+
+

पर्यटन मन्त्रीलाई परिसंघको सुझाव : ईयूको सुरक्षा सूचीबाट नेपाललाई हटाउन पहल लिनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १९:०५

२२ साउन, काठमाडौं । नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई ईयूको सुरक्षा चासोबाट हटाउने पहल गर्न सुझाव दिएको छ ।

नेपालको पर्यटन उद्योगका विषयमा छलफल गर्दै परिसंघले यस्तो आग्रह गरेको हो । नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवम् दीर्घकालीन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा परिसंघले मन्त्रीसँग छलफल गरेको हो ।

सोमबार मन्त्रालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकार एवम् निजी क्षेत्रबीच समन्वय र सहकार्यमा जोड दिए ।

उनले युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गर्न प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने बताए । युरोपका पर्यटक धेरै खर्च गर्ने मध्येमा पर्ने भएकाले युरोपियन युनियनको सुरक्षा सूचीबाट जतिसक्दो छिटो हटाउनुपर्नेमा उनको जोड थियो ।

नेपाल उद्योग परिसंघले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर पर्यटन समिति गठन गरेको जानकारी उनले गराए । उनले निजी क्षेत्र, परिसंघ मन्त्रालयसँग नजिकमा रहेर काम गर्न प्रतिबद्ध रहेको बताए ।

परिसंघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल रुपमा सञ्चालनका लागि हवाई रुटको अभावमा चुनौती देखा परेको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नेपाललाई फिल्मिङ गन्तव्यका रुपमा विकास एवम् प्रवर्द्धन गर्न, पर्यटकीय क्षेत्रमा पुग्ने सडक यातायात मार्गको स्तरोन्नतिको काम तोकिएको समयमा पूरा गर्नुपर्ने, हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाइएको लगायतका विषयमा परिसंघले ध्यानाकर्षण गराएको छ ।

छलफलमा मन्त्री किरातीले नेपाल युरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउन पहल भइरहेको र छिट्टै सकारात्मक समाचार आउन सक्ने बताए । युरोपियन युनियनसँग पुनः सिधा हवाई सम्पर्क स्थापित गर्न नेपाल सरकार कठोर रुपमा अगाडि बढ्ने विश्वास उनले दिलाएका छन् ।

मन्त्री किरातीले नेपाल गन्तव्य महँगो भइरहेको अवस्थामा हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने कुरामा आफ्नो असहमति राखेको जानकारी दिए ।

नेपालका दुर्गम स्थानमा सेवा प्रवाह गर्न ट्रंक रुटका लागि केही जहाज र नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय उडानका लागि न्यारो बडी जहाज खरिद गर्ने तयारी गरिरहेको बताए । उनले पर्यटन उद्योगको विकासका लागि परिसंघसँग मिलेर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?