
२२ साउन, पोखरा । सरकारले अनुदानमा उपलब्ध गराएको मलमा पनि पोखरामा कालोबजारी भएको पाइएको छ । पोखरा महानगरले आइतबार गरेको अनुगमनमा तोकिएकोभन्दा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढी मूल्यमा मल बिक्री वितरण भइरहेको खुलेको हो ।
अनुगमनका क्रममा पोखरा १० मा रहेको अमरसिंह कृषि सहकारीले २१ रुपैयाँको युरिया मललाई ३५ र ५० रुपैयाँको डीएपी ६५ रुपैयाँमा बिक्री गरेको फेला परेको महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
अमरसिंह सहकारीले महानगरदेखि अनुदानको मल बिक्रीवितरण गर्ने अनुमतिसमेत लिएको छैन । अनुमतिबिनै उपभोक्ता सहकारी संघबाट मल ल्याएर आफैं बढी मूल्यमा बिक्री गरिरहेको खुलेको कृषि महाशाखाले जनाएको छ ।
अनुमतिबिना बढी मूल्यमा रासायनिक मल बिक्री वितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार २० हजार रुपैयाँ जरिवाना गरेको छ । ‘सहकारीमा रहेको २५ बोरा युरिया, ६ बोरा डीएपी र ५ बोरा पोटास जफत गरी साल्ट ट्रेडिङ कर्पोरेसनमा फिर्ता ल्याइएको छ,’ कडरियाले भने ।
कार्यक्षेत्रभन्दा बाहिरका सहकारीलाई पनि अनुदानको मल बिक्रीवितरण गर्न अनुमति दिएको, बिक्रीवितरण गरेको भन्दै प्रशासनले उपभोक्ता सहकारी संघलाई पनि प्रशासनले कारबाही गरेको छ ।
प्रशासनले सहकारी संघलाई २० हजार जरिवानासहित अनुदानको मल बिक्रीवितरण गर्ने अनुमतिसमेत खारेज गरिदिएको छ । सहकारी संघले कृषि सामग्रीबाट ५० बोरा र साल्ट ट्रेडिङ कर्पोरेसनबाट ३५ बोरा अनुदानको मल लगेर बिलबिजक जारी नगरी आफूखुसी बेचेको प्रशासनले जनाएको छ ।
किसानले मल बढी मूल्यमा बिक्रीवितरण भइरहेको गुनासो गरेपछि तत्काल अनुगमन गरिएको पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् । पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिको साउन १२ गतेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको थियो ।
युरिया मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म, डीएपी मलको मूल्य प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोकेको थियो ।
प्रतिक्रिया 4