+
+

माओवादी केन्द्रीय समितिमा नेतृत्वमाथि कतै प्रश्न, कतै देवत्वकरण

दिपेश शाही दिपेश शाही
२०८० साउन १९ गते २१:३६

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको चौथो पूर्ण बैठकमा केन्द्रीयस्तरबाट पार्टीको मूल नेतृत्वमाथि बोल्नेहरूले मिश्रित धारणा राखिरहेका छन् ।

बुधबारदेखि सुरु पार्टी केन्द्रीय समिति बैठकमा तेस्रो दिनसम्म आइपुग्दा बोल्ने अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको मौखिक प्रतिवेदन र उनीलगायत शीर्षस्थ नेताहरूको जीवनशैलीलाई लिएर गम्भीर प्रश्नहरू उठाएका छन् । साथै, केहीले जबर्जस्त प्रशंसा समेत गरेका छन् ।

बैठकको तेस्रो दिन तीनजना पदाधिकारीहरु उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल र सचिव डिलाराम आचार्यले धारणा राखे । उनीहरू सबैले अध्यक्ष प्रचण्डको प्रतिवेदनको खुलेर प्रशंसा गरे ।

प्रशंसा गर्नेमा उपाध्यक्ष सापकोटा सबभन्दा अघि देखिए । ‘प्रचण्डमा असाधारण क्षमता रहेको छ । उहाँले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई जोगाउने ल्याकत राख्नुहुन्छ’ सापकोटाले भने, ‘अहिलेको कठिन परिस्थितिमा पनि पार्टी जोगाउने प्रचण्ड मात्र हो ।’

उनले विचार, दृष्टिकोण र योजना मुख्य हुनुपर्ने भन्दै पार्टीमा जायज प्रश्न उठाउन पाउनुपर्ने बताए ।

उपाध्यक्ष भुसालले पनि प्रचण्डको प्रतिवेदनमाथि खुलेरै प्रशंसा गरिन् । ‘अध्यक्षको प्रतिवेदनले जनयुद्धमा जाने, चुनावबाट शान्ति प्रक्रियामा आउने र तेस्रोमा समाजवादी आन्दोलनमा जाने तयारी भएको महशुस भएको छ’ उनले भनिन्, ‘हामी शहरमुखी पनि हुनु आवश्यक छ ।’

यस्तै सचिव आचार्यले पार्टी समाजअनुकूल चल्न सक्नुपर्ने भन्दै रुपान्तरणको मुद्दा निरन्तर उठिरहने बताए ।

केन्द्रीय कमिटी सदस्य लेखनाथ दाहालले पदाधिकारीले बोलेका विषयलाई चिर्दै अध्यक्ष प्रचण्डलाई नै प्रश्न गरे । बैठकको उदघाटन भाषणमा पार्टी पार्टीजस्तो नभएको भनेका प्रचण्डलाई केन्द्रीय सदस्य दाहालको प्रश्न थियो, ‘अध्यक्ष कमरेडको तर्फबाट के गर्नुपथ्र्यो, के पुगेन ? तपाईंको तर्फबाट के गर्नुपर्थ्यो , के गर्न सक्नुभएको छैन ? पहिले यसको मनन गर्नुहोस् ।’

उनले विगतमा पार्टी सत्ता र राजकीय सत्तामा रहेका नेताहरूको समीक्षा आवश्यक रहेको भन्दै पार्टी सुदृढीकरणको नारा र आरोप थुपार्ने कुराले मात्रै काम नगर्ने बताए ।

दाहालले उपाध्यक्ष कृष्णबहादुर महरामाथि उठेको सुन तस्करी प्रकरणमा आफू दोषि नभएको भनेर पन्छिन नमिल्ने भन्दै स्पष्टीकरण दिनुपर्ने माग गरे ।

‘सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा मुछिनुभएको छ । तर उहाँले दोषी छैन भनेर पन्छिन मिल्दैन । बरु छानबिनका लागि आफैंले सीआईबीमा निवेदन दिनुपर्छ’ दाहालले बैठकमा भने, ‘भ्रष्टाचार र तस्करीको कलंकको भार पार्टीले बोक्न सक्दैन ।’

महराजस्तै अन्य केन्द्रीय सदस्यमाथि पनि प्रश्न उठेको छ । केन्द्रीय सदस्य रामकुमार शर्माले उपमहासचिव मात्रिका यादव र गिरिराजमणि पोखरेल आपसमा भिड्दा मधेसमा माओवादी पार्टी ध्वस्त भएको बताए । ‘मधेसमा दुई हस्ती छन् । गिरिराजमणि पोखरेल र मात्रिका यादव । उहाँहरु कहिल्यै मिल्नुभएन । उहाँहरू भिड्दा पार्टी मधेसमा उठ्नै सकेन ।’

माओवादी केन्द्रको युवा संगठन वाइसीएलका अध्यक्ष सुवोधराज श्रीपालीले लट्ठी टेकेर हि‌ंड्नेलाई महत्वपूर्ण जिम्मेवारी दिंदा माओवादी यथास्थितिबाट माथि उठ्न नसक्ने बताए ।

‘लट्ठी टेकेर हिंड्नेलाई इन्चार्ज दिनुहुँदैन । नेतृत्वको नाम लिएर गुट चलाउने काम अबदेखि बन्द होस्,’ उनले भने । अध्यक्ष प्रचण्डको नाम लिंदै कतिपयले पार्टीमा गुट चलाउने प्रवृत्ति हावी रहेको भन्दै उनले यस्तो प्रवृत्ति पार्टीका लागि घातक हुने बताए ।

