
काठमाडौं । बलिउडकी सफल र युवा अभिनेत्री आलिया भट्टले आफ्नो कपडाको ब्राण्ड ‘एड–ए–मम्मा’लाई लन्च गरेको तीन वर्षपछि यसलाई बेच्न लागेकी छिन् । बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार उनको कम्पनीले भारतको सबैभन्दा ठूलो औद्योगिक घरानामध्येको एक रिलायन्स इन्डस्ट्रिजको रिटेल कम्पनी किन्न लागेको हो ।
यो सम्झौताको सट्टामा आलियाले तीन सय करोड भारु पाउनेछिन् । प्रारम्भिक चरणका लगानीकर्ता भाष्कर मजुमदार भन्छन्, ‘यदि आलिया भट्ट र रिलायन्स समूहबीच यो सम्झौता भयो भने यसले भारतका ठूला फिल्म स्टारहरूको स्टार्ट–अप कम्पनीमा लगानी बढाउनेछ ।’ तिनीहरू सीधै ग्राहकसँग व्यापार गर्ने कम्पनीको मालिक बन्नेछन् ।
आलिया भट्ट पछिल्लो समय स्टार्ट–अप कम्पनीमा लगानी गर्ने धेरै बलिउड स्टारमध्ये एक हुन् । अभिनेत्री दीपिका पादुकोणले गत वर्ष आफ्नो ब्राण्ड स्किनकेयर ८२८–ई लन्च गरिन् ।
त्यही समयमा दीपिकाका श्रीमान् तथा अभिनेता रणवीर सिंहले ब्युटी ब्रान्ड सुगर कस्मेटिक्समा सेयर किनेका थिए । यस उद्योगमा नजर राख्नेले यो कुनै नयाँ प्रवृत्ति नभएको बताउँछन् । सन् २०१० देखि नै यो ट्रेन्ड सुरु भयो, जब स्टार्टअप कम्पनीले भारतमा आफ्नो छाप छाड्न थाले ।
त्यसपछि बलिउडका चर्चित अभिनेतामध्येका एक सलमान खानले स्टार्ट–अप कम्पनीमा लगानी गर्न थाले । सलमानले सन् २०१२ मा ट्राभल पोर्टल यात्रामा सानो सेयर किनेका थिए । भारत यतिबेला विश्वको तेस्रो ठूलो स्टार्ट-अप कम्पनीको देशको रूपमा उदाइरहेको बेला फिल्ल्म कलाकारले यी कम्पनीमा लगानी गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ ।
सन् २०२२ मा मात्रै भारतका १४ फिल्म कलाकारले १८ स्टार्ट–अप कम्पनीमा पैसा लगानी गरेका थिए । यीमध्ये अधिकांश कम्पनी विकासको प्रारम्भिक चरणमा थिए । यी कलाकारले प्रायः कम्पनीमा लगानी गरेका थिए जसले ग्राहकसँग सीधा व्यापार गर्छन् । त्यही समयमा केही अन्य कलाकारले एड–टेक, ई–कमर्स र फुड–टेक कम्पनीहरूमा पैसा लगानी गरेका थिए ।
क्रोलको मूल्यांकन सल्लाहकार सेवाका प्रबन्ध निर्देशक अविरल जैन भन्छन्, ‘आजका सेलिब्रिटी फिल्म स्टारका रूपमा मात्र चिनिन चाहँदैनन्, उनीहरू सफल लगानीकर्ता पनि बन्न चाहन्छन् ।’
‘आलिया भट्टले कसरी एक सेलिब्रिटीले आफ्नो स्टारडम र ठूलो फ्यान फलोइङको फाइदा उठाएर एक पर्यावरणमैत्री, स्वदेशी ब्रान्डलाई सफल व्यवसायमा परिणत गर्न सक्छ भनेर देखाइन्,’ उनले भने ।
पैसा र लगानीको सन्दर्भमा भारतीय फिल्म कलाकारमा यो ठूलो परिवर्तन हो । यसअघि धेरै स्टारले आफ्नो आर्थिक हिसाब र लगानीका लागि परिवारका सदस्यमा भर परेको कुरा खुसीसाथ स्वीकार गर्थे । तर शाहरुख खानजस्ता धेरै स्टार पनि सफल व्यवसायी बने र खेलकुद कम्पनी तथा रेस्टुरेन्टमा पैसा लगानी गरे ।
यद्यपि अमिताभ बच्चन र ज्याकी श्राफजस्ता अभिनेताले पनि पैसा गुमाए, र उनीहरूका कम्पनी टाट पल्टिए । किनभने उनीहरूले आफ्नो सबै लगानी फिल्म निर्माणको जोखिमपूर्ण व्यवसायमा लगाए । तर आजका स्टार पैसाको मामिलामा धेरै चलाख छन् ।
सेयर बजार, घरजग्गा, पूर्वाधारजस्ता परम्परागत उद्योगमा लगानी गर्नुका साथै उनीहरूले आफ्नो केही पैसा स्टार्ट–अप कम्पनीजस्ता द्रुत रुपमा वृद्धि हुने उद्योगमा पनि लगाइरहेका छन् ।
एपिक क्यापिटलका एसोसिएट डाइरेक्टर नवजोत कौर भन्छिन्, ‘यी स्टारले विभिन्न व्यवसायमा पैसा लगाएर लगानी विविधीकरण र जोखिम घटाउँछन् । अल्ट्रा हाई नेट वर्थ व्यक्तिले पैसा भारतको भेन्चर क्यापिटलमा लगानी गरिरहेका छन् र सेलिब्रिटी पनि त्यस क्षेत्रको एक हिस्सा हुन् ।’
स्टार्ट–अप कम्पनीको लागि लगानी र एक सेलिब्रिटीको समर्थन प्राप्त गर्दा उनीहरूलाई विश्वसनीय बनाउँछ र तिनका उत्पादन सजिलै लाखौं ग्राहकमाझ पुग्न सक्छन् । ब्रेथ क्यापिटलका साझेदार सौर्य भुटानी यी स्टार्ट–अप कम्पनीसँग निकै सीमित स्रोतसाधन रहेको बताउँछन् । त्यसैले तिनीहरूका लागि पैसा बचत गर्न एक हिस्सेदारी बेच्नु व्यापार बढाउने एक स्मार्ट तरीका हो ।
कम्पनीबाट पैसा लिनुको सट्टा त्यसमा हिस्सेदारी लिनु भनेको कम्पनीको व्यापार बढ्दै जाँदा फिल्म स्टार पनि त्यो सफलताको हिस्सा बन्ने हो । यही कारणले गर्दा फिल्म स्टारले आफ्नो व्यक्तिगत मूल्यसँग मिल्ने व्यवसायमा लगानी गर्छन् ।
प्रतिक्रिया 4