+
+
ब्लग/सम्झना :

साउन १५ को खीर र हजुरआमाको सम्झना

कृषि कर्म सिध्याएर साउने झरीमा खीर खानुको मज्जा बेग्लै हुन्थ्यो। माछामासु नखाने महिना भएकाले पनि तन्दुरुस्त बनाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन खीर खानुको महत्व छुट्टै थियो र छ।

डा. अच्युत शाली घिमिरे डा. अच्युत शाली घिमिरे
२०८० साउन १५ गते १५:४६

हाम्रो घर लमजुङ जिल्लाको भोर्लेटार भए पनि मामाघर कास्की जिल्लाको स्यास्त्रीमा थियो— हाम्रो घरबाट लगभग एक घण्टाको पैदल दूरीमा। दुईवटा नदी मिदिम र मादी तरेर जानुपर्थ्यो। झोलुंगे पुलहरू थिए, सायद यिनै पुलहरूले हजुरआमा र नातिनातिनाको सम्बन्ध प्रगाढ बनाउन भूमिका खेल्दथे।

मामाघर भने पनि हजुरआमा एक्लो हुनुहुन्थ्यो। गाम मावली नै भए पनि दुई वटै छोरी अर्थात् आमा र सानिमा बाहेक हजुरआमाको कोही थिएन। हजुरबुवाको निको हुन नसकेको रोगका कारण अल्पायुमै स्वर्गवास भएकाले घर एक्लो र सुनसान थियो।

धेरै पहिले डाँडाको पहिरोले सबै बगाएर जहान जति सखाप पारेको घटना पनि हजुरआमाको मुखबाट सुनिरहन्थें। जेहोस् एक्लै जिन्दगीको अत्यासलाग्दा घडीहरू हजुरआमाले पार गरेर बसिरहनुहुन्थ्यो।

साउन १५ मा जब स्कुल बिदा हुन्थ्यो, हामी एक दिनका लागि भए पनि हजुरआमालाई भेट्न मरिहत्ते गर्थ्यौं। आमाले घरका केही नयाँ नौला कोसेलीहरू पनि पोको पुन्तुरो पार्दिनुहुन्थ्यो। हतार–हतार बिहानै खाना खाएर चर्को घाममा छाता ओढेरै हामी बाटो लाग्थ्यौं। बाटो एक घण्टाको भए पनि उकालो र ओरालो र मादीको तीरतीरै गफ गर्दै जाँदा हजुरआमाकोमा पुग्दा झमक्कै साँझ पर्थ्यो।

टुप्लुक्कै पुग्दा हर्षले मुहार उज्यालो पार्नुहुन्थ्यो। पल्लाघरे छिमेकीकोमा गएर तीन लिटर दूध मगाउनुहुन्थ्यो अनि मसिनाको चामल, किसमिस, ल्वाङ, नरिवल, दालचिनी, मरीच, काजु, छोकडा अनि भैंसीको घ्यू ठिक्क पारेर राख्नुहुन्थ्यो।

बारीको घिरौंला टिपेर तरकारी पकाउन तयार गर्नुहुन्थ्यो। हामी आगो फुक्थ्यौं। कुवाबाट पानी ल्याउँथ्यौं। अनि हजुरआमा खीर बसाल्नुहुन्थ्यो। हामी चाहिं हजुरआमाका बात सुन्न पनि वरिपरि झुम्मिएर बस्थ्यौं। हामी भन्नाले प्रायः म र दिदी हुन्थ्यौं।

उता सानिमाको घर ढुंगाडेबाट पनि दुईजना बहिनीहरू आइरहन्थे। सँगै जम्काभेट हुँदा हजुरआमाकोमा सुत्ने ठाउँ पुग्दैनथ्यो। खाने चरेसका थाल कचौरा समेत पुग्दैनथ्यो। जब अँगेनामा खीर पाकेर मगमग बास्ना छर्थ्यो हामीलाई खीर खान आतुर हुन्थ्यो।

‘असारे पन्ध्र दही र चिउरा साउने पन्ध्र खीर’ को भाका हाल्दै हजुरआमा हामीलाई पेटभरी खुवाएर बल्ल आफू खानुहुन्थ्यो।

