
संसदको सबैभन्दा ठूलो, पुरानो र आफूलाई लोकतान्त्रिक दलका रूपमा दाबी गर्ने कांग्रेसको बैठक दिशाहीन भएर सम्पन्न भएको छ । देश जटिल संकटबाट घेरिएको चुनौतीपूर्ण समयमा सम्पन्न बैठकले समस्या समाधानमा कुनै दिशानिर्देश गर्न सकेन ।
स्थानीय र संघीय तथा प्रदेश निर्वाचनमा टिकट वितरण गर्दा वा गठबन्धन गर्दा, निर्वाचनको समीक्षा गर्न, निर्वाचन अगाडिको गठबन्धन टुटेर एमाले सहितको गठबन्धनबाट प्रचण्ड नेतृत्वमा सरकार बन्दा वा अन्य महत्वपूर्ण निर्णय लिंदा कांग्रेस केन्द्रीय कमिटीको बैठक बसेन । अर्थतन्त्रमा गम्भीर समस्या देखिंदा, अर्थमन्त्रीले करका दर आफूखुसी बदल्दा र सिसी टिभी फुटेज डिलिट गर्दा, भ्रष्टाचारको ग्राफ बढ्दा वा अन्य गम्भीर राजनीतिक र संवैधानिक सवालहरू उठ्दा पनि कांग्रेस बैठक बसेन । यति मात्र हैन विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने बैठक एक वर्ष भन्दा बढी समयमा पनि बसेन । यसले कांग्रेस नेतृत्वमाथि गम्भीर प्रश्न उठ्यो ।
यति सबै हुँदा पनि आफूलाई लोकतान्त्रिक दल भन्न कांग्रेस नेताहरूलाई लाज भने लागेन । चौतर्फी दबाब हुँदा पनि नबसेको बैठक अहिले एकाएक बस्यो र सभापति शेरबहादुर देउवा र उनको गुटलाई प्रफुल्ल बनाएर सम्पन्न भयो । तर, आम नागरिकको आँखामा यो बैठक किन बस्यो र यसले राष्ट्रिय राजनीतिमा प्रभाव छोड्ने के निर्णय गर्यो भन्ने विश्लेषण गर्दा खास विषय भेटिंदैन ।
यो बैठकले आजको कांग्रेसको सैद्धान्तिक, वैचारिक अवस्था टाट पल्टेको देखिन्छ, जनताप्रतिको जवाफदेहिता पनि नरहेको देखिन्छ । राष्ट्रका जल्दाबल्दा सवालमा बोल्न आवश्यक नठानेको कांग्रेसको यो बैठक मूलतः तीन विषयमा केन्द्रित र सीमित रह्यो- देउवाको प्रशंसा, खाँणको बचाउ र महामन्त्रीको आलोचना ।
देउवाको प्रशंसा
पार्टीलाई बलियो बनाउनका लागि नेतृत्व निर्माण महत्वपूर्ण हुन्छ । नेतृत्व जस्तो हुन्छ, पार्टी संगठन पनि त्यही अनुसार गतिशील र प्रभावकारी हुने हो । यस अर्थमा नेतृत्वको विकास र संरक्षण जति आवश्यक हुन्छ, सँगै खबरदारी र आलोचना पनि आवश्यक हुन्छ । यसलाई सापेक्षतामा हेर्नुपर्नेमा कांग्रेसमा भने नितान्त फरक दृश्य देखियो ।
कांग्रेस बैठकमा अधिकांश केन्द्रीय सदस्यले आफ्नो आलोचनात्मक चेतको प्रयोग गर्न भन्दा पनि नेतृत्वको गुणगान र प्रशंसा गर्दै आफ्नो राजनीतिक दुनो सोझ्याउने काम मात्र गरे । बाहिरबाट हेर्दा देउवालाई प्रशंसा गर्नुपर्ने विषय पनि छन् । तर त्योभन्दा बढी आलोचना गर्नुपर्ने र उनले सुधार गर्नुपर्ने विषय छन् । तर बैठकमा यी विषय उठेनन् ।
