
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखी डिप्रोक्स नेपालले सञ्चालन गर्नेे कार्यक्रममा बैंकको सहभागिता रहनेछ ।
त्यस्तै, परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम–पूर्व जिल्लाहरुको शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबाङ्ग; भूमे र पुथाउत्तरगंगा गरी ८ स्थानीय तहहरुमा बेलायत स्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रमा पनि बैंकको सहभागिता हुनेछ ।
बैंकसँगको सहकार्यमा हुने डिजिटल कारोबारले लक्षित समुदायको समय, श्रम र खर्चमा बचत हुने विश्वास छ । यस परियोजनामा आवद्ध घरधुरीहरु तरकारी, दुग्ध उत्पादन, ओखर, सुन्तला खेती र बाख्रापालन व्यवसायमा संलग्न छन् ।
परियोजनामा आवद्ध ५ हजार ५०० घरधुरी मध्ये ८० प्रतिशत सहभागीहरु महिला हुनेछन् भने बाँकी २० प्रतिशत विभिन्न सीमान्तकृत परिवारबाट हुनेछन् । यसै भित्रबाट ३ प्रतिशत समुदाय अपाङ्गता भएका घरपरिवार पनि हुने हुँदा परियोजनाले लक्ष्यित समुदायमा समावेशी वित्तीय पहुँच स्थापित हुने विश्वास बैंकले लिएको छ ।
ती क्रियाकलापमा सहजीकरण गर्न परियोजनाले ८० जना महिला डिजिटल च्याम्पियनहरु परिचालन गरी बैंकसँगको सहकार्यमा वित्तीय शिक्षा, डिजिटल साक्षरता, महिला सशक्तीकरणका तालिम सञ्चालन गरी मोबाइल बैकिङ, डिजिटल बैंकिङ, कृषि ऋण र समावेशी वित्तीय पहुँचका लागि योगदान हुने विश्वास बैंकले लिएको छ ।
बैंकले समय सापेक्ष रूपमा विभिन्न संघ–संस्थाहरुसँग यस किसिमका सम्झौताहरू गरी आर्थिक गतिविधिहरुमा आफ्नो अग्रसरता जनाउँदै आएको छ ।
प्रतिक्रिया 4