+
+

भरतपुरले देखाएको शहरी विकासको तस्वीर

हामीकहाँ उपलब्ध विकासका योजना बजारका प्याकेज्ड फुड जस्तै हानिकारक छन्। बजारिया विकासले निम्त्याउने दीर्घकालीन रोग भने यो पंक्तिकारको पुस्ताले मज्जाले झेल्नुपर्ने नै छ।

ई. प्रविण काफ्ले ई. प्रविण काफ्ले
२०८० साउन १७ गते ७:१४

‘पहिल्यैदेखि अलि बढी रक्सी पिउँथ्यो, पटक–पटक आफैं सुधार केन्द्र जाने-आउने गर्थ्यो। तर यसपटक त मदिरा सेवन अत्यधिक नै भएछ क्यार, बिहान अस्पतालमै बितेछ।’

मानिसहरू एकापसमा कुरा गर्दै थिए। गाउँका एक काका अचानक बिते। बिसञ्चो भएकोले बुवाले बिहानै मलाई पठाउनुभयो र म देवघाट पुगेको थिएँ।

पंक्तिकारलाई व्यक्तिगत रूपमा किन किन उत्सवमा भन्दा घाटमा जान सहज लाग्छ। यसका केही कारण छन्। पहिलो, देवघाट निकै सुन्दर, शान्त, शीतल अनि दिलचस्पी लाग्छ। दोस्रो, मलामी जान चिटिक्क पर्नुपर्दैन, तयारी गर्नुपर्दैन। के लगाएको छु, कुन मुद्रामा छु भन्ने खासै लेखाजोखा हुँदैन। दाह्री, कपाल मिलाउनुपर्दैन। दु:खको क्षणमा कसैले आफ्नो सम्पत्ति वा सफलताको धाक लगाउँदैन।

मृत्यु देख्दै गर्दा गरिबी वा असफलताको दु:ख सितिमिति पोख्दैन। विदेशका छोराछोरीका फुर्ती लगाउँदैन। गुनासो, वेदना पोख्दैन। मानिसले जीवनको गहिरो रूपमा अनुभूति र समीक्षा गर्छ। त्यसैले लेखक जतिपटक देवघाट मलामी गएको छ, केही भिन्न र गहिरोपन आफूमा पाएको छ। यसअर्थमा घाटसम्मको यात्रा समानुभूति, जीवन र दर्शनको महायात्रा हो।

५१ वर्षमै बितेर गएका निकै हँसिला र ऊर्जावान व्यवसायी काकालाई सम्झँदै श्रद्धाञ्जलि दिएर घर फर्किएँ। देशको आर्थिक अवस्था र राजनीतिक व्यवस्थाको मारले काकालाई व्यावसायिक असफलतातिर धकेल्यो। यही पीरले पो घाटमा पुर्‍यायो कि भन्ने शंका भने यथावत् थियो। तर सँगसँगै जीवन बहुत कठिन यात्रा हो। हेक्का राखेर बाँच्न जान्नुपर्छ भन्ने बोध भयो।

ई. प्रविण काफ्ले

कसैको मृत्यु हुनु र पीडा हुनु भनेको हाम्रा लागि अस्तित्व बोकेको, महत्व राखेको व्यक्ति वा संस्था हामीबाट सदाका लागि हराउनु हो। त्यसको अभावले हाम्रो जीवनमा ठूलो खाडल सिर्जना हुन्छ। खाडलको आकारले त्यो व्यक्ति वा संस्थाको उपस्थितिको मूल्य हाम्रा लागि कति थियो भन्ने देखाउँछ। त्यसैले हामीले जीवनभर त्यो खाडलसँग संघर्ष गरिरहन्छौं।

सायद नेतृत्वको हकमा पनि यही हुँदो हो। जसले हाम्रो मुटुमा जति स्थान ओगट्छ, त्यति हामी उसको अस्तित्वको अभाव महसुस गर्दछौं। जीवनको मूल सार यही नै हो।