कृषि कर्म सिध्याएर साउने झरीमा खीर खानुको मज्जा बेग्लै हुन्थ्यो। माछामासु नखाने महिना भएकाले पनि तन्दुरुस्त बनाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन खीर खानुको महत्व छुट्टै थियो र छ।

मादी नदी द्रुत गतिमा बगिरहन्थ्यो। हावाको झोंक्काहरूमा सुसाइरहन्थ्यो। हामी टुकी बालेरै रातको ११/१२ बजेसम्म पनि गफ गरेरै बस्थ्यौं।

हजुरआमा महाभारत र रामायणका रोचक कथाहरू सुनाउनुहुन्थ्यो। हामी एकोहोरो सुनिबस्थ्यौं। लेख्न पढ्न केही नजान्ने मेरी हजुरआमाले अरुले बाचन गरेकै सुनेर यस्ता श्लोक र भाकाहरू कसरी कन्ठस्थ गर्नुभयो होला भनेर हामी तीनछक्क पर्थ्यौं।

महाभारतमा धृतराष्ट्र र पाण्डवहरूको उत्पत्तिदेखि एकलव्यको गुरुभक्तिका कथासम्म पनि हजुरआमा सुनाउनुहुन्थ्यो। द्रौपदीको चीरहरणदेखि भीमको भीषण प्रतिज्ञासम्मका घटनाहरू समेत निकै चाखलाग्दा हुन्थे।

पाण्डवहरूको वन प्रस्थान सँगसँगै गीतासार हुँदै अभिमन्यु चक्रव्यूहमा प्रवेश गरेका रोचक घटनाहरू पनि सुनाउनुहुन्थ्यो। सबै पात्रहरूका छुट्टा–छुट्टै पहिचान रहेको कुरा स्मरण गराउनुहुन्थ्यो। कृष्ण र अर्जुन जस्तै बन्नुपर्नेमा जोड दिनुहुन्थ्यो।

कृष्णकै अर्को नाम भएकाले पनि मेरो नाम अच्युत राख्न समेत हजुरआमाले नै जोडबल गर्नुभएको थियो रे! हजुरआमाका कथाहरू त्यो पनि मधुरो आवाजमा हामीलाई लोरी सुने जस्तै लाग्थ्यो त्यसैले त कतिखेर निदायौं पत्तै पाउँदैनथ्यौं। बिहान घामको किरणले आएर ललाट चुम्दा मात्र बिउँझिन्थ्यौं।

उठेपछि बिहानै चर्पी जाने समस्या अलिकति हुन्थ्यो। हामी स-सानै थियौं। खेतबारीतिर गएर गर्थ्यौं। उतैबाट कुवा गएर हातमुख धोएर आउँथ्यौं। हजुरआमाका खेतका कान्लाहरूमा निबुवा, अम्बा र सुन्तलाका बोटहरू थिए। जब फल्ने सिजन हुन्थ्यो हामी तिनै बोटहरूमा झुम्मिन्थ्यौं। पिंढीमा बसेर हजुरआमा हाँगो भाच्लान् कि भन्ने डरले कराउनुहुन्थ्यो। हामी भने सुनेको नसुने झैं गरेर धीत मरुन्जेल खान्थ्यौं। हजुरआमाको घरमा गाई,  भैंसी, गोरु थिएनन्। एक्लो ज्यानले के के चाहिं गर्न सक्नुहुन्थ्यो र ?

माटो र ढुंगाको घर पहिले खरले छाएको थियो। पछि टिन हालियो। हजुरआमाले हजुरबुवाको एकाहा लगाउनु अगाडि नै चुहिने खरको छानो फेर्ने इच्छा जाहेर गर्नुभएको हुनाले हामी नातिनातिना मिलेरै बजारबाट टिन बोकेर लगेका थियौं। टिन हाल्न आएका काठेकर्मीहरूलाई हजुरआमा केराको पातमा चामलको पिठोको रोटी बनाएर खुवाउनुहुन्थ्यो।

काठेकर्मी दाइहरूले धुरी हालेर सिध्याएको दिन भाले काटेर खान्छु भन्दा बेफिक्री हजुरआमाले पैसा पनि दिनुभा’थ्यो। टिनको छानो हालेसँगै पिंढी पनि अलि फराकिलो बनाइयो। त्यसपछि त हजुरआमा फुर्सदको समयमा पिंढीमा बसेर बत्ती कात्न थाल्नुभयो।

