+
+

कर्णालीमा बढे आँखा पाक्ने बिरामी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १६:४७

१९ साउन, सुर्खेत । कर्णाली प्रदेशमा आँखा पाग्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ का बिरामी ह्वात्तै बढ्न थालेका छन् । पछिल्लो समय दैनिक ८०० देखि १ हजार बिरामी आँखा अस्पताल र आँखा उपचार केन्द्रमा आउने गरेका छन् ।

प्रदेशको एकमात्र ठूलो आँखा अस्पताल सुर्खेत आँखा अस्पतालमा दैनिक ६०० भन्दा बढी बिरामी आँखा जचाउन आउने गरेको अस्पतालका प्रमुख तथा नेत्ररोग विशेषज्ञ डा. मनिष खतिवडाले बताए ।

‘आँखा पाक्ने समस्या भएका बिरामीको चाप अति बढेको छ । पहिले दैनिक २ सय बिरामी आउने गरेकामा पछिल्लो एक साताभित्र बिरामीको सख्ंया तीन गुणाले बढेको छ’, डा. खतिवडाले अनलाइनखबरसँग भने, ‘हामीले रेड आई क्लिनिक नै सञ्चालन गरेर उपचार गरिरहेका छौं ।’

बर्खायाममा आँखा पाक्ने समस्या हुनु सामान्य भए पनि कर्णालीमा प्रकोपको रुपमा समस्या देखिएको डा. खतिवडाले बताए । सुर्खेत आँखा अस्पतालमा मात्र नभई प्रदेशका १० जिल्ला सञ्चालित २८ वटा आँखा उपचार केन्द्रमा समेत आँखा पाक्ने बिरामीको भीड बढ्न थालेको छ ।

‘आँखा पाक्ने समस्या भएका बिरामीको संख्या सुर्खेतमा मात्र नभई प्रदेशभर उच्च छ,’ डा. खतिवडाले भने, ‘रेडक्रस लगायत अन्य दातृ निकायको सहकार्यमा प्रदेशभर २८ वटा आँखा उपचार केन्द्र छन् । त्यहाँ पनि दैनिक २–३ सय बढी बिरामी आउँने गरेको पाइएको छ ।’

आँखा पाक्ने बिरामी संख्या बढ्न थालेपछि आँखा अस्पताल सुर्खेतले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्मा सेवा दिँदै आएको छ । बिरामीको सहजताकै लागि भोलि शनिबार बिहान १० देखि ३ बजेसम्मा अस्पताल सेवा सञ्चालन गरिने डा. खतिवडाले जानकारी दिए ।

उक्त रोगले धेरैजसो बालबालिका र युवामा समस्या देखिएको अस्पतालले जनाएको छ । ‘यो रोग धेरै जस्तो बालबालिका र युवामा देखा परेको छ,’ डा. खतिवडाले भने, ‘संक्रमणको सुरुआतमा आँखा बिझाउने, चिलाउने, रातो हुने, आँखामा कचेरा लाग्नुका साथै आँसु आउँने, घाममा हेर्न अप्ठेरो हुने जस्ता लक्षणहरु देखिएका छन् ।’

गर्मीयाममा यसको प्रकोप फैलिने र यसबाट सबै उमेरका मानिस सङ्क्रमित हुने उनले बताए । विशेष गरेर पछिल्लो समय स्कुल, कलेजका विद्यार्थीमा यो रोगको प्रकोप बढी देखिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?