देवघाटबाट घर फर्किरहेको थिएँ। १५ मिनेटको बाटोमा दोब्बर समय लागिरहेको थियो।

हिजो–आज भरतपुरका थुप्रै सडक कालोपत्रे भएका छन्। स्तरोन्नति भएका छन्। विगत ६ वर्षदेखि महानगरले शहरी सौन्दर्यकरणलाई मूल प्राथमिकतामा राखेको छ। अझ भनौं एकल प्रतिष्ठाको विषय नै बनाएको छ।

सडक बन्ने र छेउछाउ भत्कने क्रम बढ्दो छ। सडक फराकिलो बनाउँदै पछि पेटी, विद्युत्, खानेपानी पाइपका लागि खन्ने र अलपत्र छोड्ने अभ्यास त संस्कृति नै बनेको छ। काममा ढिलाइ हुनाले धुलो, हिलो सामान्य जस्तो भएको छ। धुलो, हिलो छल्दै देवघाट-बाइपास-मालपोत हुँदै चौबिसकोठीतर्फ गइरहेको थिएँ।

जिल्ला प्रशासन कार्यालय आइपुगेपछि मेरा आँखा अचानक एउटा मानिसमा ठोक्किए। उक्त दृश्यले मलाई एकछिन तिरीमिरी झ्याइँ बनायो।

एकजना व्यक्ति ह्विलचेयरमा सडकको करिब बीच-बीच बाटो हुँदै गुडिरहेका थिए। मोटरबाइक र चारपाङ्ग्रे सवारी साधनहरू नजिकैबाट बत्तिएका थिए। चितवनमा दिनको ११:३० को ढाड पोल्ने चर्को घाम थियो। असिन-पसिन भएर उनी आफ्नै रफ्तारमा असुरक्षित हुँदै गुडिरहेका देखिन्थे। यस्तो लाग्थ्यो कि उनी सार्वजनिक कार्यालयको कामले यात्रा गर्दै थिए।

अब भने जिल्ला प्रशासन कार्यालयदेखि चौबिसकोठीसम्मको यात्रामा हाम्रोबीच केही संवाद हुने भयो। अलिकति अगाडि गएर रोकिएँ। मनभित्र अनगिन्ती प्रश्नहरू उब्जिएका थिए।

एकैछिनमा उनी नजिकै आइपुगेपछि केही सामान्य परिचय भयो। अनुरोधपछि केही तस्बिर पनि लिएँ।

सडक छेउमा कृष्णकुमार दास ‘पृथ्वी’।

शिक्षण पेशामा रहेका उनी रहेछन् ४५ वर्षीय रामकुमार दास ‘पृथ्वी’।

मैले भनें, ‘एउटा लेख लेख्दैछु। हजुरले भोगेको कुरा भन्नुस्।’

उत्तर सकारात्मक आएपछि पहिलो र अन्तिम प्रश्न राखें:

पहिलो प्रश्नः तपाईं अहिले भरतपुर महानगरको मुटुमा हुनुहुन्छ, महानगर नेपालको सडकको ‘राजधानी’ नै भन्दा फरक पर्दैन। सडक अशक्तता-मैत्री नहुँदा कस्तो सास्ती भएको छ ?

अन्तिम प्रश्नः अनि किन छेउ छोडेर सडकको बीचबाट गुड्नुभएको ?

उनले अलि अप्ठ्यारो मानी सीधै भने, ‘अदालत पनि उस्तै, १/२ नयाँ भवन बाहेक सबै उस्तै छन्। धेरै दु:ख छ। हामीले धेरै ठाउँमा बोलेका छौं। भवनका माथिल्ला तला चढ्न २/४ जनाले बोक्नु नै पर्छ। चर्पी जाँदा उस्तै आपत् पर्छ। चुनावताका राजनीतिक दलहरूलाई सचेत गराएका पनि हौं।’

