
१६ साउन, जनकपुरधाम । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महोत्तरीको मटिहानी नगरपालिकामा ११० फिट अग्लो राष्ट्रिय झण्डा अनावरण गरेका छन् ।
मंगलबार मटिहानी–७ स्थित तस्मैयाबाबा उद्यानमा निर्मित ११० फिट अग्लो पोलमा राखिएको झण्डा यादवले फहराएका हुन् । झण्डा उद्घाटन गर्दै उपराष्ट्रपति यादवले राष्ट्रध्वजा स्थापना गरी यहाँका जनताले राष्ट्रप्रति उच्च अपनत्व देखाएको बताए ।
तराई–मधेश सुख्खा क्षेत्रमा परिणत भएकोमा चिन्ता व्यक्त गर्दै उपराष्ट्रपति यादवले किसानले ठूलो समस्याको सामना गर्नुपरेकोमा चिन्ता व्यक्त गरे । यस्तो अवस्थामा संवेदनशील भई समस्याको समाधान गर्नु सरकारको दायित्व भएको उनको भनाइ थियो ।
झण्डा उद्घाटन कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य लगायतको उपस्थिति रहेको थियो ।
समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा देखिएका सिंचाइ र खानेपानीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
यसको लागि आवश्यक कदम अघि बढाइएको र चाँडै नै यसको परिणाम देखिने मुख्यमन्त्री यादवले बताए ।
प्रतिक्रिया 4