरिरहेको प्रमुख प्रशिक्षक ब्रान्टले बताए । अगष्ट १० (साउन २५) सम्म प्राविधिक प्रशिक्षण र व्यक्तिगत प्रशिक्षण, अगष्ट १० देखि सेप्टेम्बर १० (साउन २५ देखि भदौ २४) सम्म टिम वर्क र प्राविधिक पक्षको प्रशिक्षण र अन्त्यमा सबै खेलाडीलाई फ्रेस बनाउँदै मानसिक रुपमा तयार बनाउने उनको योजना छ ।
नेपाली टिम
सेटर : अरुणा शाही र जानकी भण्डारी मिडल
ब्लकर : सफिया पुन, संगम महतो र कविता भट्ट
लिबेरो : सलिना श्रेष्ठ
स्पाइकर : सरस्वती चौधरी, प्रतिभा माली, निरुता ठगुन्ना, उषा भण्डारी, पुनम चन्द र कामना विष्ट
समूह विभाजन
समूह ए : चीन, भारत, उत्तर कोरिया
समूह बी : थाइल्याण्ड, चाइनिज ताइपेइ, मंगोलिया
समूह सी : दक्षिण कोरिया, भियतनाम, नेपाल
समूह डी : जापान, कजाकस्तान, अफगानिस्तान, हङकङ र चीन ।
तस्वीर तथा भिडियो : विकास श्रेष्ठ /अनलाइनखबर
प्रतिक्रिया 4