सडक स्लोप भएपछि करिब करिब बीच बाटोबाट गुड्दै।

सडकको बीचमा गुड्नुपर्ने कारण देखाउँदै उनले भने, ‘सडक दायाँबायाँ स्लोपमा निर्माण हुने हुँदा छेउबाट गुड्न निकै कठिनाइ हुन्छ। हामीलाई ‘सम्म’ बाटोमा गुड्न सजिलो हुन्छ। एकतर्फी हातमा बल बढी परेर यस्तो ठेला उठेको छ, अन्य शारीरिक अशक्तता भएका व्यक्तिको हकमा पनि उस्तै समस्या छ।’ उनले आफ्नो ठेला उठेको हात देखाए।

उनको मुहारको भाव पढें र सास्ती सुनें। मन निकै अमिलो भयो। खासै बोल्न मन लागेन। अभिवादन गरी उनको पछि-पछि चौबिसकोठीहुँदै आफ्नो घरतर्फ लागेँ।

स्लोप र खस्रो सडकले गर्दा हातमा उठेका ठेला देखाउँदै।
चौबिसकोठीबाट सडक पार गर्दै गर्दाको दृश्य।

अब यहाँनेर एउटा शक्तिशाली प्रश्न हामीसामु तेर्सिन्छ। समाजमा सामाजिक न्याय कहाँ छ ?

यो देशमा लोकतन्त्र आएको पनि करिब १७ वर्ष बढी हुन लाग्यो। यही बीचमा नेपालको संविधान बन्यो। थुप्रै निर्वाचन भए। केन्द्रीय, प्रादेशिक तथा स्थानीय सरकारहरू बने। संविधानमा मानवअधिकार, समावेशिता, सामाजिक न्याय र नागरिकका आधारभूत हकअधिकारका विषय सुनिश्चित गरिएका छन्।

मोटरका बीच असुरक्षित यात्रा गर्दै गर्दा चौबिसकोठीमा।

तर आजसम्म पनि शारीरिक अशक्तता भएका नागरिकलाई केन्द्रमा राखी विकासका योजनाहरू अगाडि बढाइएका सीमित मात्र योजना छन्। सामाजिक सुरक्षा-भत्ता सरकारले खर्च गर्छ तर निर्माण भएका पूर्वाधारहरू शारीरिक अशक्तता भएका नागरिकका लागि प्रयोगमा आउन सकेका छैनन्। किनकि हाम्रा पूर्वाधारहरू मुख्य रूपमा सडक संजाल नै अपाङ्गमैत्री छैनन्। अपवाद बाहेक सबै क्षेत्रमा उस्तै अवस्था छ। हाम्रा सडकहरू अशक्तता-मैत्री छैनन् मात्र होइन अझ अधिकांश सरकारी भवनहरू पनि अशक्तता-मैत्री छैनन्।

पुराना होटल तथा अस्पतालहरू उस्तै छन्। सबैभन्दा ठूलो कुरा समाज मानसिक रूपमा अझै पूर्ण रूपमा सचेत छैन। मनोवैज्ञानिक रूपमा अझै अशक्तता-मैत्री भइसकेको छैन। प्रमुख राजनीतिक दलहरूभित्र अशक्तता-मैत्री राज्यको स्पष्ट खाका छैन। निजी क्षेत्रसँग आवश्यक समन्वय गर्न सकेको छैन। यसो भन्दै गर्दै हालसालै बन्दै गरेका होटलहरू, भवनहरू केहीले भने अशक्तता-मैत्री बनाउन निकै मिहिनेत गरिरहेका छन् जुन खुशीको विषय हो।

राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजा अनुसार नेपालमा कुल जनसंख्याको कुल २.२ प्रतिशत नागरिकमा कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ। यो जनसंख्या ६ लाख ४७ हजार ७४४ छ जसमा महिला २ लाख ९६ हजार ४४३ र पुरुष ३ लाख ५१ हजार ३०१ रहेको छ।

२०५८ देखि २०७८ सम्म आइपुग्दा नेपालमा अपाङ्गता भएका नागरिकको प्रतिशत कुल जनसंख्याको अनुपातमा ०.४६ प्रतिशतबाट २.२ प्रतिशत पुगेको छ। यसमा खासगरी दशक लामो माओवादी विद्रोह र बढ्दो सवारी दुर्घटना जिम्मेवार छन्।

