
१९ साउन, वीरगञ्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पूँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन पर्साले शुक्रबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले विगतमा पूँजीगत खर्च कम हुँदा आर्थिक वृद्धिदर कम भएको बताए ।
विगतमा अर्थतन्त्रमा देखिएको समस्या बिस्तारै समाधान हुँदै गएको भन्दै उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको उल्लेख गरे । उनले उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा देखिएको समस्या समाधानमा सरकार लागेको उनको भनाइ छ ।
उनले राजस्व संकलन गर्ने निकायका कर्मचारीले गर्ने दुरुपयोग, त्रुटि, उदासिनता र निष्क्रियता मान्य नहुने भन्दै पारदर्शीता, राजस्व वृद्धिमा ध्यान निर्देशन दिइसकेको जानकारी दिए । मन्त्री महतले वर्तमान सरकारको मुख्य लक्ष्यलाई सुशासन, सेवा प्रवाहमा प्रभाविकारिताको प्रत्याभूति र विकास निर्माणलाई गति दिइरहेको बताए ।
उनले दुई दशकदेखि बन्द वीरगञ्ज चिनी कारखानालगायतका रुग्ण उद्योग पुनःसञ्चालनका विषयमा सरकारले सम्भाव्यता अध्ययन गरिरहेको समेत जानकारी दिए ।
अर्थमन्त्री महतले वीरगञ्जस्थित कृषि औजार कारखाना मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउन अर्थमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि एक करोड रूपैयाँ बजेट उपलब्ध गराइसकेको पनि जानकारी दिए ।
उनले सरकारसँगको सम्झौताअनुसार केन्द्रलाई २५ करोड रूपैयाँ दिने उल्लेख भएको र त्योमध्ये हालका लागि एक करोड रूपैयाँ अर्थ मन्त्रालयबाट निकासा भइसकेको बताए ।
प्रतिक्रिया 4