
१८ साउन, काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले बिहीबारदेखि प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रथमिक सेयर निष्कासन गरी बाँडफाँट गरेसँगै सर्वसाधारणका लागि सेयरमा आवेदन खुला गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुने २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० किन्न साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुने ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको ५ लाख ९ हजार ८४० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई छुट्याएको थियो । तर, आयोजना प्रभावितलाई छुट्याइएको मध्ये ३ लाख ३ हजार ४४ कित्ता सेयर बिक्री भएन ।
यस्तै सर्वासाधारणका लागि जारी पूँजीको ३९ प्रतिशतले हुने १९ लाख ९८ हजार ८२४ कित्ता सेयर निष्कासन गर्ने स्वीकृति पाएको हो । सर्वसाधारणलाई निष्कासन गर्न स्वीकृति पाएकोमध्ये १० प्रतिशतले हुने १ लाख ९८ हजार ८२४ कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै ३९ हजार ७६५ कित्ता सेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
यसरी छुट्याएर बाँकी १६ लाख ५० हजार २३५ कित्तामा आयोजना प्रभावित स्थानीयले आवेदन नदिएको सहित थप गरेर कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन खुला गरेको हो । ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा छिटोमा २२ साउन र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद ३२ साउनसम्म थप हुनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रटिङ नेपालले ‘केयर एनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले दैलेखको नौमुलेमा ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ छ।
प्रतिक्रिया 4