स्रोत: राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजा

माथि प्रस्तुत पाई चार्टमा नेपालमा रहेका अशक्तताको प्रकार र संख्या उल्लेख छ। यो विषय हामी वैकल्पिक राजनीतिको वकालत गर्नेहरूका लागि निकै पेचिलो मुद्दा हो।

संसारभर मानव भर्सेस आर्टिफिसिअल इन्टेलिजेन्सको बहस चलिरहँदा, घर आएर च्याट जीपीटीलाई विश्वमा ह्विलचेयर अनुकूल शहरहरूको नाम सोधें। तत्कालै जीपीटीले ७ प्रमुख शहरहरूको नाम बतायो— भ्यानकुभर- क्यानाडा, स्टकहोम- स्वीडेन, लण्डन- बेलायत, सिड्नी- अस्ट्रेलिया, न्यूयोर्क सिटी- अमेरिका, टोक्यो- जापान, बर्सिलोना- स्पेन।

हुन त हिजोआज यी प्रमुख शहरहरूलाई पनि अशक्तता-मैत्री बनाउन/कायम राख्न निकै सकस पर्छ होला तर सरकारको गम्भीरता र प्राथमिकताले गर्दा नै यिनीहरू आज विश्वका उदाहरणीय शहरहरू बनेका हुन्। त्यहाँका नागरिक र निकायहरूको उल्लेखनीय भूमिकाले नै यो सम्भव भएको हो।

खासमा विकास भनेकै सबै नागरिकको सहभागिताका साथ गरिने सकारात्मक कार्यहरू नै हुन्। सामाजिक एकताका भावना हुन्। जहाँकहीं नागरिकको भावना र वेदना नबुझी सहभागिता र आवश्यकता विना गरिएका एकतर्फी विकासको कुनै खास औचित्य हुँदैनन्। ती एक अर्थमा राज्य-दोहन हुन्। राज्य स्रोतको दुरूपयोग हुन्। अर्को अर्थमा भ्रष्टाचार हुन्।

मनमा प्रश्न उठ्यो: आठौंमा भरतपुर किन हुन सक्दैन ? यो सपना आजसम्म किन नदेखिएको होला ? अथवा सोचिएको भए कुनै न कुनै रूपमा हाम्रो शहर अशक्तता-मैत्री देखिनुपर्ने थियो। आजसम्म पनि यस्तो सास्ती झेल्नुपर्ने थिएन।
विस्तारित वा निर्मित सडक संजालहरू सोही अनुरूप अशक्तता-मैत्री सम्पन्न हुने थिए। भविष्यमुखी शहर डिजाइन हुने गरी नयाँ सडक निर्माण वा पुरानालाई विस्तार गर्न सकिन्थ्यो। सडकमा कैयौं शारीरिक अशक्तता भएका मानिसहरू हाँसी-हाँसी यात्रा गरिरहेको देख्न पाउने थियौं। तर आज ठिक विपरीत अवस्था छ।

आखिर विकास कसका लागि भन्ने विषय पेचिलो बनेको छ। विकासको परिकल्पना समावेशी कोणबाट किन निर्माण हुनसकिरहेको छैन ? आज यो बहसको विषय हो।

स्थानीय चुनावताका एक साथीले पंक्तिकारलाई सोध्नुभएको थियो, ‘तपाईंको विकासको मोडल के हो ?’

मैले हतारिंदै भनेको थिएँ, ‘भरतपुर महानगरलाई विश्वकै नमूना शहर बनाउने।’

हिजो-आज लेखक आफैं अध्ययन गर्ने सिलसिलामै छ। तर हामीले बुझ्नुपर्ने कुरा के हो भने नमूना शहर बनाउन नयाँ दृष्टिकोण र सिर्जनशीलताको चलाखी पनि चाहिन्छ। लेखकलाई लाग्छ भरतपुरलाई यसरी विश्वकै उत्कृष्ट नमूना शहर बनाउन सकिन्छ:

