+
+

जब अदालतले सहमति चिनेन, तब बेहोस भए प्रदीप रुङ्गटा

सुवास पण्डित सुवास पण्डित
२०८० साउन १९ गते १६:१८

१९ साउन, चितवन । चितवनका पोल्ट्री व्यावसायी शंकर कँडेल आत्महत्या दुरुत्साहनको मुद्दाका मुख्य आरोपी प्रदिप रुङ्गटा बिहीबार चितवन जिल्ला अदालतमा हाजिर हुन आए । अनमोल फिड्सका सञ्चालकसमेत रहेका कँडेलले गत बैशाख १९ गते कार्यालयमा नै आत्महत्या गरेपछि उनले लेखेको सुसाइड नोटमा कम्पनीका मुख्य सञ्चालक रुङ्गटाले तनाव दिएको उल्लेख थियो ।

सोही आधारमा परिवारले रुङ्गटा र कम्पनीका चार्टर्ड एकाउन्टेन्ट जीवन रावल विरुद्ध किटानी जाहेरी दिए । रावल २२ बैशाखमा बारा सिमराबाट पक्राउ परे । जेठ १९ गते जिल्ला अदालत चितवनले रावललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

रुङ्गटा भने फरार थिए । फरार भएको तीन महिनापछि जिल्ला अदालत चितवनमा उपस्थित भएका रुङ्गटा धरौटीमा छुट्नेमा निश्चिन्त थिए । उनी निश्चिन्त हुनका पछाडि उनले कँडेल परिवारसँग गरेको समझदारी थियो । पीडित परिवारसँग सहमति गरेकाले अदालतबाट धरौटीमा छुट्ने आशामा अदालत आएका थिए उनी । जब न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले रुङ्गटालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश ग¥यो, तब रुङ्गटाबेहोस भएर ढले ।

उनलाई भरतपुर अस्पतालमा राखेर उपचार गरिएको छ । सुगर र प्रेसरका बिरामीसमेत रहेका रुङ्गटाको स्वास्थ अवस्था अहिले सामान्य बन्दै गएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनी अस्पतालको आईसीयूमा उपचाररत छन् ।

स्रोतका अनुसार परिवारले रुङ्गटासँग बसेर घटनाको सेफल्याण्डिङ गर्ने भनेर सहमति गरेको थियो । ‘मर्ने मान्छे मरेर गइहाले कम्पनी एउटै हो, व्यवहार मिलाउनुपर्छ भन्ने ठानेर रुङ्गटासँग एउटा समझदारी गर्ने सोच अनुसार नै कुरा गरिएको हो,’ कम्पनीका एक शेयर सदस्यले भने, तर पीडित पक्ष र रुङ्गटाको पक्ष बीच भएको सहमतिलाई अदालतले चिन्ने कुरा भएन ।’

अदालतका श्रेष्तेदार ईश्वर आचार्यले पीडित र प्रतिवादीका बीचमा के सहमति भएको छ भन्ने कुरा अदालतले नचिन्ने बताए ।

मुद्दा अदालतमा गैसकेको हुनाले फिर्ता लिन सक्ने अवस्था पनि भएन । बयानका क्रममा केही लचिलो हुने र रुङ्गटालाई धरौटीमा छुटाउनका लागि पीडित पक्षका तर्फबाट आवश्यक सहजीकरण गर्ने समझदारी थियो । तर, अदालतको आदेश थुनामा नै पठाउने आएपछि सबै आश्चर्यचकित बनेको ती सदस्यको भनाइ छ ।

पीडित पक्ष र रुङ्गटा पक्षको बीचमा एक महिना अगाडि भएको सहमति अनुसार नै उच्च अदालतबाट आत्महत्या दुरूत्साहनको मुद्दा लागेका जीवन रावल धरौटीमा छुटिसकेका छन् । ‘सायद रावल जसरी नै रुङ्गटा पनि छुट्छन् भन्ने थियो होला, तर अदालतले मानेन’ कम्पनीका एक शेयर सदस्यले भने, ‘अदालतमा मुद्दा जान अगाडि नै सहमति गरेको भए फिर्ता लिन सक्ने कुरा हुन्थ्यो, त्यो सम्भावना नभएपछि अदालतको आदेश मान्नुपर्छ ।’

अदालतका श्रेष्तेदार ईश्वर आचार्यले पीडित र प्रतिवादीका बीचमा के सहमति भएको छ भन्ने कुरा अदालतले नचिन्ने बताए । उनले अदालतले मिसिल, बयान र कागजातका आधारमा कानुन अनुसार आदेश गर्ने बताए । उनले रुङ्गटालाई विषयमा वकपत्र हुने र त्यसपछि फैसला आउने प्रकृयामा जाने बताए ।

एक शेयर सदस्यले दिएको जानकारी अनुसार दुबैपक्ष बीच भएको सहमति अनुसार कँडेलको नाममा रहेको १५ प्रतिशत सबै शेयर रुङ्गटाले किन्ने, क्षतिपूर्ती रकम दिने, भुक्तानी दिन बाँकी पार्टीहरुको रकम दिने, चेक साट्न बाँकी रहेका चेकहरुको म्याद थप गर्ने बाउन्समा नहाल्ने, कँडेलको नामा माछापुच्छ«े बैंकमा रहेको व्यक्तिगत जमानी सकार्ने लगायतका विषयमा प्याकेजमा सहमति भएको थियो ।

पीडित परिवारले पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना माग दाबीसहित मुद्दा दर्ता गरेको थियो । माग दावी गरिएको भन्दा बढी सहज र सजिलो रुङ्गटासँग समझदारी गरेर जाँदा हुने ठानेर कँडेल पक्ष लचक भएको पारिवारिक स्रोतले बतायो ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?