
कोरोना महामारीका बेला रिमोट वर्क अर्थात् वर्क फर्म होमको पर्यावाची बनेको भिडियो कम्युनिकेसन प्लाटर्फम जूमले आफ्ना कर्मचारीहरुलाई कार्यालयमै फर्किन निर्देशन दिएको छ ।
यसअघि कर्मचारीहरुलाई घरबाटै काम गर्न पाउने सुविधा दिएको जूमले कार्यालयभन्दा ८० किलोमिटरको दूरीभित्र बस्ने कर्मचारीहरु हप्तामा कम्तिमा दुई दिन कार्यालयमा आउनुपर्ने नयाँ नियम बनाएको हो ।
संरचनाबद्ध हाइब्रिड अवधारणा निकै प्रभावकारी देखिएको भन्दै जूमले नजिकका कर्मचारीलाई कार्यालयमै उपस्थित गराएर काम लिने नीति बनाएको हो ।
यसअघि अमेजन तथा डिज्नीलगायतका कम्पनीले पनि आफ्ना कर्मचारीले घरबाटै काम गर्न पाउने दिनहरू घटाइसकेका छन् ।
यद्यपि अमेरिकामा अझै पनि केही संख्यामा कर्मचारीहरुले पूर्णरुपमा घरबाटै काम गर्न पाएको एक सर्भेक्षण देखाएको छ ।
उक्त सर्भेक्षण अनुसार जूमको मुख्यालय रहेको ठाउँमा जुलाई महिनामा १२ प्रतिशत कर्मचारीले पूर्णरुपमा घरबाटै काम गर्न पाएका छन् भने २९ प्रतिशतले हाइब्रिड ढंगले काम गरिरहेका छन् ।
स्टानफोर्ड विश्वविद्यालका शोधकर्ताहरुले गरेको सर्भेक्षणले विश्वका अंग्रेजीभाषी देशहरुमा वर्क फर्म होमको प्रचलन एसिया तथा युरोपका देशहरुमा भन्दा बढी रहेको देखाएको छ ।
कोरोना महामारी सुरु हुनुभन्दा अगाडि नै अमेरिकामा ५ प्रतिशत कर्मचारीहरुले घरबाटै काम गर्ने गरेका थिए ।
हाल कर्मचारीलाई अनिवार्य रुपमा निश्चित दिन कार्यालयमा उपस्थित हुनुपर्ने नियम बनाएको भिडियो कम्युनिकेसन कम्पनी जूमले विगतमा कर्मचारीहरुलाई सधैका लागि घरबाटै काम गर्न पाउने सुविधा दिइने बताएको थियो ।
भौतिक उपस्थितिको नयाँ नियम देशगत रुपमा अगष्ट तथा सेप्टेम्बरबाट लागू हुने बताइएको छ ।
हाल विश्वमा जूम कम्पनीमा ८ हजार ४ सय कर्मचारी रहेका छन् र त्यसको आधाजसो अमेरिकामै कार्यरत छन् । त्यस्तै बेलायतमा जूम कम्पनीमा २ सय जनशक्तिले काम गर्दछन् ।
– बीबीसी
प्रतिक्रिया 4