+
+

संसद अवरोध हुँदा जनताका आवाज रोकिए : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १७:३२

२२ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा अवरोध हुँदा जनताको आवाज रोकिएको बताएका छन् ।

‘संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपद्‌लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन’ नयाँ वानेश्वरस्थित आफ्नै कार्यकक्षमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख घिमिरेले भने ।

सदनमा जारी अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो ३ बजे वानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख तीन दलका प्रमुख सचेतक र सचेतकहरु छलफलमा बसेका थिए ।

त्यसअगाडि साढे १२ बजे नेताहरु सिंहदरवार स्थित सभामुखको कार्यकक्षमा छलफलमा बसेका थिए । दुवै छलफल निस्फल भएपछि सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो । यस सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गते यता संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक चल्न दिएको छैन ।

सत्तारुढ दलहरु सरकारी अनुसन्धान टुंगो लागेपछि मात्रै अर्को छानबिन समिति गठन गर्न सकिने बताइरहेका छन्। सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेको अडानका कारण संसद चल्न सकिरहेको छैन ।

फेरि पनि सहमतिको विकल्प नरहेको सभामुख घिमिरे बताउँछन् ।

‘मैले अधिकतम रुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु । म दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु’ सभामुख घिमिरेले भने । आफू सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा नरहेको पनि उनले बताए ।

सभामुख घिमिरेका अनुसार प्रमुख नीत दलका शीर्ष नेताहरुको अर्को बैठक मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । उनी भन्छन्, ‘आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?