
२२ साउन, काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लागेको आरोपको खण्डन आफ्नो कामबाट गर्ने बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै लामाले हुँदै नभएका र गर्दै नगरेका अपराधको समेत आफूलाई अभियुक्त बनाउनेसँग कानुनी लडाई लडेर आएको दाबी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला । तर, मेरो लागि गहन जिम्मेवारी हो ।’
सार्वजनिक जीवनमा प्रवेश गरेको २३ वर्षमा आफूले गरेका काम राज्यको रेकर्ड र पब्लिक अडिटमा रहेको भन्दै उनले आफूमाथि लाग्ने आरोप निराधार रहेको समेत दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘मेरो विरोध र निन्दा गर्नुलाई नै आफ्नो पेशा बनाएकाप्रति मलाइ केही पनि भन्नु छैन ।’
उनले सञ्चारमाध्यममा आएका समाचारले आफ्नो चरित्रहत्या गरेको समेत आरोप लगाए । अदालती परीक्षणमा सफाइ पाइसकेको विषयलाई आरोपका रुपमा उल्लेख गर्नु अदालतको अपहेलना हुने समेत उनको दाबी छ ।
सरकारले उनलाई ५ वर्षे कार्यकालका लागि लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको हो । उनको नियुक्तिको व्यापक आलोचना भइरहेको छ ।
प्रतिक्रिया 4