+
+

हिमालय रोडिज-५ : पहिचान खोजिरहेकी रोशनी, दुई वर्ष अमेरिकी जेलमा बस्न बाध्य नरेश 

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १२:४४

काठमाडौं । हिमालय रोडिज सिजन-५ को प्रसारण सुरु भएको छ । सोमबार बेलुका प्रसारित पहिलो एपिसोडमा काठमाडौं अडिसनलाई प्रस्तुत गरियो । जुन हेर्दा लाग्थ्यो– हामी कुनै टिभी शोभन्दा ब्लकबस्टर फिल्म हेरिरहेका छौं । जहाँ एउटा फिल्ममा हुनुपर्ने सबथोक थियो ड्रामा, थ्रिलर, इमोसन, एक्सन सबथोक ।

एक्सन फिल्म निर्देशकको रुपमा चर्चित सिमोस सुनुवारले आफ्नो स्टाइलमा रोडिजलाई पस्किएका थिए । सिजन ५ को पहिलो भागमा आममान्छेको संघर्ष कथा, टास्क, हाँसो, नृत्यदेखि घेचपेच सबै समेटिएको थियो । छायांकन र पार्श्व ध्वनिले यो एपिसोडलाई दर्शनीय बनाएको थियो ।

यीभन्दा पनि महत्वपूर्ण कुरा अडिसन दिन आएका व्यक्तिको कथा र संघर्ष निकै मर्मस्पर्शी लाग्थ्यो । जो अडिसन दिन आएका थिए, उनीहरुको जीवनको कथा भिन्न थियो । कोही ब्रिटिश लाहुरे बन्ने सपना बीचमै त्यागेका, कोही बाल्यकालमा अभावमा हुर्किएका, कोही शारीरिक र मानसिक रुपमा बलियो भन्ने आशा राखेका, कोही पहिचानको खोजीमा निस्किएकादेखि समाजमा सन्देश दिने उद्देश्यले आउने थिए ।

अघिल्ला सिजनभन्दा विविधता पस्किएको पाँचौं सिजनको पहिलो एपिसोडमा ग्याङ लिडरको रुपमा आशिष राना लाउरे, प्रियंका कार्की, दीया मास्के र अनुपविक्रम शाही छन् । होस्टको रुपमा सुरज सिंह ठकुरीको आभा र उपस्थितिले नै रोडिजलाई अझै उचाइमा लगेको अनुभूति गर्न सकिन्छ । सुशान्त खत्री डान्स जज गर्ने गेस्टको रुपमा उपस्थित थिए ।

पल शाहको छायामा पहिचान खोजिरहेकी रोशनी

सिजन ५ को पहिलो एपिसोडमा अभिनेता पल शाहकी बहिनी तथा डान्सरसमेत रहेकी रोशनी राज्यलक्ष्मी शाहको उपस्थितिले सबैको ध्यान खिच्यो । आफ्नो जीवनमा ‘आइडेन्डिटी क्राइसिस’ रहेको खुलासा गर्दै उनले आफ्नो पहिचानका लागि आफू रोडिजमा सहभागी भएको बताइन् । उनले यस क्रममा बाबु, आमा र दाइको नाम लिइन् ।

रोशनीले भनिन्, ‘म यसलाई अर्को जुनी सम्झन्छु । ५-६ वर्षसम्म म हिपले घिस्रेर हिंडे । जन्मिने बेलामा बल्ल पोलियो आएको थियो रे । त्यतिबेला मैले मौका पाइनँ । म त्यो टाइममा डिसबेल थिएँ । समाजले परिवारलाई कति कुरा सुनायो होला । तर मेरो परिवारले मलाई राम्रोसँग ट्रिट गर्‍यो । ६ वर्षको उमेरमा मात्र हिंड्न सकें ।’ यसो भनिरहँदा रोशनीका आँखा रसाइरहेका थिए ।

उनले अगाडि भनिन्, ‘मेरो दाइ जुन संघर्ष गरेर यहाँ पुग्नुभएको छ । मैले पनि मेरो नाम राख्न म आफैं हिंड्नुपर्छ । त्यही भएर यहाँ आएको हुँ । यो फर्ममा कहीं पनि दाइ पल शाहको नाम छैन ।’ जवाफमा सुरजले जवाफ दिए, ‘म पनि पल शाहको दाइ वा भाइ भएको भए कहीं न कहीं उसको नाम राखेर इन्फ्लुएन्स गरौं भन्ने सोच्थें होला ।’

रोशनीको हार नमान्ने स्वभाव र बाल्यकालीन संघर्षबाट प्रभावित भएर आफूले उसलाई रोडिजका लागि छनोट गरेको प्रियंकाले बताइन् । होस्ट समेत रहेका सुरजले डिसेबल भन्ने शब्द डिस्नेरीबाट हटिसकेको बताउँदै रोशनीलाई हार नमान्न सुझाव दिए । रोशनीले ग्याङ लिडरको रुपमा दीया मास्केलाई रोजिन् ।

डान्सर हुनुको शारीरिक क्षमताले रोशनीलाई रोडिजमा फिजिकल एक्सरसाइज गर्न सजिलो भयो । झुण्डिएको बाँसमा हिंड्नेदेखि लिफ्टअप गर्ने र काठमा चढ्ने टास्क उनले सजिलै पूरा गरिन् ।

रुकुमे ठिटो जो दुई वर्ष अमेरिकी जेलमा बसे

रुकुमबाट सहभागी भएका नरेशले रोडिजको अडिसनमा कथा सुनाउँदा सबै जना स्तब्ध भए । नेपाल, अफ्रिका र दक्षिण अमेरिका हुँदै अमेरिका पुग्ने उनको त्रासदी यात्राको कथा सुन्दा हामीलाई कुनै फिक्सन सुनेजस्तो अनुभूति हुन्छ । आङ सिरिंग पार्ने उनको यो कथामा ग्याङ लिडर पनि भावुक भए ।