आफू अनुकूल सदस्यता वितरण गर्ने, सोही अनुसार महाधिवेशन प्रतिनिधि चयन गर्ने र पार्टी सत्ता कब्जा गर्ने । अनि नेतृत्वमा पुगेपछि निर्वाचनमा आफू अनुकूल मानिसलाई टिकट दिने, जिताउन लाग्ने र उनीहरूको बलमा संसदीय दलको नेता बन्दै राज्यसत्तामा पुग्ने खेलमा देउवा जति माहिर खेलाडी नेपालमा को होला र ? नभए आम रूपमा असफल नेताको परिचय बनाएका देउवा सधैं नेतृत्वमा टिकिरहन कसरी सम्भव हुनेथियो र ? वास्तवमा नेपालको राजनीति र पद्धति पनि यस्तै प्रकृतिको छ ।
पाँच पटक राज्य सत्ताको नेतृत्व गर्दा र दुईपटक पार्टी सत्ताको नेतृत्व गर्दा देउवाले सम्झनलायक एउटा पनि काम गर्न सकेनन् । राजनीतिक जीवनको उत्तरार्द्धमा राज्य सत्ता र पार्टी सत्तामा उनको बिम्ब असफल नेताका रूपमा चर्चा परिचर्चा भइरहेको छ । देशमा पजेरो काण्ड, सांसद खरिद-बिक्रीको अभ्यास सुरु गरेको, प्रजातन्त्रलाई दरबारमा बुझाएर संसद विघटन गरेको, कांग्रेस पार्टी फुटाएको, भ्रष्टाचारीलाई संरक्षण गरेको, पार्टीलाई नीति, विधि भन्दा पनि एकलौटी निरंकुश रूपमा चलाएको जस्ता आरोप देउवामाथि लाग्ने गरेका छन् ।
सार्वजनिक कार्यक्रममा आक्रोशित हुँदै प्रस्तुत हुने शैलीका कारण देउवा मात्र नभएर कांग्रेस समेतलाई असर परिरहेको छ । उनले राजनीतिबाट संन्यास लिएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग पार्टीमा चलिरहँदा फेरि एकपटक देउवाले आफू पार्टीमा बलियो रहेको सन्देश दिएका छन् । उनले नेतृत्वमा आँखा नलगाउन पार्टीभित्रका विपक्षीलाई सन्देश दिने गरी बैठक सम्पन्न गरेका छन् ।
विधान अनुसार बैठक नराखेको, विभाग र अन्य निकाय गठन नगरेको, भ्रातृ संगठनलाई प्रभावहीन बनाएको आरोप देउवालाई चर्को रूपमा लागेको थियो । पछिल्लो पटक नक्कली भुटानी शरणार्थी प्रकरणमा श्रीमती आरजु देउवा राणाको नाम जोडिएको र आफ्ना विश्वासिला नेता बालकृष्ण खाँण हिरासतमा रहेको सन्दर्भमा पार्टीको बैठक राखी यो विषयमा छलफल गर्न माग हुँदै आएको थियो । यस प्रकरणलाई कमजोर पारी आफ्ना मान्छे जोगाउन लागेको भन्दै देउवाले अब पार्टी चलाउन नसक्ने निष्कर्ष सहित उनी इतरका नेताहरू सार्वजनिक बहसमा उत्रिएका थिए ।
यस्तो परिवेशमा बैठक राख्दा चर्को आलोचना हुने ठानी निरन्तर बैठक छल्दै आएका देउवाले पछिल्लो समयमा एकाएक किन र कसरी बैठक राखे भन्ने जिज्ञासा आमरूपमा थियो । बैठकको आयोजनसँगै देउवा आफ्नो आलोचनाको ठाउँमा प्रशंसा हुने नयाँ सूत्र लिएर कांग्रेस बैठकमा झुल्के ।
