
१८ साउन, काठमाडौं । साउन २ गते साँझ साढे ५ बजे एक क्विन्टल भन्दा बढी बढी सुन बरामद भयो । त्यसैको पर्सिपल्ट बिहान साढे ११ बजे त्रिभुवन विमानस्थल भन्सारको अध्यागमनबाट चिनियाँ नागरिक लिङ चुवान समातिए ।
चुवान तिनै व्यक्ति हुन्, जो साउन २ गते साँझ बरामद भएको सुन बालुवाटार गोदाममा भरियाबाट बुझेर लाजिम्पाटको गोदामसम्म पुर्याउने गर्थे । उनी सुन तस्करीमा संलग्न भरियाभन्दा माथिल्लो तहका व्यक्ति थिए, उनले सुन बोक्ने भरियालाई चिन्दथे । तस्करीका उपल्लो घेरासँग पनि परिचित थिए ।
तस्करको आफूभन्दा माथिल्लो तहबारे जानकार र गोदामहरु व्यवस्थापनमा संलग्न चुवान नेपाली सुरक्षा प्रणालीलाई छल्दै चीन भाग्ने योजनाका साथ विमानस्थल त पुगे, तर उनको मिसन फत्ते भएन ।
नेपालको अध्यागमनको सुरक्षा प्रणाली कत्तिको प्रभावकारी छ, अन्य तस्करलाई भगाउन सकिन्छ कि सकिन्न भन्ने जाँच्न उनलाई पहिलोपटक विमानस्थल पठाइएको हुन सक्ने अनुमान राजस्व अनुसन्धान विभागका अधिकारीहरुको छ ।
जब लिङ चुवान समातिए, तब दावा छिरिङलगायत काठमाडौंमै रोकिन पुगे । सुन प्रकरणको अनुसन्धान गरिरहेका अधिकृतहरु भन्छन् ‘चुवान नसमातिएको भए सुन प्रकरणको दोस्रो घेरा त सबै छुट्थ्यो नै, तेस्रो घेरासम्म त अनुसन्धानको परिकल्पना नै हुँदैन थियो ।’

अनुसन्धानका क्रममा खुल्दै गएका तथ्यअनुसार तस्करीमा संलग्न चिनियाँ समूहका नाइके दावा छिरिङ र नाइकेहरुले उनलाई भगाउन खोज्नुमा अनुसन्धानको क्रममा उनी नसमातिउन् भनेर नै थियो ।
‘चुवान नसमातिएका भए विमानस्थलसम्म सुन प्रकरणको सूचना नपुगेको भन्दै सबै चिनियाँ एकैपटक उड्ने गरी टिकटको बन्दोबस्त पनि अनुसन्धानको क्रममा खुल्यो’, ती अधिकारी भन्छन् ‘जब चुवान विमानस्थलबाट नियन्त्रणमा आए तस्कर समूह पानीमाथिको माछाजस्तै भए ।’
अनुसन्धान क्रममा खुलेको तथ्यअनुसार नेपालमा सुन बरामद भएपछि हुनसक्ने सम्भावित अनुसन्धानबाट बच्न चिनियाँ तस्करहरुले नेपाल छोड्ने सबै बन्दोबस्ती पूरा गरेका थिए ।
सबैजना एकैपटक विमानस्थल पुग्दा शंका हुने र पक्राउ पर्नसक्ने भन्दै उनीहरुले सबैभन्दा पहिले नेपाली भरियासँग चिनजान भएका चुवानलाई नेपालबाट बाहिर्याउन विमानस्थल पठाएका थिए । चुवान चाइना साउदर्न एयरबाट चीनको छेन्दु उड्दै थिए ।
घरबेटीले खिचेको चुवानको पासपोर्टको फोटो
साँझ साढे ५ बजे सुन समातिएपछि विभाग सबैभन्दा पहिले त्यसको गुणस्तर परीक्षणका लागि दौडियो । सुन अपरेशनलाई फिल्डबाटै परिचालन गरिरहेका विभागका महानिर्देशक नवराज ढुंगानालाई यसपटक सुन मात्रै होइन भरिया र मालिक एकै पटक पक्रनुपर्छ भन्ने हुटहुटी थियो ।
