+
+

रास्वपाले राजनीतिक दस्तावेजका लागि ५१ ठाउँमा सुझाव संकलन गर्ने

भौगोलिकता र समुदायमा आधारित रहेर स्थान तय हुने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १६:३१

२१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको दस्तावेज तयार गर्न ५१ गाउँबाट सुझाव संकलन गर्ने भएको छ । हिमाल, तराई, पहाड सहितको भौगोलिक र समुदाय विविधता हुने गरि नागरिककहाँ पुगेर दस्तावेजका लागि सुझाव संकलन गरिने भएको छ ।

पार्टीले गठन गरेको १७ जनाको टोलीका प्रत्येकले तिन स्थानमा पुगेर सुझाव संकलन गर्ने भएका छन् । कुन कुन स्थानमा पुग्ने र कहिलेबाट सुझाव संकलन गरिने निक्र्यौल भने भइसकेको छैन ।

महामन्त्री मुकुल ढकालका अनुुसार भौगोलक र समुदाय फरक पर्ने गरि ५१ स्थानबाट सुझाव संकलन गरिने भएको छ । सुझाव संकलनका क्रममा स्थानीयबासिन्दासँग अन्तक्रिया समेत गरिने रास्वपाले जनाएको छ ।

सुझाव संकलन गरिने स्थान छनोट गर्दा एउटै जिल्लाका दुई ठाउँ नहुने गरि ५१ गाउँ चयन गर्ने तयारी गरिएको छ । भौगोलिक र समुदायमा विविधता हुने गरि ठाउँ निश्चित गर्ने जिम्मेवारी दस्तावेज तयारी समितिका सदस्य मनिष झालाई जिम्मेवारी दिइएको छ ।

सुझाव संकलनका लागि खटिँदा टोलीका सदस्य आफ्नो गृह क्षेत्रमा भने जान पाउने छैनन् । ‘दस्तावेज तयार गर्नका लागि एक चरणको कार्य प्रतिनिधिमण्डलले सकेको छ । राजनीतिक धारणा र पार्टीको नीतिको बारेमा हामीहरु विच छलफल भइसकेको छ,’ दस्तावेज तयारी समितिका एक सदस्य गणेश कार्कीले हालसम्मको कार्यबारे भने, ‘हामीले बनाएको दस्तावेजमा नागरिकको धारणा बुझ्न गाउँ जादैछौं ।’

‘नयाँ युगको संकल्प’ दस्तावेज तयार गर्ने क्रममा प्रतिनिधिमण्डल सदस्यले एक स्थानमा पाँच दिन समय दिएर तीन ठाउँमा पुग्नुपर्ने हुन्छ । तीन गाउँ पुग्नुपर्ने भएकाले १५ दिनको अवधि तोकिएको छ ।

‘नेपाली जनताले कस्तो पार्टी आवश्यक ठानेका छन् । पार्टीलाई कसरी अगाडि बढाउनुपर्छ भने आम जनताकहाँ गएर सुझाव संकलन गरिने छ,’ महामन्त्री ढकालले भने । नागरिकसँग सुझाव लिनका लागि प्रश्नावली बन्ने क्रममा रहेको ढकालले जानकारी दिए ।

गत जेठमा महामन्त्री ढकालले पार्टी बैठकमा राखेको दस्तावेज विवादमा परेपछि नीति तय गर्नका लागि १७ जनाको टोली असार पहिलो साता गठन गरिएको थियो ।

दस्तावेज तयार गर्नका लागि बनेको टोलीमा नेताहरु मुकुल ढकाल, कविन्द्र बुर्लाकोटी, सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, शिशिर खनाल, सोविता गौतम, सुमना श्रेष्ठ, मनिष झा, डा. तोसिमा कार्की, गणेश कार्की, हरि ढकाल, रमेश प्रसाईं, कमल सुवेदी, गणेश पराजुली, विपीन कुमार आचार्य, क्रान्तिशिखा धिताल, र शंकर श्रेष्ठ छन् ।

पार्टी स्थापना दिवस (असार ७ ) मा सार्वजनिक गर्ने तयारी गरेको भए पनि पार्र्टी भित्रै विवादले रोकेर थप गृहकार्यमा रास्वपा लागेको थियो । महामन्त्री ढकालले जेठमा प्रस्तुत गरेको नीतिमा उल्लेखनीय फेरबदल नगरी टोलीले मस्यौदा तयार गरेको छ । त्यही मस्यौदा माथि रहेर गाउँ जाने टोलीले सुझाव संकलन गर्ने भएको छ ।

दस्तावेज तयारी समितिका एक सदस्यका अनुसार शासकीय स्वरुप, विचारधारा, संगठनात्मक संरचना लगायतमा प्रतिनिधिमण्डलमा सहमति बनेको छ ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संघमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुपर्ने पार्टी नीति ढकालले प्रतिवेदनमा राखेका थिए । दस वर्षसम्म राजनीतिक दलको सदस्य नभएको व्यक्ति राष्ट्रपति बनाउन सकिने, उपराष्ट्रपतिमा राष्ट्रिय सभाका अध्यक्षलाई नै उपराष्ट्रपति मानिने र ३५ सदस्य राष्ट्रिय सभा गठन गरी प्रत्येक प्रदेशबाट पाँच जना गैरदलीय व्यक्तिलाई राष्ट्रिय सभामा चैन गर्न सकिने प्रस्ताव मस्यौदा तत्कालीन समयमा राखिएको थियो ।

प्रदेश प्रमुख, प्रदेश सभा र प्रदेश मन्त्रालय खारेज गरी प्रदेशमा गभर्नर र प्रदेश परिषद् गठन गरिने प्रस्ताव गरिएको थियो । ‘महामन्त्रीले जेठमा राखेकै आधारको दस्तावेज छ । निर्मम सुधारको आवश्यकता छ । अध्ययन भइरहेको छ,’ दस्तावेज तयारी समितिका एक सदस्यले भने ।

दस्तावेज तयार गर्न हतार गर्नुपर्ने अवस्था नभएकाले बढी गृहकार्य गरि नीति तय गर्न लागिएको नेताहरु दाबी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?