फेसबुक मार्फत बैठक लाइभ गराएका देउवाले एकाएक कांग्रेसमा मात्र हैन, अन्य नागरिकबाट समेत प्रशंसा पाउन सफल भए भने पार्टीलाई पारदर्शी बनाउने सम्बन्धमा नयाँ बहस पनि सृजना गरे । बैठक समापनमा चर्को आलोचना हुन्छ भन्ठानेको त खास आलोचना भएन भनेर प्रफुल्ल हुँदै बैठक समापन गरे ।
नेपाली कांग्रेसमा के त्यस्तो चिज थियो र कांग्रेसले बैठक लाइभ गराएर सबैलाई देखायो ? कुनै नयाँ सिकाइ र सफलताको कथा थियो ? कुनै राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वको विषयमा बहस थियो ? वा कांग्रेस नेताहरूमा कुनै विलक्षण वाक् कला थियो र आम जनतालाई देखाउनु थियो ? वा लोकपि्रयतावादी राजनीति हावी हुँदा देशमा निर्माण भएको एक खालको निराशा र आक्रोशको वातावरणलाई शान्त पार्ने विषयवस्तु ? वा नेपाली जनतालाई उनीहरूको भविष्यप्रति आशा र उत्साह भरी विश्वास दिलाउने खुराक ?
बैठक समापन हुँदा यस्तो केही भेटिएन । लाइभ बैठक पारदर्शीर् र लोकतान्त्रिक अभ्यासका लागि भनिए पनि खासमा देउवाको यो निर्णय पार्टीभित्र हुनुपर्ने जीवन्त क्रिटिकल बहसलाई निस्तेज पार्ने पपुलिस्ट चाल थियो । यसबाट उनी चर्को आलोचनाबाट मात्र जोगिएनन् बरु प्रशंसा पाउन सफल भए ।
त्यति मात्र हैन पार्टीभित्र शक्तिसम्पन्न भएको पनि सन्देश दिए । उनले नबोली नबोली शरणार्थी प्रकरणमा जोडेर प्रश्न उठेका आरजु देउवा, मञ्जु खाँणलाई जोगाउने र बालकृष्ण खाँणलाई निलम्बन गर्न नपर्ने वातावरण बनाए । बैठकको अन्तिममा पार्टीभित्र सबै ठीक छ र देशभित्र सबै ठीक छ भन्ने तहको सन्देश दिन सफल भए । सारमा बैठक उनका लागि फलदायी भयो ।
खाँणको बचाउ
नक्कली भुटानी शरणार्थी प्रकरण नेपालको राष्ट्रियता र स्वाभिमानसँग जोडिएको गम्भीर विषय बनेको छ । अनेक किसिमका जालझेल, सेटिङ गरेर नेपाली नागरिकलाई अनागरिक बनाउने अर्थात् भुटानी शरणार्थी बनाउने काम इतिहासमै अत्यन्त लज्जास्पद र विडम्बनापूर्ण बनेको छ । अहिलेसम्म प्राप्त तथ्य र प्रमाणका आधारमा पूर्वमन्त्री रहेका ठूला नेताहरू, बहालवाला सचिवहरू सहित बिचौलियाहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
आरोप लागेसँगै अनुसन्धानमा सहयोग पुर्याउन भन्दै एमालेले आफ्ना सचिव टोपबहादुर रायमाझीलाई निलम्वन गरिसकेको छ भने कांग्रेसले पनि आफ्ना नेता बालकृष्ण खाँणलाई निलम्बन गर्छ भन्ने धेरैको अपेक्षा थियो । कतिपय कांग्रेस कार्यकर्ता तथा आम नागरिकले समेत खाँणलाई निलम्बन गर्नका लागि दबाब दिए । तर देउवा र उनको समूह खाँणलाई निलम्बन गर्न तयार भएन ।
