+
+

बालेनको आदेशले हिँडेको डोजर सीडीओले रोके

राप्रपाले आफैं भत्काउने भनेकाले छाडियो : राजु पाण्डे

अमृत चिमरिया अमृत चिमरिया
२०८० साउन १५ गते २०:४४

१५ साउन, काठमाडौं । धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालयमा सोमबार बिहानैदेखि कार्यकर्ताहरुको भीड थियो । काठमाडौं महानगरपालिकाले शुक्रबार माइकिङ गरेर तीन दिनभित्र घर भत्काउन आग्रह गरेको थियो र नभत्काए डोजर चलाउने चेतावनी दिएको थियो ।

विद्युत प्रशारण लाइन (हाइटेन्सन लाइन) मुनि रहेको पार्टी कार्यालयमा डोजर चलाउन रोक्न राप्रपाका कार्यकर्ता भिड लागेका थिए । दिउँसोतिर कार्यकर्ताको संख्या बढ्दै गएपछि नेपाल प्रहरीले सुरक्षाकर्मीको संख्या बढायो भने सशस्त्र प्रहरी बलको टोली पनि आयो ।

१५० भन्दा बी नगर प्रहरी र डोजरसहितको टोली विहान १० : ५५ मा बागदरबारस्थित महानगरपालिकाको कार्यालयबाट धुम्बाराहीस्थित राप्रपा कार्यालयतर्फ अघि बढेको थियो ।

हाँडीगाउँसम्म पुगेको नगर प्रहरी त्यहीँ रोकियो । एक नगर प्रहरी अधिकृतले अनलाइनखबरसँग भने ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तत्काल राप्रपाको भीड माथि बल प्रयोग नगर्ने आदेश भएकाले नगर प्रहरी मात्रै अगाडि बढ्दा खतरा हुने भएपछि हामी त्यहिँ रोकियौं ।’

उनले थपे, ‘एउटा पार्टीको केन्द्रीय कार्यालय भत्काउँदा आइपर्न सक्ने सुरक्षा चुनौतीमा प्रहरीले साथ दिने निर्क्यौल नहुँदासम्म गएर डोजर चलाउन सकिएन ।’

मेयर बालेन शाहका स्वकीय सचिव भुपदेव शाहले महानगरपालिकाले आफ्नो स्थानीय तहमा पर्ने हाइटेन्सन लाइनमुनिको भौतिक संरचना हटाउँदा प्रशासनले सहयोग नगरेको बताए । ‘हामी सबै तयारी गरेर अगाडि बढ्दा रोक्नुपर्ने कारण नै थिएन, नेपाल प्रहरीले नगर प्रहरीलाई ‘टोली मुभ’ भन्न नसक्दा डोजर अगाडि बढ्न सकेन’, उनले भने ।

सीडीओलाई गृहमन्त्रीको फोन

हाँडीगाउँमा नगर प्रहरी रोकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा महानगर प्रहरी प्रमुख राजु पाण्डे, मेयर बालेनको सचिवालयका धिरज जोशी, विद्युत प्राधिकरण रत्नपार्क स्टेशन प्रमुख र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख छलफलमा थिए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले महानगरपालिका र विद्युत प्राधिकरणसँग राप्रपाको कार्यालय हटाउने जानकारीसहितको लिखित सूचना माग गरे । महानगरपालिका र प्राधिकरणको टोलीले गैरकानुनी रुपमा निर्माण भएकाले सूचना जारी गरिरहनु नपर्ने बताए ।

बैठकमा सहभागी स्रोतका अनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई फोन गरेर तनावको अवस्था आउन नदिन निर्देशन दिएका थिए । ‘गृहमन्त्रालय शान्त वातावरणमा समस्याको समाधान होस, कोलाहल, तनाव गरिरहनुपर्दैन भन्ने निर्देशन दिएपछि सोही अनुसार सुरक्षा निकाय पनि निर्देशित भएको थियो’, छलफलमा सहभागी स्रोतले भन्यो ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि फोन गरेका थिए । लिङ्देनले पार्टी कार्यालय व्यवस्थापन लागि समय चाहिने र आफैं भत्काउन तयार रहेको बताएका थिए । स्रोतका अनुसार महानगरपालिकाले राप्रपाले २१ दिनभित्र भत्काउने प्रक्रिया थाल्नुपर्ने अडान लिएपछि लिङ्देनले लिखित रुपमा भत्काउने प्रतिबद्धता व्यक्त गर्ने बताएका थिए ।

प्रतिकारको तयारीमा थिए राप्रपा कार्यकर्ता

महानगरपालिकाले डोजर चलाउने सूचना पाएपछि राप्रपाले पार्टीका युवा र विद्यार्थी संगठनका कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएको थियो । उनीहरु डोजर चलाए प्रतिकार गर्ने तयारीमा थिए ।

‘६ लाख राप्रपा कार्यकर्ताको यो मन्दिर हो, सजिलै भत्काउन पाइन्छ ?’ राप्रपाका विद्यार्थी नेता प्रकाश चौलागाईंले प्रश्न गरे, ‘महानगरपालिकाले समन्वय गर्नुपर्दैन, सिधै डोजर हान्छु भन्दै दादागिरी देखाउने हो ?’

राप्रपाका एक नेताका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई फोन पनि गरेका थिए । तर उनले उठाएनन् । ‘हाम्रो अध्यक्षले ३ चोटी फोन गर्दा बालेनले उठाएनन्’, एक केन्द्रीय सदस्यले भने, ‘देशको पाँचौं ठूलो दललाई केन्द्रीय कार्यालयबाट उठेर जा भन्नेवित्तिकै जाने कुरा आउँदैन ।’

नगर प्रहरी प्रमुख राजु पाण्डेले राप्रपाको पार्टीकै तर्फबाट आफैं भत्काउँछु भन्ने प्रतिबद्धता आएकोले तत्कालको लागि ब्याक भएको बताए । ‘उहाँहरु आफैंले भत्काउँछु भनेपछि हामी ३ हप्ताको लागि पछि हटेका छौं, तर भत्काउनुभएन भने महानगरले डोजर चलाउने कुरा क्लियर छ,’ पाण्डेले अनलाइनखबरसँग भने ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?