भरतपुरका साना ठूला, भित्री बाहिरी, मूल तथा गल्लीका हरेक सडक अशक्तता-मैत्री हुनुपर्छ, ताकि ह्विलचेयरमा शहर घुम्न सम्भव होस्। अन्य रूपमा शारीरिक अशक्तता/फरक क्षमता भएका मानिसहरू शहरमा निस्फिक्री यात्रा गर्न सकून्।

सार्वजनिक कार्यालय, बैंक, अस्पताल, विद्यालय, पुस्तकालय, पार्क तथा बजार, पर्यटकीय क्षेत्र चारैतिर ह्विलचेयरमैत्री/अपाङ्गतामैत्री चिल्ला र सुरक्षित छुट्टै सडक सतह हुनुपर्छ। सांकेतिक सहायता उपलब्ध हुनुपर्छ ताकि महानगर नेपालभरिकै फरक क्षमता भएका नागरिकको सपनाको शहर होस्। उनीहरू उत्साहित हुँदै भरतपुर घुम्न आउन्, यहाँ काम गर्न लालायित हुन्, तस्विर खिचून्, भिडिओ ब्लग बनाऊन्, खुशी साटून्।

यो खुशी फैलिंदै भरतपुर महानगरलाई विश्वभरिकै ह्विलचेयर प्रयोगकर्ताहरूको प्रमुख गन्तव्यका रूपमा प्रवर्धन गर्न सकियोस्। हस्तकला, कला, साहित्य बौरियोस्। यहाँका बालबालिका समानुभूतिपूर्वक हुर्किन सकून्। पर्यटनबाट वा आर्थिक गतिविधिबाट २/४ पैसा आम्दानी होस्।

भरतपुर मुटुभित्रको शहर बनोस्। प्रेरणाको शहर, स्वतन्त्रताको शहर, मानवताको शहर, कल्पनाको शहर, खुसीको शहर, भावनाको शहर, फरक क्षमता भएकाहरूको शहर- हाम्रो भरतपुर महानगर।

कसैलाई सुन्दा काल्पनिक सुनिएला तर प्राथमिकतामा राख्ने हो भने यस्तो भरतपुर महानगर अवश्य सम्भव छ। अन्य पालिकाहरूमा पनि सम्भव छ नै। भौगोलिक हिसाबले चितवन विराट, समथर उपत्यका भएर वा, विकासोन्मुख भएर मात्रै होइन यो त सचेत नागरिकको बसोबासको केन्द्र पनि हो। देशभरिकै भावना बुन्न सक्ने प्रगतिशील समाज हो। नयाँ विचार, नयाँ विकास, नयाँ दृष्टिकोणको नेतृत्वकर्ता जिल्ला पनि हो। भर्खर–भर्खर विकासको खुट्टा टेक्दै गरेको कुनै पनि शहरका लागि नेतृत्वले चाहे सहजै सम्भव हुने विषय हो।

भरतपुर महानगर प्रमुख रेणु दाहालले सडक विकासलाई प्राथमिकतामा राखेकी छन्। अशक्तता-मैत्री सडक निर्माण उनको जिम्मेवारी हो। कसैलाई गाली वा दोष लगाउन खासै रुचि वा ऊर्जा यस पंक्तिकारलाई छैन तर लेख्नुपर्ने कुरा नैतिक रूपले उनी आबद्ध पार्टी यस विषयमा दुई पाइला अगाडि हुनुपर्ने थियो। तर यथार्थ भने उदेकलाग्दो छ।

दाहालका अनुसार उनको दोस्रो कार्यकालसम्म आइपुग्दा यहाँ करिब ६५० भन्दा बढी किमि सडक कालोपत्रे भइसकेका छन्। तर ती सडकमा गुड्ने ह्विलचेयर प्रयोगकर्ताहरूको पीडा यथावत् छ।

देशभर भ्रष्टाचार, कमिसन र एउटा निर्वाचनदेखि अर्को निर्वाचनसम्मका लागि गरिने नशाग्रस्त विकासले समाजका संवेदनशील मुद्दाहरूलाई नराम्ररी निमोठेको छ। विकासका नाममा बजेट भित्र्याउने चटारो र हतारोले नागरिकलाई पौष्टिक आहारभन्दा गुलिया मिठाइ बाँडिरहेको छ।

