+
+

आयातित दुई तिहाइ वस्तुको खपत औद्योगिक गतिविधिमा

अर्थतन्त्रलाई फाइदा कि घाटा ?

अच्युत पुरी अच्युत पुरी
२०८० साउन १९ गते १८:२०

१९ साउन, काठमाडौं । नेपालमा आयात हुने झण्डै दुई तिहाइ वस्तु औद्योगिक क्रियाकलापमा खपत हुने गरेको पाइएको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । जसलाई वृहत आर्थिक वर्गीकरण अनुसार विश्लेषण गर्दा दुई तिहाइ वस्तु औद्योगिक कच्चा पदार्थ र पूँजी निर्माणमा प्रयोग हुने वस्तुका रुपमा आयात भएको छ ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टीईपीसी)को विश्लेषण अनुसार आव २०७९/८० मा भएको कुल आयातमा ‘इन्टरमिडियट कन्जम्सन’को योगदान ५२.९ प्रतिशत देखिन्छ । ‘ग्रस फिक्स्ड क्यापिटल फर्मेसन’को योगदान ८.९ प्रतिशत देखिन्छ । यी दुवै वर्गीकरणमा पर्ने वस्तु औद्योगिक गतिविधिमा उपयोग हुने केन्द्रले जनाएको छ ।

टीईपीसी भन्छ, ‘नेपालको कुल आयातमा इन्टरमिडियट कन्जम्सन र ग्रस फिक्स्ड क्यापिटल फर्मेसनको योगदानको योगफल ६१.७ प्रतिशत रहेको आंकडाले नेपालको अधिकांश आयात औद्योगिक क्रियाकलापमा उपयोग भइरहेको देखिन्छ, नेपालको आयात यस अर्थमा सकारात्मक नै देखिन्छ ।’

आंकडाअनुसार आयातित वस्तुमध्ये ३८.३ प्रतिशत भने तयारी वस्तु (फाइनल कन्जम्सन) हुन् । अर्थतन्त्रमा आयातित वस्तु जति धेरै कच्चा पदार्थका रुपमा आउँछन्, त्यसले आर्थिक क्रियाकलाप वृद्धि गर्ने र आन्तरिक उत्पादन वृद्धिमा पनि सहयोग पुर्‍याउने विज्ञहरुको विश्लेषण छ । यस्ता वस्तुको आयातले आन्तरिक रुपमा राजस्व वृद्धिमा समेत सहयोग गर्छ ।

वृहत आर्थिक वर्गीकरण अनुसार कस्तो वस्तुको आयात कति ?

  • इन्टरमिडियट कन्जम्सन (कच्चा पदार्थ) : ८ खर्ब ५१ अर्ब ६७ करोड
  • ग्रस फिक्स्ड क्यापिटल फर्मेसन (पूँजी निर्माण गर्ने वस्तु) : १ खर्ब ४२ अर्ब ८२ करोड
  • फ्राइनल कन्जम्सन (तयारी वस्तु) : ६ खर्ब ६१ अर्ब ९९ करोड

आव २०७७/७८ मा भएको कुल आयातमध्ये इन्टरमिडियट कन्जम्सनको हिस्सा ८१७ अर्ब रुपैयाँ रहेको थियो । ग्रस फिक्स्ड क्यापिटल फर्मेसनको हिस्सा १८६ अर्ब रुपैयाँ र फाइनल कन्जम्सनको हिस्सा ५३६ अर्ब रुपैयाँ रहेको थियो ।

आव २०७८/७९ मा भने समग्र वैदेशिक व्यापारमा उछाल आयो । सोहीकारण आयात समेत १९ खर्ब भन्दा माथि पुग्यो । सो आवमा इन्टरमिडियट कन्जम्सनको हिस्सा ९८७ अर्ब रुपैयाँ रहेको थियो । ग्रस फिक्स्ड क्यापिटल फर्मेसनको हिस्सा १९४ अर्ब र फाइनल कन्जम्सनको हिस्सा ७३८ अर्ब रुपैयाँ थियो ।

गत आवमा सबै वर्गीकरणको हिस्सा केही घट्न पुगेको छ । यसो हुनुमा समग्र वैदेशिक व्यापार र आयातमा आएको कमी हो ।

कस्ता वस्तु आयात भए ?

