+
+

छोटो दूरीका प्रधानन्यायाधीश- विवादमा मुछिएनन्, समन्वय गर्न सकेनन्

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते २०:५०

१९ साउन, काठमाडौं । करिव ५० दिनको छोटो कार्यकाल पूरा गरेर प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शुक्रबार अवकाश लिएका छन् । १ असार, २०८० मा नियुक्त भएका कार्की नेपालको न्यायिक इतिहासमा सबैभन्दा छोटो समय प्रधानन्यायाधीश हुने व्यक्ति हुन् ।

सर्वोच्च अदालतले शुक्रबार प्रधानन्यायाधीश कार्कीलाई बिदाइ गरेको छ । शनिबारदेखि पद रिक्त हुने भएकाले वरिष्ठतम न्यायाधीश विश्वम्भर श्रेष्ठ आइतबारदेखि कायम मुकायम प्रधानन्यायाधीश हुनेछन् । बिहीबार मात्रै संवैधानिक परिषदले प्रधानन्यायाधीश पदका लागि उनको नाम सिफारिस गरेको छ ।

१७ साउन २०७३ मा सर्वोच्च अदालतमा एकैसाथ ११ जना न्यायाधीश नियुक्त भएका थिए । त्यो लटमा नियुक्त भएकामध्ये हरिकृष्ण कार्की पहिलो प्रधानन्यायाधीश हुन् । नेपाल बार एसोसिएसनको अध्यक्षमा बहाल हँुदाहँुदै महान्यायाधीवक्ता नियुक्त भएका कार्की पदमै रहेका बेला सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका थिए ।

१७ साउन २०७३ देखि छ वर्र्ष सर्वोच्च अदालतका न्यायाधीश रहेका कार्की त्यसपछिका १० महिना सर्वोच्च अदालतको नेतृत्वमा रहे । सर्वोच्च अदालतका एक पूर्वप्रधानन्यायाधीशका अनुसार, प्रारम्भिक वर्षहरुमा उनले एमालेका नेता र त्यससँग सम्बन्धित मुद्दाहरुमा यति धेरै अरुची देखाउथे कि ‘यस्ता मुद्दा मलाई दिएर विवादमा नतान्नु न’ भन्दै प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउँथे ।

सर्वोच्च अदालतका एक न्यायाधीशको अनुभवमा, उनी कुनै पनि मुद्दाको न्यायनिरुपण र आदेशका क्रममा विवादमा मुछिएनन् । मुद्दामा चलखेल गरेको र स्वार्थ देखाएको गुनासो सुन्नुपरेन, यो उनको सबैभन्दा सवल पक्ष रह्यो । साथै न्यायिक सिद्धान्त प्रतिपादन, सुधारका प्रयासको स्थायित्व, संवेदनशील मुद्दाको न्यायनिरुपण, न्यायाधीश नियुक्ति लगायतमा उनी आलोचनाबाट टाढा हुन सकेनन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे प्रधानन्यायाधीश कार्कीको कार्यकाललाई मिश्रित भनी प्रतिक्रिया दिन्छन् । वरिष्ठ अधिवक्ता समेत रहेका घिमिरे भन्छन्, ‘उहाँ कुनै विवाद र अनियमिततामा मुछिनुभएन । त्यो सबैभन्दा सवल पक्ष हो, तर न्यायपालिकाको विकृती विसंगति हटाउने प्रयासमा उहाँले सकेजति काम गर्नुभएन । न्यायाधीश नियुक्तिमा उहाँबाट समन्वयात्मक र निर्णायक भूमिका हुन सकेन, त्यसमा हामीलाई दुःख लागेको छ ।’

सवल पक्ष

चोलेन्द्रशम्सेर जबरा प्रधानन्यायाधीश भएका बेला न्यायपालिकामा विचौलियाहरु अधिकतम रुपमा सक्रिय भएको कानून व्यवसायीहरु नै स्वीकार्छन । जबरा नेतृत्व विरुद्ध बार आन्दोलिन भयो र पछि महाभियोग दर्ता भयो । त्यसपछि दीपकराज कार्की कामू प्रधानन्यायाधीश भए, उनीपछि हरिकृष्ण आए । उनको कार्यकालमा विचौलिया र चलखेलको गुनासो सुन्नुपरेन ।

‘उहाँ अदालतमा गएपछि कुनै विवादमा पर्नुभएन । मुद्दामा चलखेल गरेको, भ्रष्टाचार र अनियमिततामा संलग्न भएको गुनासो सुन्नुपरेन, कानून व्यवसायीको पृष्ठभूमीबाट गएकाले यो हाम्रा लागि पनि सुखद पक्ष हो ।’

