+
+

ओटीपी कोड माग्दै बैंक खाताको रकम चोर्दै

विकास मरहट्टा विकास मरहट्टा
२०८० साउन १८ गते १६:००

१८ साउन, गोरखा । आइतवार दिउँसो चार बजे उनको मोवाइलमा नयाँ नम्बरबाट फोन आयो । उनले फोन उठाइन् ।

फोन गर्ने मान्छेले भन्यो, ‘म एनएमबि बैंकबाट बोलेको, हजुरको खाता पुरानो भएछ रिन्यू गर्नुपर्‍यो, खाता नम्बर भन्नुस् त ।’

बैंककै फोन होला भन्दै गोरखा नगरपालिका–६ पाटेचौरकी ती महिलाले सहजै आफ्नो खाता नम्बर दिइन् ।

खाता नम्बर पाएपछि फोन गर्ने व्यक्तिले भने, ‘तपाईँको मोबाइलमा ओटीपी कोड आउँछ, त्यो नम्बर पठाउनुहोला ।’

केही बेरमा ती महिलाको मोबाइलमा ‘ओटीपी कोड’ आयो र उनले त्यो कोड एसएमएस गर्ने व्यक्तिलाई पठाइन् र फोन गरिन् । तर नम्बर बिजी देखायो ।

त्यसपछि उनले बैंकको अफिसियल नम्वरमा फोन गरेर कोड नम्बर पठाएको छु भनी जानकारी गराइन् ।

बैंकका मान्छेले अलमल पर्दै किन भनेर प्रश्न गरेपछि उनी झसङ्ग भइन् । त्यतिबेलासम्म उनको खातामा रहेको १ लाख ३ हजार ९८० रुपैयाँ गायव भइसकेको थियो ।

‘बंैकको मान्छेसँग फोन भएलगतै म बैंक पुगे,’ उनले भनिन्, ‘बैंक पुगेर हेर्दा मेरो खाताको सबै पैसा झिकेको देखायो ।’

उनको रकम एनएमबि बैंकबाट, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु हुँदै ग्लोबल आईएमई बैंकमा ट्रान्सफर भएको देखिएको उनले बताइन् । उनका अनुसार उक्त रकम अहिले ‘होल्ड’ गर्न लगाइएको छ ।

आफ्नो बैक एकाउण्ड ह्याक गरेर रकम निकालेको भन्दै उनले प्रहरीमा उजुरी समेत दिएकी छन् ।

उनी मात्र होइन अजिरकोट गाउँपालिका–३ लप्सीबोटका एक पुरुष पनि यसरी नै ठगिएका छन् । बैंकबाटै भन्दै फोन गरेर खाता नम्बर मागेपछि उनले पठाए । हिसाब मिलेन भन्दै मोवाइलमा आएको कोड पठाउन भनेपछि उनले पनि त्यसै गरे । केही क्षणमै उनको खातामा भएको सबै रकम सकियो । ‘केहीबेर अघि मात्रै बैंक पुगेर खाताको केही रकम निकालेर ल्याएको थिए,’ उनले भने, ‘फोन गरेर हिसाव मिलेन तपाईँको मोबाइलमा एउटा नम्बर पठाएको छु पठाउनुपर्‍यो भन्यो, मैले होला भनेर पठाइदिए, केहीबेरपछि त खाताको सबै रकम झिकेछ ।’

खातामा रहेको २६ हजार ९५० रुपैयाँ गायव भएको उनले जानकारी दिए । पैसा गायव भएको थाहा पाएपछि उनले बैंकमा फोन गरे । त्यो रकम ज्योती विकास बैंकमा ट्रान्सफर भएको थाहा पाए र प्रहरीमा उजुरी दिए ।

आफूले मोवाइल एप्स प्रयोग नगरेको र चेकबाट मात्रै कारोबार गर्दै आए पनि कोडबाट खाता कसरी ह्याक भयो भन्नेमा उनी अन्यौलमा छन् ।

बैंकमा बुझ्दा ओटीपी कोड दिनु भनेको खाली चेकमा सिग्नेचर गरेर दिनु बराबर हो भनेर सम्झाएको उनी बताउँछन् ।

खाता ह्याक गरेर रकम झिकिएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामाचार जनाको उजुरी परिसकेको छ । गोरखा नगरपालिकाबाट दुई वटा र भीमसेन थापा र अजिरकोट गाउँपालिकाबाट एक÷एक जनाको उजुरी परेको डीएसपी रमेशकुमार श्रेष्ठले बताए । यस्ता घटना बढ्दै गएकाले सजग रहन उनले आग्रह समेत गरेका छन् ।

‘बैंकबाट फोन गरेको भन्दै पहिले खाता नम्बर माग्ने, अनि मोवाइलमा कोड पठाएको छु, मलाई पठाउनु भन्ने अनि कोड आएपछि खातामा भएको सबै रकम झिकेर लाने गरेको पाइएको छ, यसरी नै कसैले फोन गरेमा सतर्क हुनुहोला,’ डीएसपी श्रेष्ठले भने । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?