यस आवमा पेट्रोलियम पदार्थको आयातको हिस्सा सबैभन्दा धेरै १९.०२ प्रतिशत रहेको छ । फलाम र स्टीलका उत्पादनको हिस्सा १०.४ प्रतिशत देखिन्छ । तेस्रो स्थानमा मेशिनरी र पार्टको हिस्सा ६.३ प्रतिशत रहेको छ । विद्युतीय सामग्रीको आयात ४ प्रतिशत रहेको छ । अन्नको हिस्सा ३.५ प्रतिशत रहेको छ । यातायातका साधानको हिस्सा ३.२ प्रतिशत, औषधीको २.८ प्रतिशत, सुनको २.७ प्रतिशत, मलको २.५ प्रतिशत र दुरसञ्चार उपकरण आयाताको हिस्सा २.३ प्रतिशत रहेको आंकडामा उल्लेख छ ।

निर्यातमा कस्तो छ अवस्था ?

निर्याततर्फ भने नेपालको व्यापार अझै पनि कमजोर अवस्थामा रहेको देखिन्छ । सामान्यतया निर्यातमा तयारी वस्तुको व्यापारमा मुलुकलाई फाइदा हुन्छ । तर, आर्थिक वर्ष २०७९÷८० मा औद्योगिक कच्चा पदार्थको हिस्सा ५४.७ प्रतिशत रहेको देखिन्छ । तयारी वस्तुको निर्यातमा योगदान ४४.६ प्रतिशत रहेको छ ।

टीईपीसी भन्छ, ‘समग्रमा नेपालको निर्यातमा तयारी वस्तुको हिस्सा बढाउन आवश्यक देखिन्छ ।’ निर्याततर्फ आर्थिक वर्ष २०७७/७८ मा तयारी वस्तुको निर्यातको हिस्सा निकै राम्रो थियो ।
सो आवमा १ खर्बको तयारी वस्तु निर्यात हुँदा ४० अर्ब ३३ करोड रुपैयाँको मात्र कच्चा पदार्थ निर्यात भएको थियो । अघिल्लो आव २०७८÷७९ मा भने कच्चा पदार्थको निर्यात ह्वात्तै बढेर ९५ अर्ब रुपैयाँको पुग्यो । समग्र वैदेशिक व्यापार बढेको यो वर्ष तयारी वस्तुको निर्यात १ खर्ब ४ अर्ब रुपैयाँ पुग्यो । यस वर्ष भने निर्यात व्यापार नै खस्किएका कारण तयारी वस्तुको निर्यात ७० अर्बमा झर्‍यो । कच्चा पदार्थको निर्यात ८५ अर्ब ८९ करोड रुपैयाँ कायम भएको टीइपीसीको आंकडामा उल्लेख छ ।

निर्यातमा कुन वस्तुको हिस्सा कति ?

यस वर्ष निर्यातमा सबैभन्दा ठूलो हिस्सा पाम आयलको १३.१ प्रतिशत रहेको छ । यार्न दोस्रो स्थानमा छ । यसको निर्यातमा हिस्सा ७.६ प्रतिशत रहेको छ । उनी गलैंचाको हिस्सा ७.३ प्रतिशत रहेको छ । फलाम र स्टीलका उत्पादनको निर्यात ६.९ प्रतिशत रहेको छ । सोयाबिन तेल ५.४, अलैंची ५.३, तयारी पोशाक तथा एक्सेसरिज ५.३, जुट र जुटका उत्पादन ४.९, जुस ४.२ र ऊनी फेल्टका सामानको निर्यात ३.३ प्रतिशत रहेको देखिन्छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?