
काठमाडौं । भक्तपुरका पोखरीहरुमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले पोखरी पदयात्रा गरेको छ । भक्तपुर नगरपालिकाका १० वटै वडामा केही मिनेटकै दूरीमा पोखरी भेटिन्छन् ।
‘भक्तपुरका पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा गरिएको वडा नम्बर ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले जानकारी दिए । पदयात्राका क्रममा १६ वटा पोखरीको अनलोकन गरिएको थियो ।
भक्तपुर नगरपालिका वडा नम्बर ९ को लामगः पुखुबाट सुरु भएको सांस्कृतिक पदयात्रा नगाँचा, ग्वंग पुखु, क्वाठण्डौँ पुखु, तिनाछें, सलां गणेश पुखु, बसिकुलां नाग पुखु, दुगुमला, भोलाछें पुखु, अंचा पुखु, ब्यासी पुखु, ख्यो पुखु (धवाहिटी पुखु) कालदह पुखु, नः पुखु, तः पुखु (सिद्ध पोखरी) हुँदै न्हु पुखु (रानी पोखरी) मा पुगेर सम्पन्न भएको थियो ।
सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रसमेत राखिएको थियो । र्यालीमा प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, स्वयंसेवक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, खेलकुद समिति, बाजा समूह र नगरबासीको उत्साहजनक सहभागिता थियो ।
ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया 4