नरेशको कथा अन्य ८० हजार नेपालीलाई सुनाउन जरुरी छ भन्दै होस्ट सुरज सिंह ठकुरीले विशेषाधिकार प्रयोग गर्दै नरेशलाई छनोट गरे । नरेशले पनि लाउरेको टिम रोजे ।

नरेशले भने, ‘रुकुमबाट काठमाडौंमा आएर सात दिन बसें । त्यसपछि सिधै अफ्रिकाको इथियोपिया गएँ । त्यहाँ एक महिना बसेपछि चिली पुगें । त्यसपछि पेरुको मरुभूमिमा गएँ । त्यसपछि इक्वेडर । त्यसपछि कोलम्बिया लाग्यौं । मेक्सिको पुग्दा नेपाली पासपोर्ट च्यात्नुपर्‍यो । मेक्सिकोको जंगल, पहाड र नदी पार गरेर अमेरिकाको सनफ्रान्सिस्को पुग्नुपर्‍यो । त्यसपछि शरणार्थीको रुपमा दुई वर्ष जेलमा बस्नुपर्‍यो ।’

नरेशलाई छनोट गरेको घोषणा गर्दै सुरजले भने, ‘ती रोडिजको आगामी एपिसोडमा पनि पर्दामा हुनुपर्छ । तिमीलाई पुसअप र फिजिकल अभ्यासबिनै अर्को चरणमा छनोट गर्छु । ८० हजार नेपाली यो प्रोसेसबाट नजाओस् भन्नका लागि तिमी स्क्रिनमा हुनैपर्छ ।’

अन्य प्रभावशाली प्रतिस्पर्धी जो प्रेरणादायी छन्

विशाल तामाङ, जसको साहसिक प्रस्तुतिले ग्याङ लिडरको मन जित्यो । स्टन्टम्यानको रुपमा मलेसियामा केही वर्ष बिताएका विशालले त्यहाँ काउब्वाय र रेड इन्डियनजस्ता स्टन्ट दिए । आगो ओकलेर उनले जसरी प्रस्तुति दिए त्यो वास्तवमै प्रशंसायोग्य थियो ।

काठमाडौंका रिकेश श्रेष्ठ, जसले रोडिजका पाँचै सिजनमा अडिसन दिए । अन्ततः यसपटक उनी छनोट भए । ग्याङ लिडरको रुपमा उनले अनुपविक्रमको समूहलाई छाने ।

रिकेशले भने, ‘सिजन वानदेखि नै भाग लिएको हुँ । अहिले म पहिलेभन्दा धेरै बलियो छु । शारीरिक र भावनात्मक रुपमा बलियो छु । अहिलेको सिजनमा सेलेक्ट नभए अर्को सिजनमा पनि आउँछु ।’

दिक्पाल कार्की, जो बेलायती सेनामा भर्ती हुने सपनालाई बीचमै त्यागेर रोडिजको अडिसनमा भाग लिन आएका हुन् । हुम्ला घर भएका उनी पछिल्लो समय लाहुरे बन्न संघर्षरत थिए । ३२ भन्दा बढी अन्तर्राष्ट्रिय गेमबाट नौवटा स्वर्ण पदक जितेका उनी अब रोडिजको लाहुरे बन्न चाहन्छन् । उनले अनुपविक्रमको ग्याङ रोजे ।

मोटो भ्लगरका रहेका एक प्रतिस्पर्धी रोडिज ५ को सिजनमा छनोट हुने पहिलो प्रतिस्पर्धी बने । ‘ब्रिटिश आर्मी नबने पनि रोडिजको आर्मी बन्छु भनेर यहाँ आएको हुँ,’ उनले भने । यामाहाको बाइक जितेको खण्डमा कसरी गर्लफ्रेन्डसँग सेलिब्रेसन गर्ने भन्ने टास्क पनि उनलाई दिइएको थियो । उनले अन्य शारीरिक टास्क पनि सम्पन्न गरे । उनले लाउरेको टिमलाई छनोट गरे ।

आफूलाई किसानको छोराको रुपमा चिनाउने अर्का एक प्रतिस्पर्धीले पनि दिएका टास्क सजिलैसँग पूरा गरे । उनले दीया मास्केको समूह छनोट गरे । यशु खड्का भारतको हरियाणाबाट रोडिजमा भाग लिन आइपुगेका छन् । उनी पेशाले किक बक्सिङको राष्ट्रिय खेलाडी हुन् । उनले पनि आकर्षक र बिना दबाब दिएका टास्क पूरा गरे । उनले दीया मास्केको टिम रोजे ।

सांकिन नामक युवती पत्रकारिताकी विद्यार्थी पनि हुन् । उनले कलेजमा भोगेको दुर्व्यवहारको क्षण सेयर गरिन् । उक्त क्षणले आफूलाई शारीरिक र मानसिक रुपमा बलियो हुन प्रेरित गरेकाले आफू रोडिजमा आएको उनले सुनाइन् ।

प्रवीण रानामगर पेशाले मोडल र फिटनेस कोच हुन् । उनले पुरुष सौन्दर्य प्रतियोगिता म्यानहन्टमा भाग लिएका थिए । उनले पनि प्रभावशाली प्रस्तुति दिंदै रोडिजमा छनोट भए । उनी लाउरेको टिममा जोडिए ।

हिमालय रोडिज प्रत्येक सोमबार बेलुका ८ बजे हिमालय टिभी एचडीमा प्रसारण हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?