हजुरआमा नाटीकुटी गर्ने र अलिकति अन्धविश्वासी पनि हुनुहुन्थ्यो। धेरै अगाडिको पुस्ता भएर होला बहिनीहरू महिनावारी हुँदा उनीहरूले छोएको खाँदै खानुहुन्थेन। खाना खाँदा पनि कपडा फेरेर खानुहुन्थ्यो। हामी अचम्म मान्थ्यौं तर खाना खानु अगाडि कृष्णार्पण गरेर पानी घुमाउन समेत हामीलाई हजुरआमाले सिकाइसक्नुभएको थियो ।

अझ, मेरो ब्रतबन्ध भएपछि त बिहान बिहान जप, ध्यान गर्न निकै प्रेरणा दिनुहुन्थ्यो। धर्म, कर्म भनेपछि मरेरै लाग्नुहुन्थ्यो। तर उहाँमा अज्ञानको घमण्ड भने कत्ति पनि थिएन। सरल क्रियाहरूमा हामीलाई समझमा ल्याउन सक्नुहुन्थ्यो।

हामी दशैंमा टीका लगाउन जाँदा आयस्रोत केही नभए पनि सँगालेर राखेका पैसाहरू दक्षिणा स्वरूप दिनुहुन्थ्यो। मिठो–मसिनो खुवाउनुहुन्थ्यो। नाताहरूप्रति कृतज्ञ रहेर कर्महरू सिकाउन खोज्नुहुन्थ्यो। भावनाहरूमा फैलिएर रसाउनुहुन्थ्यो। सहानुभूतिका प्रभावहरूमा सौन्दर्य जीवन जिउनुहुन्थ्यो।

हजुरआमाको असीमित माया र स्नेहका अघि संसारका जादूहरू पनि अपूर्ण लाग्थे। हामी तोते बोल्ने हुँदादेखि नै अदृश्य मायाहरूद्वारा हाम्रो पोषणमा लाग्नुभएकी हजुरआमाको याद अझै पनि गाढा रहेको छ।

हजुरआमाकै हात समातेर भजन गाउनका लागि रामबजारको विद्यापीठ र मठमन्दिर धाउँदाका दिनहरू कति गज्जबका थिए! उमेरले मिल्दा बालबच्चाहरू कमै हुन्थे तर वयोवृद्ध मान्यजनहरूको संगतले छुट्टै प्रेरणा दिन्थ्यो। ‘बालखा’ भन्दै सबैले मलाई माया गर्थे।

हजुरआमाको हँसिलो चेहराको साँची बसेर प्रकृतिको काखमा डुल्दा समेत एकदम रमाइलो लाग्थ्यो। घिउ कलरको सारी, हरि ॐ लेखेको पछ्यौरा अनि गहुँगोरो वर्ण टाढैबाट देख्ने बित्तिकै हजुरआमा नै हुनुहुन्छ भनेर पक्का हुन्थेँ।

हरेक प्रवाहका छन्दहरू टिप्दै हजुरआमाले मनका बहहरू भाका हाल्दा मेरा आँखाहरू भरिएर आउँथे। कठिनताको उकालीहरूमा ईश्वरकै मौन समर्थनबाट जीवनको मूल्य सिकेकी मेरी हजुरआमा आज हामीमाझ हुनुहुन्न।

जीवनका अन्तिम घडीहरूमा बिर्सने रोग अर्थात् अल्जाइमर्सका कारण धेरै दुःख पाउनुभयो। हामीले भोर्लेटार नै ल्याएर सँगसँगै लगभग दश वर्ष राख्यौं। तर पनि हजुरआमालाई जति नै माया दिन खोजे पनि मादी तरेर आफ्नै जन्मभूमि जाने इच्छा हजुरआमाको रहन्थ्यो।

हजुरआमा स्यास्त्रीमा बसिरहेको घर पनि माइतीको पेवा थियो। घरमा दुःख भए पनि माइतीकै निगाहले गर्दा जीवनलाई परिष्कृत बनाउन सक्नुभयो।

