+
+

माओवादी केन्द्रीय सदस्यहरुले खाने–बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने, खाजा–पानी पार्टीले दिने

करिब २० लाख खर्च हुने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते ७:५५
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले बैठक अवधिभर खाने बस्ने व्यवस्था आफैं मिलाउनु पर्ने भएको छ । खाजा, पानी र स्टेशनरीको व्यवस्था भने पार्टीले गर्नेछ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजेदेखि काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । बैठक पाँच  दिनसम्म चल्ने छ । नेकपा माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठक अवधिभर बैठकमा सहभागीहरुले खाने–बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने बताए ।

बैठक हलको भाडा, मञ्च व्यवस्थापन, केन्द्रीय सदस्यहरुलाई खाजा, पानी, स्टेशनरी, झण्डा, ब्यानर लगायत बैठक व्यवस्थापनका काममा करिब २० लाख खर्च हुने अनुमान माओवादी केन्द्रले गरेको छ । प्रज्ञा भवनको ठूलो हल बुकिङका लागि मात्रै १० लाख भुक्तानी गरिएको केन्द्रीय कार्यालय स्रोतले बतायो ।

बैठकमा हुने खर्च पार्टीका नेता–कार्यकर्ताहरुको लेबी र केन्द्रीय सदस्यहरुको प्रवेश शुल्कबाट व्यवस्थापन गर्ने माओवादीले जनाएको छ । केन्द्रीय समिति बैठकमा सहभागीहरुलाई जनही पाँच सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ जना वैकल्पिक केन्द्रीय सदस्य, ७५ जना केन्द्रीय आयोगका सदस्य र १०० जना प्रदेश पदाधिकारी गरी जम्मा ७५८ जना सहभागी हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै विचार मिल्ने पार्टीसँग एकता गर्ने लगायतका विषयमा छलफल हुने छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । त्यसअघि महासचिव देवप्रसाद गुरुङले बैठकका एजेण्डाबारे जानकारी गराउने छन् ।

बैठक सामाजिक सन्जालबाट लाइभ गर्ने माओवादीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?