देशको इज्जत, प्रतिष्ठा, सुशासन र विधिको शासनका लागि अनिवार्य शर्तका रूपमा रहेको र कांग्रेस पार्टीकै भविष्यसँग समेत जोडिएको यस प्रकरणमा सहभागी रहेको भन्दै प्रश्न उठेका आरजु देउवा तथा मञ्जु खाँणलाई अनुसन्धानको दायरामा ल्याउन र बालकृष्ण खाँणलाई निलम्बन गर्न यो केन्द्रीय समितिको बैठक सफल हुने विश्वास गरिएको थियो । तर भयो ठीक उल्टो । खाँणलाई निलम्बन गर्न सिंगो केन्द्रीय कमिटी एकजुट होला भनेको त उनलाई जोगाउन, उनका पक्षमा माहोल बनाउने र उनलाई निलम्बन नगर्न पो एकजुट भयो ।
भ्रष्टाचार आरोपमा जेल परेका विजय गच्छदार, टेकबहादुर गुरुङको उदाहरण दिंदै कुनै पनि कसुरमा आरोपित हुनासाथ निलम्बन गर्ने कांग्रेसको परम्परा नभएको यथास्थितिवादी तर्क राखेर केन्द्रीय सदस्यहरूले निलम्बन गर्नु नपर्ने बताए । उल्टो घरको सदस्य दुःखमा हुँदा बचाउन नसकेको भन्दै नेतृत्वको आलोचना गरे ।
नयाँ युग सुहाउँदो सुशासन, विधि र पद्धतिमा पार्टीलाई डोर्याउनुको सट्टा थुनामा रहेका व्यक्तिका पक्षमा वकालत गरे । यसले उनीहरूको सोच, विचार, देश र जनताप्रतिको जवाफदेही, सुशासनप्रतिको प्रतिबद्धतामा प्रश्न उठेको छ । भविष्यमा आफूहरूमाथि पनि यस्तै दुःख परेमा पार्टीले जोगाउनुपर्ने दलिल उनीहरूले पेश गरे । यस्ता नेता र पार्टीबाट अब नेपाली जनताले के अपेक्षा गर्न सक्छन् ?
महामन्त्रीद्वयको आलोचना
कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा कांग्रेसमा मात्र नभई सिंगो देशमा आशा जगाउने युवा नेताका रूपमा परिचित छन् । उनीहरू आफ्नै बलबुताले संघर्ष गरेर महामन्त्री भएका पनि हुन् । उनीहरूले कांग्रेसलाई रूपान्तरण गर्ने, विधि र पद्धतिमा हिंडाउने र देशको समुुन्नतिका लागि काम गर्ने योजना अगाडि सारेका छन् ।
कांग्रेसलाई अब नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने पनि उनीहरूको धारणा छ । तर, केन्द्रीय कमिटीको बैठकमा ती विषयमा छलफल गरेर कांग्रेसले अपनत्व लिनुको सट्टा उल्टै उनीहरूमाथि विभिन्न आरोप लगाएर आलोचना गर्ने र उनीहरूको हुर्मत लिने काम भयो ।
आफूमाथि भएको आलोचना सहन नसकेका र पार्टी सत्तामा भएको आफ्नो वर्चस्व गुमाउन नचाहेका देउवाले रणनीतिक रूपमा महामन्त्रीहरूलाई कमजोर पार्ने र आफ्नो प्रभाव देखाउने लक्ष्यका साथ बैठकलाई लाइभ गर्ने योजना बनाएका थिए । साथै आफ्नो गुटका नेताहरूलाई प्रतिवाद गर्न लगाएका थिए ।
