
२० साउन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने बताएका छन् ।
नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको सूचना प्रविधि विधेयकमाथिको छलफल कार्यक्रममा मन्त्री गुरुङले सञ्चार माध्यमलाई नभई सामाजिक सञ्जाललाई नियमिन गर्ने विषयमा छलफल भएको बताए ।
‘सूचना प्रविधि विधेयकबारे व्यापक छलफल भएको छ। तर, सञ्चार क्षेत्रलाई नियन्त्रण हुने गरी कानुन बन्दैन । यति बुझ्नुस्’ उनले भने ।
उनले अगाडि भने, ‘शीर्ष नेताको बैठकमा त्यो कुरा उठेकै हो । सोसल मिडियाले अति नै गर्न थाले, जे पायो त्यही गरेको छ । मलाई त सुनैसुन लाएर सुन बुढा बनाए भन्ने कुरा उठेको थियो । यो अवस्थालाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा भएको हो ।’
तर आमसञ्चार माध्यमलाई नियन्त्रण गर्नेगरी विधेयक बनाउनुपर्छ भन्ने कुरा नआएको पनि उनले जिकिर गरे । सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल नियन्त्रणका लागि विधेयक मस्यौदा भएको आफूले सुने पनि त्यसबारे थप जानकारी नरहेको मन्त्री गुरुङले बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले छलफलबाट निस्किएको निष्कर्ष नेपाल सरकारलाई बुझाउने बताए ।
उनले भने, ‘सुझाव लिने, समिति बनाउने तर त्यसलाई कार्यान्वयन नगर्ने देखिएको छ, त्यसलाई कार्यान्वयन गर्न जरुरी छ । पत्रकारलाई ढुक्कसाथ पत्रकारिता गर्न रोक्न बनेका कानूनलाई सरकारले परिमार्जन गर्न जरुरी छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा युनियनका सल्लाहकार तारानाथ दाहालले आमसञ्चार क्षेत्रको कानूनी सुधारका लागि नेपाल प्रेस युनियनको भूमिका विषयमा चर्चा गरे ।
कार्यक्रममा सहभागी पत्रकारहरुले भने सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने ढंगले कानुन बनाउन नहुने धारणा राखेका थिए ।
प्रतिक्रिया 4