नेता झक्कु सुवेदीले अध्यक्षको उदारवादबाट सबैले फाइदा उठाए भन्दै प्रचण्डको मूल कमजोरी नै उदारता रहेको बताए ।

अर्का केन्द्रीय सदस्य केशवचन्द्र पाण्डेले प्रचण्डलाई छविलाल बनाउने खेलमा नेताहरू लागेको भन्दै प्रचण्डलाई प्रचण्ड नै रहन दिनुपर्ने बताए ।

केन्द्रीय सदस्य कुमार पौडेलले पार्टीमा छलफल र भेला धेरै हुने गरे पनि निर्णय कार्यान्वयनमा जान नसकेको भन्दै आलोचना गरे । पार्टीमा मूल्याङ्कनको परिपाटी नै राम्रो नभएको भन्दै उनले नेतृत्व तहमै रूपान्तरणको आवश्यकता रहेको बताए । ‘माथिबाटै रूपान्तरण हुन जरुरी छ । गुट उपगुट अन्त्य गर्नुपर्छ,’ उनले भने ।

यसअघि पहिलो र दोस्रो दिन बोल्ने केन्द्रीय सदस्यले पनि प्रचण्ड र अन्य पदाधिकारीलाई लिएर प्रश्न गरेका थिए ।

नेतृत्वमाथि नै प्रश्न

पछिल्लो समय सधैं प्रशंसा मात्रै गर्ने माओवादी पंक्ति यसपटक आलोचनात्मक ढंगले नेतृत्वसँगै प्रश्न राख्न थालेको देखिन्छ ।

केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईं माओवादीको भूमिगतकालीन राजनीतिको आलोचना र आत्मालोचना संस्कृति फेरि फर्किन थालेको अनुभूति भइरहेको बताउँछन् ।

‘युद्ध कालमा पार्टीभित्र भावना र विचारलाई सँगै राखेर कार्य सम्पादन गरिन्थ्यो । त्यसले स्वच्छ आलोचना र आत्मालोचनाको संस्कृतिलाई कायम गरिरहेको थियो,’ उनी भन्छन्, ‘बीचमा केही समय अलमलिएजस्तो देखिएको थियो । अहिलेको केन्द्रीय समिति बैठकमा पार्टीप्रतिको चिन्ता सबैमा देखिन्छ । सबैले को कहाँ सच्चिनु पर्छ भनेर धारणा राखिरहनु भएको छ । यसले सही कुराका लागि सबैले प्रश्नको सामना गर्नुपर्छ भन्नेलाई पुनर्स्थापित गर्ने देखिन्छ ।’

युद्ध लडेर आएको माओवादीभित्र शान्ति प्रक्रिया सुरु भएदेखि पहिलो संविधानसभाको विघटनसम्म पुग्दा आलोचना र आत्मालोचनाको संस्कृति बाँकी नै थियो । विशेषतः पालुङटार बैठकसम्म यो संस्कृति देखिन्थ्यो ।

त्यसको केही वर्षपछि मोहन वैद्य किरणको नेतृत्वमा पार्टी विभाजन भएपछि कार्यकर्ता पंक्तिसम्मै स्वच्छ आलोचनाभन्दा बढी अस्वस्थ आरोप प्रत्यारोपको बिऊ रोपिन थालेको देखिन्छ । भिषण युद्धको समयमा दूर्गम भूभागलाई सेल्टर बनाएर संघर्षमय जीवन जिउँदै गर्दा माओवादीभित्र व्यक्तिभन्दा विचार प्रधान थियो । संघर्षको स्वरूप पनि राजनीतिक र वैचारिक बढी थियो भन्छन् चौलागाईं।

माओवादीकै भाषामा शहर पसेपछि वर्गउत्थान भएका नेता र कार्यकर्तालाई आलोचना भन्दा बढी प्रशंसा मन पर्न थाल्यो । वैद्यले त्यसैलाई देखाएर पार्टीभित्र विचलन आएको र युद्ध पूरा नभएको भन्दै पार्टी विभाजन गरे ।

त्यसको केही वर्षपछि बाबुराम भट्टराई पनि पार्टीबाट बाहिरिए । त्यसपछि दोस्रो तहका नेताहरूमा गुट उपगुटको संस्कार विकास भयो । माओवादीमा रहेको ठूलो पंक्ति त्यही गुटको राजनीतिमा रमाए पनि माओवादी पंक्तिले पार्टीभित्रै रहेर मूल नेतृत्वमा रहेका अध्यक्ष प्रचण्डमाथि कहिल्यै सीधा प्रश्न गरेन । बरु नेतृत्व रक्षाका नाम सही गलत जे भए पनि देवत्वकरण गर्ने र स्वार्थ हात लगाउने प्रयास भयो ।

त्यसले पहिलो संविधानसभामा पहिलो पार्टी भएको माओवादी पार्टी दोस्रो संविधानसभा निर्वाचनपछि निरन्तर ओरालो यात्रामा छ । पार्टीको ओरालो यात्रा देखेका नेता कार्यकर्ताले संगठन भत्किंदै गएको भनेर चिन्ता त कैयौंपटक बैठक र भेलामा गर्दै आएका थिए । तर प्रचण्डलगायत मूल नेतृत्वमाथि खुलेरै बन्द हलभित्र भने प्रश्न उठ्न सकेको थिएन ।

यसपटक भने केन्द्रीय समिति बैठकको हलले त्यो परम्परालाई चिर्ने कोसिस गरेको देखिन्छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?