ती बाटा, ढुङ्गा, पिंढी, रुखका बोक्रा, सुन्तलाका बोटहरू अझै हेर्‍यो भने पनि हजुरआमाकै अनुहार झलझल्ती आउँछ। पहाडका कथा र व्यथा सुन्न कानहरू लालायित हुन्छन्। हजुरआमाकै काखमा बसेर प्रकृतिको किताब पढ्न मनहरू अझै प्रतीक्षारत हुन्छन्।

तर खै कहाँ त्यो जीवन फर्किएर आउँछ र ? फेरि कहाँ हजुरआमाका प्रिय हातहरूले ढिकीमा कुटेर तयार पारिएका पिठोको सेलरोटीहरू खान पाइन्छ र ? नुहाउन जाँदा पधेंरामा गाउँखाने कथा खेल्न पाइन्छ र ? फेरि कहाँ हजुरआमाको मैलो तर न्यानो स्पर्शले मन्त्रमुग्ध हुन पाइन्छ र ?

हजुरआमा आफैंमा एउटा इतिहास हुनुहुन्थ्यो। मेलापात गरेरै मिठो–मसिनो खुवाएरै छोरीहरू हुर्काउनुभयो, नाति–नातिनाहरूलाई सक्दो माया बाँड्नुभयो। दुनियाँले विधवा आइमाईको दर्जा दिंदै दुःखहरूलाई कहिल्यै जित्न सक्दिनस् भन्दै गर्दा पनि आत्मशक्तिलाई सुधार गर्दै लैजानुभयो।

बितेका कुराहरूको पासोमा पर्नुभएन बरु आशायुक्त संकल्पहरू गर्नुभयो। उहाँले केवलकार चढेरै साठी वर्षको उमेरमा मनकामना पनि दर्शन गर्नुभयो। अनि काठमाडौं शहर पनि घुम्नुभयो।

पशुपति र स्वयम्भूको दर्शन पनि गर्नुभयो। स्वयम्भूको डाँडामा पुगेर काठमाडौं शहर हेर्न पाउँदा उहाँ दंग पर्नुभएको थियो। यत्रा मान्छेहरू कहाँबाट आएका होलान् हगि नाति ? भन्दै मलाई प्रश्न सोध्नुहुन्थ्यो। ठूला ठूला महल र सपिङ सेन्टर देख्दा हजुरआमा छक्क पर्नुहुन्थ्यो। टोलैपिच्छेका मूर्तिहरू ढोग्दै हिंड्नुहुन्थ्यो।

काठमाडौं जाँदा नै हो हजुरआमाले शहरी परिकार म:म र चाउमिन पनि चाख्नुभएको थियो। तर त्यति मिठो भने मान्नुभएन। दुई चार दिन रमाइलै माने पनि न्यास्रो लागेपछि उहाँ गाउँ नै फर्किने चाहा राख्नुहुन्थ्यो। बसको यात्रा निकै नै अत्यासलाग्दो भए पनि उहाँले दुःखहरू सँगै सुखका केही अनुभूतिहरू पनि गर्नुभयो।

अचेलका बालबच्चाहरू हजुरआमाको संगतबाट टाढा हुँदैछन्। हजुरआमाका अनेक इन्द्रेणीयुक्त रङहरू बुझ्न नपाउँदै बालबच्चाहरू ठूला हुन्छन् अनि आधुनिकतासँग लहराउँछन्। मैले हजुरआमाको जीवन देखें, महसुस पनि गरेँ त्यसैले त आजकल जीवनका जटिल प्रश्नहरूमा खँदिलो उत्तर खोज्ने आँट गर्छु।

हजुरआमा आफैंमा एउटा नवीन संसारको स्रष्टा हुनुहुन्थ्यो। बालमस्तिष्कमा प्रेमको चित्र कोर्ने चित्रकार हुनुहुन्थ्यो। धर्म सिकाउने धर्मगुरु हुनुहुन्थ्यो।

आज पनि हजुरआमाका तस्बिरहरू नियालेर हेर्दा जीवनमा केही गर्ने जोश–जाँगर आउँछ। अनि पटुकामा बेरेर हजुरआमाले ल्याइदिने पुस–माघका सुन्तला जस्तै जिन्दगी गुलियो र स्मरणीय बनाउन मन लाग्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?