रातिको ११ बजेसम्म सुनको परीक्षणसंगै सुनसंग जोडिएका भरिया तहका केही मान्छे नियन्त्रणमा आइसकेका थिए । ती मानिसलाई विभाग परिसरमा एक निर्देशकले सोधे ‘यो सुन विभागले नसमातेको भए कहाँ लैजान्थ्यौ ?’ कोही बोलेनन् । ती निर्देशकले फेरि ‘सोधे सिधा सिधा बोल्ने कि बोल्न लगाउने ?’ एक जनाले सानो स्वरमा भने ‘बालुवाटारमा एउटा चाइनिजले लिन्थे ।’
त्यसपछि ती निर्देशकले महानिर्देशकलाई रिपोर्टिङ गरे ‘सर बालुवाटार दौडिनुपर्ने भयो ।’ महानिर्देशक नवराज ढुंगानाले आवश्यक सबै तयारीसहित हिँड्न र थप केही परे सम्पर्कमा रहन निर्देशन दिए । सुनसहित बरामद भएको ट्याक्सीमा विभागका केही सशस्त्र प्रहरी र बालुवाटार क्लु दिनेलाई हालेर ती निर्देशक बालुवाटार दौडिए ।
जसले बालुवाटार क्लु दियो तिनले बाटोमा जाँदै गर्दा ठीक लोकेसन दिएनन् भने कुरा पनि चपाउन थाले । ‘कहिले महाजगञ्ज, कहिले चण्डोल त कहिले कता, टिम घुमिरह्यो । उनले ठीक लोकेसन रातिको साढे २ बजे मात्रै दिए’, ती अधिकारीले सुनाए । त्यो थियो बालुवाटारको प्रधानमन्त्री निवास नजिकैको एउटा तीन तले घरको ग्राउण्ड फ्लोरमा एउटा सटर ।
अनुसन्धान टोलीले राति नै घरबेटीलाई तत्काल उठाएर सोध्यो, ‘यो सटरमा केछ ? घरबेटीले जवाफ दिए थाहा छैन ? यो कसले भाडामा लिएको हो ? निर्देशकले पुनः प्रश्न गरे- घरबेटीले भने- चाइनिज हो । निर्देशकले फेरि सोधे, चिन्नु हुन्छ ? घरबेटीले भने चिन्दिनँ । नचिनेको मान्छेलाई घर भाडामा दिने ? कुनै सम्झौता छैन ? निर्देशक कड्किए । घरबेटीले केही नभएको सुनाए ।
निर्देशकले विमानस्थलमा ठूलो परिमाणमा सुन भेटिएको र तस्करीको सुन यहाँ राख्ने गरिएको पाइयो । तपाईं पनि हामीसँग विभाग हिंड्नुस् । रातिको २ बजे पक्राउ पर्ने भएपछि आत्तिएका घरबेटीले कोठा भाडामा लिने चाइनिजको पासपोर्टको फोटो खिचेको भन्दै अडानबाट गले ।
घरबेटी बाबुलाल डंगोलबाट लिएको पासपोर्टको फोटो ती निर्देशकले महानिर्देशक नवराज ढुंगानालाई फरवार्ड गरेर भने, ‘यसलाई तत्काल ब्लक गर्नुपर्यो ।’ महानिर्देशकले जवाफ फर्काए ‘डन ! गो अहेड ।’
टोलीले राति नै सो सटर सिल गर्यो । र बोलाएको बेला विभागमा हाजिर हुने शर्तमा घरबेटीलाई छोडेर विभाग फर्कियो । यतिबेला रातिको साढे ३ बजिसकेको थियो ।
विभागका अनुसन्धान अधिकारीहरुका अनुसार यतिबेलासम्म तस्करीको यती ठूलो घटनाबारे सर्वसाधारणलाई जानकारी थिएन । सुनबारे केही भरिया पक्राउ परेका थिए । सुन लैजाने एउटा गोदाम फेला परेको थियो र सुन लिने चाइनिजको पासपोर्टको फोटो पनि । बिहान भइसकेका कारण विभागको टोलीका कोही सुतेनन् । ३ साउनको दिन बिहानैदेखि फेरि तस्करीमा संलग्नको खोजी र अपरेसन पुनः सुरु भयो ।
दिनभरको अपरेसन सुन ल्याउने कम्पनीका सञ्चालक दीलिप भुजेल, उनलाई कम्पनी खोल्न सघाउने मामा रामकुमार भुजेल र मामालाई सघाउने तिब्बतियन नागरिक थुप्तेन छिरिङ पक्राउ परे । साँझ सुन समातिएको कुरा मिडियामा चुहियो ।