नभन्दै बैठक उनले चाहे जस्तो भयो । पार्टीसत्ता तथा राज्यसत्ताका विभिन्न पदमा पुग्ने लालसा बोकेको स्वार्थी झुण्डहरूले युगको आवाज बोल्ने, परिवर्तन र रूपान्तरणका एजेन्डा बोक्ने भन्दा पनि नेतृत्वको गुणगान गाएर दास मानसिकता प्रदर्शन गरे । पुरानो रुढिवादी पार्टी सत्ताको संरक्षणमा रमाएर न कांग्रेस रूपान्तरण सम्भव छ न देशको समुन्नति ।
देशको राजनीति अस्थिर छ । लोकपि्रयतावादको राजनीतिबाट उदाएका नयाँ दलहरू युवाको नेतृत्वमा छन् । यस्तो परिवेशमा ८० वर्ष पुग्न लागेको वृद्ध सभापतिलाई स-सम्मान विदाइ गरेर नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गराउन सक्दा मात्र नयाँ पार्टीसँग कांग्रेसले प्रतिस्पर्धा गर्न सक्ने हो । तर दास मानसिकताबाट बाहिर आउन नसकेका कांग्रेस केन्द्रीय सदस्यहरूले देउवाको गुणगान गाएर महामन्त्रीहरूको हुर्मत लिए ।
बेवास्ता गरेका सवाल
राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशको विस्तृत विश्लेषण सहितको प्रतिवेदन पेश नहुँदा कांग्रेसको संस्थागत धारणा बुझ्न सकिएन । महामन्त्रीले पेश गरेको सांगठनिक कार्ययोजना बाहेक अरू कुनै विषयमा कांग्रेसको ठोस धारणा आएन । खासमा उसले धेरै कुरा बेवास्ता गरेको देखियो । संसदको ठूलो सत्तारुढ दलको बैठक यस्तो दिशाहीन हुनु दुःखद पक्ष हो ।
कांग्रेस बैठक समापन हुँदा देशको अवस्था पनि ठीक छ र पार्टीभित्र पनि सबै ठीक छ भन्ने भाव देखियो । के अवस्था त्यस्तै हो त ? विधान अनुसार चल्ने, आन्तरिक लोकतन्त्रको अभ्यास सहित नेतृत्व हस्तान्तरण गर्ने, निश्चित वर्ग र समुदायको सिन्डिकेट हावी भएको कांग्रेसको नेतृत्वलाई समावेशी बनाउने, युवाहरूलाई नेतृत्वमा पुर्याउने र परिवारवादको प्रभाव तोड्ने जस्ता सवाल कांग्रेसमा बहस गर्नै नपर्ने हो र ?
यसैगरी शरणार्थी काण्ड, सुन तस्करी काण्ड, ललितानिवास काण्ड, कोशी सभामुख काण्ड, वैदेशिक पलायन, राजनीतिक अस्थिरता, भूराजनीतिक चलखेल, सुशासन, विकास र समृद्धि, आदि विषयमा कांग्रेसको ठोस धारणा आउनुपर्ने होइन र ?
पुराना दलहरूमा देखिएको मूल्यहीन राजनीति, सत्तास्वार्थ र अकर्मन्यताका कारण लोकप्रियतावादी नयाँ शक्तिको उदय भएको छ र देशमा एक खालको अराजकता र अस्थिरता बढेको छ । चरम राजनीतीकरणको शिकार हुँदा राज्यका अंगहरू कमजोर भएका छन् ।
संघीयताप्रति वितृष्णा बढ्दो छ । परिवर्तनका मुद्दा उल्टिने खतरा देखिएको छ । सारमा लोकतन्त्र कमजोर हुँदैछ । यस्तो परिवेशमा कांग्रेसको बैठक जे-जसरी चल्यो र सम्पन्न भयो त्यसले कांग्रेसले अब देश र जनताको आशा र अपेक्षा अनुसारका एजेन्डा बोक्न र समग्र देशको नेतृत्व गर्ने सामथर्थ्य गुमाएको सन्देश दिएको छ ।
प्रतिक्रिया 4