मुद्दामा हुने चलखेल रोक्न कार्की नेतृत्वको समितिले लिएको पहलले न्यायपालिका सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ । स्वयं कार्की समेत गोला प्रक्रियाका कारण न्यायमा हुने विचलन र गुनासाहरु धेरै कम भएको दावी गर्छन ।

‘गोला प्रणाली लागू भएपछि फलानो मुद्दा यो इजलासमा पर्छ र यस्तो फैसला हुनेछ भन्ने चर्चा परिचर्चा लगभग हटेको छ’ उनी भन्छन्, ‘गोला प्रक्रियाले इजलास व्यवस्थापनको जिम्मेवारीमा रहेका प्रधानन्यायाधीशदेखि जिल्ला न्यायाधीशलाई दवावमुक्त गरेको छ ।’ स्वचालित पेशी प्रणालीमा जाने प्रयास बजेट अभावका कारण सम्भव नभएको उनले बताए ।

प्रधानन्यायाधीश कार्कीले १० महिने नेतृत्वकालमा पुराना मुद्दा फर्स्यौटका लागि अधिकृतम प्रयास गरेको दाबी गरे । गत आर्थिक वर्षमा सर्वोच्च अदालतले १२ हजार मुद्दा फर्स्यौट गरेको छ । ‘पछिल्लो १० वर्षमा सबैभन्दा बढी मुद्दा फर्स्यौट भएछ । हामीले पाँच वर्ष नाघेका मुद्दा शून्य बनाउने अभियान थियो, तर तत्काल कार्यान्वयन हुन सकेन’ कार्कीले भने, ‘पुराना मुद्दा फर्स्यौटमा हामीले निकै प्रगति गरेका छौं । असान्दर्भिक भइसकेका कतिपय मुद्दा टुंगिएका छन् ।’

सर्वोच्च अदालतको पहलमा विद्युतीय अपराध सम्बन्धी मुद्दा देशभरका जिल्ला अदालतमा सुनुवाइ हुनेगरी नीतिगत व्यवस्था भयो । साथसाथै चेक बाउन्सका बैंकिङ कसूरका मुद्दा सुरुमा जिल्ला अदालतमा दर्ता हुने भए, जसले गर्दा उच्च अदालतमा पुनरावेदन परेर अधिकांश मुद्दा टुंगिन्छन् । त्यसले सर्वोच्च अदालतमा मुद्दाको चाप घटाउँछ ।

उनी न्यायाधीश हुँदा न्यायपालिकाको विकृती विसंगतिवारे अध्ययन गर्न समिति गठन भएको थियो । इजलास गठन र पेशी व्यवस्थापनदेखि नै मुद्दामा चलखेल र न्यायमा विचलन सुरु हुने भन्दै समितिले तत्कालका लागि गोला प्रक्रिया प्रारम्भ गर्न र दीर्घकालिन रुपमा स्वचालित पेशी प्रणालीमा जान सुझाव दिएको थियो । त्यही सुझावका आधारमा सर्वोच्च अदालतले गोला प्रक्रियाबाट इजलास गठन र पेशीको व्यवस्थापन गरिरहेको छ ।

दुर्वल पक्ष

न्यायाधीश हुँदा होस् या कामू प्रधानन्यायाधीश । गम्भिर र जटिल प्रकृतिका राजनीतिक मुद्दाबाट उनले टाढा हुन खोजे । सर्वोच्च अदालतका एक न्यायाधीशको अनुभवमा, उनी ‘संवेदनशील मुद्दाहरु सकेसम्म हेर्न नपरे हुन्थ्यो’ भन्ने मनोविज्ञानमा रहे । आफूमाथि प्रश्न उठ्नासाथ प्रतिनिधिसभा विघटनको पहिलो मुद्दाबाट उनी अलग भएका थिए ।

३२ वर्ष कानून व्यवसायमा बिताएर त्यसपछिका ७ वर्ष न्यायाधीश भएका कार्कीले न्यायनिरुपण र न्यायिक सिद्धान्त प्रतिपादनमा भने आफूलाई अब्बल सावित गर्न सकेनन् । रंगेहात घुस प्रकरणमा अख्तियार नियमावली खारेज, नागरिकता अध्यादेशका सवालमा भएको अन्तरिम आदेश प्रधानन्यायाधीश कार्की संलग्न इजलासले महत्वपूर्ण न्यायिक दृष्टिकोण अघि सारेको थियो । ती मुद्दामा समेत उनी राय र दृष्टिकोण लेखनमा संलग्न भएनन् । बार अध्यक्ष घिमिरे भन्छन्, ‘आगामी दिनमा उहाँले प्रतिपादन गरेको नजीर भनेर उदृत गर्ने अवसर पाउन सकेनौं ।’

