
१८ साउन, बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति नै आवश्यक पर्ने ताएका छन् ।
बुधबार बुटवलमा आयेजित कार्यक्रममा उनले सरकारले गरिरहेको छानबिनप्रति शंका रहेको बताए । ‘सरकारको हात सफा छैन, यसले न अनुहारको कालो पुछ्न सक्छ, न ऐनाको कालो पुछ्न सक्छ’, ज्ञवालीले भने, ‘त्यसैले सुन तस्करी प्रकरणको सही अनुसन्धान गर्न उच्चस्तरीय छानवीन समिति बनाउनुको विकल्प छैन ।’
सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेताहरुको नाम जोडिए पनि सरकारले अनुसन्धान नगरेको ज्ञवालीले आरोप लगाए ।
मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको टिप्पणी गर्दै उनले अहिले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपरेको उल्लेख गरे ।
‘इतिहासमै पहिलोपटक राजश्वले कर्मचारीलाई तलब खुवाउन पनि नसक्ने अवस्था सिर्जना भएको छ, निर्माण व्यवसायीको काम पूरा भएको ८० अर्ब बढी भुक्तानी दिन सकेको छैन’, नेता ज्ञवालीले भने, ‘तर सरकार र मन्त्रीहरु भने केही नभएको जस्तो गरेर बसिरहेका छन् ।’
सरकारले सीमित व्यापारीलाई मात्रै पोस्न करको दरमा स्वार्थ अनुसार परिमार्जन गर्ने गरेको उनले आरोप लगाए ।
प्रतिक्रिया 4