प्रधानमन्त्रीसँग प्रत्यक्ष रिपोर्टिङमा रहेको विभाग चाहन्थ्यो सुन प्रकरणका मुख्य अभियुक्त पक्राउ गरेर मात्रै कुरा बाहिर जाओस् । मिडियामा सूचना चुहिएपछि संलग्नहरु भाग्नसक्ने डर थियो ।
चिनियाँसम्म पुग्न क्लु बनेका चुवान
४ साउनको बिहानैदेखि विमानस्थलबाट एक क्वीन्टल सुन छिरेको विषयले देश तरङ्गित बन्यो । विभागमाथि सफलतासँगै थप संलग्नहरु पक्राउ पर्लान् कि नपर्लान् भन्ने दबाब पनि थियो । तर, साढे ११ बजे चीनको छेन्दुका लागि उड्न लागेका चिनियाँ नागरिक आइपुगेको जानकारी अध्यागमन विभागले राजस्वलाई पठायो ।
विभागका महानिर्देशक नवराज ढुंगानाले मध्यरात मै आफ्ना निर्देशकले पठाएको पासपोर्टको फोटो अध्यागमनमा पठाएर ब्लक गर्न भनेका रहेछन् । सोही आधारमा लिङ चुवानलाई पक्राउ गरेर विभागमा ल्याइयो । ‘मध्यरात बालुवाटार नजाउँ कि भन्ने पनि थियो’, ती अनुसन्धान अधिकृत सम्झन्छन् ‘तर, नगएको भए सुन तस्करी प्रकरण भरियामै सीमित हुने थियो ।’
जब चुवान हिरासतमा आए उनले सुरुमा चिनियाँबाहेक केही बोल्न नजानेको बताए । उनीबाटै थप अघि बढ्ने योजनामा रहेको विभाग केही समय अल्झियो पनि तर चुवान दोस्रो दिनमै बोल्न थाले ।
चुवानले आफूले बालुवाटारबाट रिसिभ गर्ने सुन लाजिम्पाटमा लगेर कोही चिनियाँलाई दिने गरेको बताए । त्यही आधारमा विभागले लाजिम्पाटमा गोदाम फेला पार्यो । सोही गोदामबाट प्राप्त डकुमेन्टले गोदामको पछिल्तिर चिनियाँले भाडामा लिएको अपार्टमेन्ट पनि फेला पर्यो । यस्तै अपार्टमेन्टबाट विभागको टोली सोह्रखुट्टेको गोदामसम्म पुग्यो । सोह्रखुट्टेको गोदामले विभागको अनुसन्धानलाई भियना होटलमा पुर्यायो भने भियाना होटलबाट विभागको अनुसन्धान टोखाको फ्याक्ट्रीमा पुग्यो ।
शनिबार १३ साउनको दिन अपरान्ह ४ बजेदेखि सुरु भएको टोखाको अपरेसन बिहान ५ बजे सकियो । फ्याक्ट्रीबाट सिधै ठमेल आएर विभागले तस्करीका नाइके बेल्जियमका नागरिक दावा छिरिङलाई नियन्त्रणमा लियो । १४ साउनको बिहान छिरिङ नियन्त्रणमा आएपछि विभाग अहिले उनको बयान र अनुसन्धानमा केन्द्रित छ । नेपालमा हुने सुन तस्करीको मूल्य व्यवस्थापक र योजनाकार दावा नै भएको निष्कर्षमा विभाग पुगेको छ ।
दावा र उनका चिनियाँ सहकर्मीसँग जोडिएका सुनका गोदाम र टोखाको फ्याक्ट्रीले पछिल्लो ३ वर्षदेखि नेपालमा सिलसिलेवार सुन तस्करी भएको र यो सयौं किलोमा रहेको देखिएको छ । ‘नेपालको सुरक्षा, भन्सार प्रणाली र सुरक्षा निगरानी निकायभित्रै ‘पेनिट्रेट’ गरेर भएको सुन तस्करीमा विभाग मूल बाटोमा पुगेको छ’, उच्च अधिकारी भन्छन् ‘अनुसन्धान चल्दै जाँदा धेरै कुरा छर्लङ्ग हुँदै जानेछ ।’
प्रतिक्रिया 4