हामीकहाँ उपलब्ध विकासका योजना बजारका प्याकेज्ड फुड जस्तै हानिकारक छन्। बजारिया विकासले निम्त्याउने दीर्घकालीन रोग भने यो पंक्तिकारको पुस्ताले मज्जाले झेल्नुपर्ने नै छ।

लेखकले एआईसँग शारीरिक अशक्ततामैत्री सडकहरू कसरी निर्माण गर्न सकिन्छ भनेर सोधेको थियो। उसको जवाफ जस्ताको तस्तै राख्दै विदा हुन्छुः

समाजका सबै सदस्यहरूका लागि पहुँच र समावेशीकरण सुनिश्चित गर्न अशक्तता-मैत्री सडकहरू सिर्जना गर्नु आवश्यक छ। यहाँ केही विचार र सुविधाहरू छन् जुन सडकहरूलाई अधिक अशक्तता-मैत्री बनाउन कार्यान्वयन गर्न सकिन्छ:

१. फुटपाथ र क्रसवाल्क: यो सुनिश्चित गर्नुहोस् कि फुटपाथहरू फराकिलो, राम्रोसँग राखिएको छ र अवरोधहरूबाट मुक्त छन्। क्रसवाल्कसँग पहुँचयोग्य कर्ब र्‍याम्पहरू हुनुपर्दछ, दृश्यात्मक अशक्त व्यक्तिको लागि स्पर्श प्याभिङ र पैदल यात्रीहरूको लागि सुरक्षित रूपमा पार गर्न पर्याप्त समय हुनुपर्दछ।

२. पहुँचयोग्य पेडेस्ट्रियन सिग्नलहरू (एपीएस): दृश्य कमजोरी भएका व्यक्तिहरूको लागि ट्राफिक संकेतहरूको बारेमा श्रव्य र स्पर्श जानकारी प्रदान गर्न चौराहाहरूमा एपीएस स्थापना गर्नुहोस्।

३. कर्ब कट्स र र्‍याम्पहरू: सबै चौराहाहरूमा कर्ब कटौती समावेश गर्नुहोस् र ह्विलचेयर प्रयोगकर्ताहरू र गतिशील अशक्तता भएका व्यक्तिहरूलाई सडक र फुटपाथको बीचमा स्वतन्त्र रूपमा सार्न अनुमति दिन फुटपाथ किनारहरूमा र्‍याम्पहरू प्रदान गर्नुहोस्।

४. सार्वजनिक यातायात पहुँच: सुनिश्चित गर्नुहोस् कि सार्वजनिक यातायात स्टपहरूको उचित र्‍याम्पहरू, लिफ्टहरू, वा ह्विलचेयर प्रयोगकर्ताहरूको लागि बसहरू र रेलहरूमा सजिलैसँग चढ्न लिफ्टहरू छन्। दृश्य कमजोरी वा संज्ञानात्मक अशक्तता भएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउन उच्च कन्ट्रास्टको साथ स्पष्ट र सजिलो पढ्न योग्य संकेतहरू प्रयोग गर्नुहोस्।

५. चिल्ला प्याभमेन्ट: ह्विलचेयर, वाकर वा अन्य गतिशीलता एड्स प्रयोग गर्ने व्यक्तिहरूको लागि आरामसँग सार्न सजिलो बनाउनको लागि चिल्लो सडक सतहहरू राख्नुहोस्।

६. ट्राफिक शान्त उपायहरू: सवारी साधनहरूको गति कम गर्न गति बम्पहरू र राउन्डअबाउट्स जस्ता ट्राफिक शान्त उपायहरू लागू गर्नुहोस्, पैदल यात्रीहरूका लागि सडकहरू सुरक्षित बनाउँदै।

७. पार्किङ स्पेस: सार्वजनिक भवन, सुविधा र अन्य रुचिहरूको बिन्दुको नजिक ह्विलचेयर प्रयोगकर्ताहरूको लागि पर्याप्त ठाउँको साथ पहुँचयोग्य पार्किङ्ग स्पेस खाली ठाउँहरू डिजाइन र लागू गर्नुहोस्।