प्रधानन्यायाधीश कार्की स्वयं आफू कानून व्यवसायमा हुँदा जति पनि नजीर र न्यायिक सिद्धान्त प्रतिपादन गर्न नसकेको स्वीकार्छन । ‘कानून व्यवसायी हुँदा जुन स्वतन्त्रता हुन्छ, यता आएपछि सबै बन्धनमा परिँदो रहेछ । सबै कुरा छाड्नुपर्दो रहेछ,’ उनी भन्छन्, ‘त्यतिबेला धेरै चर्चित मुद्दाहरु हेरिएको थियो । अदालतमा आएपछि जे तोकियो, त्यो मुद्दा मात्रै हेर्ने हो । अहिले गोला प्रक्रियाका कारण जे परेको छ, त्यही मुद्दाको सुनुवाइ गर्ने हो । सायद मुद्दाहरु कम परेको पनि होलान् ।’

पछिल्लो १० महिनाको अवधिमा न्यायिक नेतृत्वले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति, ललिता निवास प्रकरणको बहुचर्चित रिट निवेदन, पुराना भ्रष्टाचारका मुद्दालाई प्राथमिकता दिने र पेशी व्यवस्थापन गर्न आलस्यता देखाइरह्यो । कार्कीको छोटो कार्यकालको आलोचना गर्नेहरुले ‘संख्यात्मक रुपमा मुद्दा घटेको देखिए पनि ठूला र संवेदनशील मुद्दा फर्स्यौट हुन नसकेको’ बताए ।

सर्वोच्च अदालतमा एक तिहाइ न्यायाधीश रिक्त हुँदा समेत नियुक्ति प्रक्रिया अघि बढाउन नसक्नुले हरिकृष्ण कार्कीमाथि प्रश्न पनि उठ्यो । अघिल्लो भदौमा सिफारिस भएका ३ जना प्रस्तावित न्यायाधीशको नाम किनारा लगाउन पनि सकेनन्, जसका कारण उच्च अदालतका न्यायाधीश विनोद शर्मा एक वर्षदेखि सर्वोच्च अदालतमा काजमा छन् । तल्ला तहका न्यायाधीशको वृत्तिविकासमा ध्यान नदिँदा गुम्सिएको आक्रोश संसदीय सुनुवाइ समितिसम्म प्रकट भयो ।

न्यायाधीश नियुक्तिका लागि केही मापदण्ड बनाउने लगायतका संस्थागत प्रयास गरे पनि नियुक्ति प्रक्रिया अघि बढाउन न्यायपरिषदकै सीमित पदाधिकारीको मत जित्न सकेनन् । नेपाल बार एसोसिएसनको दवावका कारण कानून व्यवसायीहरुको संख्यात्मक प्रतिनिधित्वमा जोड दिएको आरोप उनीमाथि लाग्यो, जसले गर्दा ‘क्याडर जज’को वृत्तिविकासका पक्षपातीहरु उनीसँग झस्किए र सहयोग गरेनन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष घिमिरे न्यायाधीश नियुक्तिका सवालमा कार्कीले न्यायपरिषदको अध्यक्षको हैसियतले प्रभावकारी भूमिका खेल्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘उहाँकै कारण नियुक्ति हुन नसकेको होइन । तर उहाँले समन्वय सहित नेतृत्व गरेर जुन भूमिका खेल्नुपर्ने थियो, त्यसमा चुक्नुभयो ।’

२०६६ सालमा अनुपराज शर्मा चानचुन तीन महिना प्रधानन्यायाधीश भए । प्रधानन्यायाधीशको रोलक्रममा नभएका ओमप्रकाश मिश्र दिपकराज जोशीको नाम अस्वीकृत भएकाले २०७५ सालमा करिव ११० दिन प्रधानन्यायाधीश भएका थिए ।

कार्कीभन्दा अघिल्ला दुई प्रधानन्यायाधीशहरु गोपाल पराजुली र चोलेन्द्रशम्सेर जबरा नेतृत्वमा रहँदा नै विवादित भएर अवकाश भएका थिए । अर्का प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाशको बेलामा केही जग्गाको मुद्दामा चलखेल गरेको भन्दै अग्नि खरेल महान्यायाधीवक्ता हुँदा सरकारी वकिलहरुले बारम्बार मुद्दा स्थगित गरेका थिए ।

करिव ६ वर्षपछि न्यायिक नेतृत्व विवादमा नपरी अवकाश हुन लागेको हो । बार अध्यक्ष घिमिरे भन्छन्, ‘उहाँ अदालतमा गएपछि कुनै विवादमा पर्नुभएन । मुद्दामा चलखेल गरेको, भ्रष्टाचार र अनियमिततामा संलग्न भएको गुनासो सुन्नुपरेन, कानून व्यवसायीको पृष्ठभूमीबाट गएकाले यो हाम्रा लागि पनि सुखद पक्ष हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?