+
+

मणिपुर र हरियाणाको हिंसाले गिज्याइरहेको भाजपाको ‘डबल ‘इन्जिन’ सरकार

एजेन्सी एजेन्सी
२०८० साउन १८ गते १२:५५

विभिन्न राज्यमा भएका चुनावी भाषणका क्रममा मोदी भन्थे-‘केन्द्रमा मात्रै होइन हरेक प्रदेशमा भाजपा नेतृत्वको सरकार बनेपछि सरकारको डबल इन्जिन हुनेछ । डबल इन्जिनको मतलब काममा दोहोरो गति । असल शासनमा दोहोरो प्रगति । केन्द्रसँगै प्रदेशको पनि दोहोरो रफ्तारमा उन्नति ।’

तर मणिपुर र हरियाणामा मच्चिएको हिंसाले भाजपाले अघि सारेको दोहोरो इन्जिन भएको सरकारको नीतिलाई गिज्याइरहेको टिप्पणी हुन थालेको छ । मेदेखि मणिपुर अशान्त रहेको बेला दिल्ली नजिकैको हरियाणामा पनि सोमाबार धार्मिक दंगा भड्किएको छ ।

हरियाणाको नुहुमा धार्मिक अनुष्ठान जारी रहेको समयमा भीडले एक्कासी आक्रमण गर्दा हिंसा भड्किएको हो । यो आक्रमणको विरोध गर्दै विश्व हिन्दु परिषद् र बजरंग दलले प्रदर्शन गरेका छन् । विभिन्न स्थानमा झडप हुँदा ६ जनाको ज्यान गएको छ भने ६० जना भन्दा बढी घाइते भएका छन् ।

हिन्दु धार्मिक अनुष्ठानमा आक्रमण भएसँगै आक्रोशित जमातले मध्यरातमा त्यहाँ रहेको मस्जिदमा आगजनी गरेको छ । घटनापछि हरियाणाको सुरक्षामा निकै कडाइ गरिएको छ भने बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हिंसा भएको राज्य मणिपुरमा ऐन विरेन सिंह र हरियाणामा मनोहरलाल खत्तरको नेतृत्वमा सरकार छ । मोदीले व्याख्या गरेझैँ डबल इन्जिनकै रुपमा सरकारले काम गर्थ्यो भने मणिपुर हालसम्म सामान्य स्थितिमा फर्किन्थ्यो भने हरियाणाको दंगाले त्यति उग्र रूप सायदै लिनेथियो । डबल इन्जिन सरकारको कुरा गरेपनि मणिपुर र हरियाणा दुबैमा भाजपाले प्रशासनिक कमजोरी र चरम लापरबाहीको आरोपको सामना गरिरहेको छ ।

भाजपाका मुख्यमन्त्रीहरु हिंसा साम्यका लागि असफल भएकाले नेतृत्व परिवर्तन हुनुपर्ने जोडदार माग प्रतिपक्षी दलहरुको छ । भाजपाले पनि आफ्नो पार्टीको कुनै पनि कमजोरीलाई अस्वीकार गर्दै तिनै मुख्यमन्त्रीहरुको बचाउ गरिरहेको छ । मणिपुर र हरियाणा दुबैमा नेतृत्व परिवर्तन नहुने र अशान्त राज्यलाई शान्त पार्ने भाजपाले बताएको छ।

मणिपुरमा भड्किएको जातीय हिंसामा भाजपाकै मुख्यमन्त्री ऐन विरेन सिंह कारक रहेको बताइन्छ । अफिम नष्ट गर्ने बहानामा उनले कुकी समुदायलाई निशानामा राखेकाले हिंसा भड्किएको आक्षेपको सामना उनले गरिरहेका छन् ।

मणिपुरमा दुई जातीय समूह मेइती र कुकी समुदायबीच हिंसा मच्चिएको हो । मुख्यमन्त्री सिंह स्वयं मेइती समुदायका हुन् । आफू नेतृत्वको सरकार ढाल्ने उद्देश्यसहित अफिम तस्करहरुले मणिपुरमा हिंसा मच्चाएको आरोप भाजपाले लगाइरहेको छ ।

भाजापाले हरियाणाका मुख्यमन्त्री मनोहरलालको पनि उत्तिकै बचाउ गरेको छ । मुख्यमन्त्रीको बचाउमा उत्रिएको भाजपालाई त्यहाँको सत्ता सहयात्री दल जननायक जनता दलले प्रश्न सोधेको छ, ‘धार्मिक अनुष्ठानमा सहभागीहरुलाई कसरी हतियार उपलब्ध गरायो ?’

यस घटनाको सवालमा प्रधामन्त्री नरेन्द्र मोदीलाई प्रदेश मन्त्री राओ इन्दरजितले संघीय संसदमा पुगेर जानकारी गराएका छन् । भेटमा दुबै समूहले कसरी हतियार ल्याए भन्ने कुरा जाँचबुझ गर्नुपर्ने राय प्रधानमन्त्री दिएको उनले बताएका छन् । ‘धार्मिक अनुष्ठानमा रहेकाहरुलाई आक्रमण कसरी भयो र दुबैतर्फ हतियार थियो । ती हतियार कसरी आयो भन्ने विषयमा अनुसन्धान हुनुपर्छ भन्ने प्रधानमन्त्रीको राय अनुसार अब जाँचबुझ हुनेछ’, उनले भनेका छन् ।

संकटको हल गर्ने क्षमता मुख्मयन्त्री खत्तरमा नभएकाले हिंसाले यति उग्र रुप लिइरहेको आरोप उनीमाथि लागेको छ । हरियाणामा एकपटक मात्रै यस्ता घटना भएका होइनन् ।

मुस्लिम अल्पसंख्यक माथिको आक्रमण होस् वा जाट समुदायमाथिको हिंसा बारम्बार यस्ता गतिविधि भइरहेका छन् । तथापि यस्ता विषयलाई न्युनीकरण गर्नमा मुख्यमन्त्री खत्तरले खासै ध्यान नदिनाले नै फेरि हिंसा सुरु भयो’, भाजपाकै एक कार्यकर्ताले द हिन्दुसँग भनेका छन् ।

प्रतिपक्षी पार्टी राष्ट्रिय जनता दलका सांसद मनोज झाले मणिपुर र हरियाणाको हिंसा भाजपाको विभाजनकारी राजनीतिको नियती भएको बताउँछन् । मोदीले अघि सारेको डबल इन्जिन नीति संघीयताको विरोधी अवधारणा रहेको उनको भनाइ छ।

‘भाजपाको डबल इन्जिन सरकार नीति संघीयता विरोधी अवधारणा हो । ९ वर्षको अवधिमा विभिन्न राज्यमा विभाजनकारी राजनीति देखिएको छ । भाजपाको सरकार भएका राज्यमा अशान्ति बढेको छ’, उनले भने ।

सबैलाई साथमा लिएर विकास गर्ने बताएको भाजापाले मुलुकलाई थप विभाजनतर्फ धकेलेको उनको आरोप छ । डबल इन्जिन सरकार हुँदा असल शासनमा दोहोरो प्रगति हुने बताए पनि मणिपुर घटना साम्य पार्न भाजपा असफल भएको छ ।

यता यस प्रकरणमा मोदी स्वयंले मुख नखुलेपछि प्रतिपक्षी गठबन्धन इण्डियाले उनको मौनता तोड्नका लागि सदनमा अविश्वासको प्रस्ताव दर्ता गरेको छ । दुबै हिंसाबारे मोदीले संसदमार्फत जनतालाई दिने जवाफ भारतले कुरिरहेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?