८. साइकल लेन र साझा पथहरू: छुट्टै साइकल लेन र साझा मार्गहरू सिर्जना गर्नुहोस्, पैदल यात्रीहरू, साइकल चालक र अन्य सडक प्रयोगकर्ताहरू बीचको द्वन्द्वबाट बच्न स्पष्ट रूपमा चिह्नित गर्नुहोस्।

९. सार्वजनिक शौचालयहरू: अपाङ्गता भएका व्यक्तिहरूलाई समायोजन गर्न पैदल यात्री मार्ग, पार्क, र मनोरन्जन क्षेत्रहरूको साथ पहुँचयोग्य सार्वजनिक शौचालयहरू स्थापना गर्नुहोस्।

१०. सडक प्रकाश: पैदल यात्रीहरूका लागि दृश्य बढाउन राम्रोसँग जलाइएको सडकहरू सुनिश्चित गर्नुहोस्, विशेषगरी कम दृष्टि भएकाहरू।

११. ह्विलचेयर-पहुँचयोग्य सार्वजनिक यातायात स्टपहरू: डिजाइन बस स्टपहरू र आश्रयहरू जुन अशक्त मानिसहरूका लागि पहुँचयोग्य छन्, ह्विलचेयरहरू र बस्ने विकल्पहरूको लागि पर्याप्त ठाउँको साथ।

१२. हरियो स्पेस र सिट गर्ने क्षेत्रहरू: पैदल यात्रीहरूका लागि आराम गर्न र ब्रेक लिनका लागि हरिया बस्ने ठाउँहरूको व्यवस्था गर्नुहोस्।

१३. सामुदायिक संलग्नता: स्थानीय अशक्तता वकालत समूहहरू र अशक्तता भएका व्यक्तिहरूसँग सडक पहुँच सुधार गर्ने प्रतिक्रिया र अन्तरदृष्टि जम्मा गर्न संलग्न गर्नुहोस्।

१४. शिक्षा र जागरूकता: अशक्तता-मैत्री सडक अभ्यास र पहुँच दिशानिर्देशहरूको सम्मान गर्ने महत्त्वको बारेमा आम मानिस, सार्वजनिक यातायात र अन्य सवारीका चालकहरू बीच चेतना जगाउनुहोस्।

१५. आपतकालीन पहुँच: सुनिश्चित गर्नुहोस् आपतकालीन पहुँच पोइन्टहरू राम्रोसँग चिह्नित गरिएको छ र खाली ठाउँ वा आपतकालको समयमा अशक्तता भएका व्यक्तिहरूलाई समायोजन गर्न डिजाइन गरिएको हो।

१६. बहु-सेन्सोरी पेडेस्ट्रियन संकेतहरू: विभिन्न संवेदी आवश्यकताहरू भएका व्यक्तिहरूको लागि क्रसवाल्कमा स्पर्श, श्रव्य र दृश्य पैदल यात्री संकेतहरू समावेश गर्नुहोस्।

१७. स्मार्ट टेक्नोलोजी एकीकरण: पैदल यात्री अनुगमन गर्न स्मार्ट शहर टेक्नोलोजी लागू गर्नुहोस् र तदनुसार ट्राफिक सचेतना केन्द्रहरू समायोजित गर्नुहोस्, आवश्यक परेको बेला थप क्रसिङ समय प्रदान गर्नुहोस्।
यी अशक्तता-मैत्री सडक सम्बन्धी विचार कार्यान्वयन गरेर, हामी समुदायमा सबैको लागि अधिक समावेशी र पहुँचयोग्य वातावरण सिर्जना गर्न सक्दछौं। यी पहलहरूको सफल कार्यान्वयन सुनिश्चित गर्न शहर योजनाकार, सरकारी अधिकारी, अशक्तता वकालत समूह र जनताबीचको सहकार्य महत्त्वपूर्ण छ।

(स्थानीय निर्वाचन २०७९ मा भरतपुर महानगरपालिका प्रमुखको प्रत्यासी रहेका लेखक युवा नेता हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?