+
+

‘स्कर्टिङ’ गरेर १२ दिनपछि ल्यान्डफिल साइटमा पुर्‍याइयो पोखराको फोहोर

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १८:४७

२३ साउन, पोखरा । स्थानीयबासिन्दाको अवरोधले १२ दिनदेखि सडकमै रोकिएको फोहोर सुरक्षाकर्मीको सहयोगमा ‘स्कर्टिङ गरेर ल्यान्डफिल साइट पुर्‍याइएको छ ।

मंगलबार पहिलो चरणमा २८ गाडी फोहोर लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा लगिएको पोखरा महानगर सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् ।

पहिलो चरणमा केही दिनअगाडि नै संकलन गरेर गाडीमा राखिएका फोहोर मात्रै ल्यान्डफिल साइट पुर्‍याइएको हो ।

सडकमा थुप्रिएका सबै फोहोर हटाइसक्न भने केही दिन लाग्ने महानगरले जनाएको छ ।

‘केही दिनअघिबाट ल्यान्डफिल साइट पुर्‍याउन नपाएका फोहोर मात्रै लगिएको हो । अब पटकपटक गरेर रेगुलर नै फोहोर उठाउँछौं,’ बरालले भनिन्, ‘स्थानीयको सहयोग नै रह्यो, त्यस्तो अवरोध भएन ।’

सोमबार जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि फोहोर व्यवस्थापन लामेआहालमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

पोखरा महानगरले पोखरा ३२, लामेआहालमा भएको अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ । महानगरले यसअघि पोखरा १४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो ।

तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो ।

ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण विमान दुर्घटनाको जोखिम हुनसक्ने भएकाले ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।

लामेआहालमा अस्थायी ल्यान्डफिल साइट बनाउन स्थानीयसँग महानगरले विभिन्न १६ बुँदे सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर फाल्न रोकेका थिए ।

महानगरले सहमति अनुसार काम नगरेको, ल्यान्डफिल साइटका कारण स्वास्थ्यमा प्रतिकुल असर परेकाले तत्काल फोहोर विर्सजन रोक्न बिहीबार महानगरविरुद्ध स्थानीय रविन केसी, जितेन्द्र केसी र ब्रजेश गुरुङले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए ।

अदालतले आइतबार निवेदकको मागबमोजिम अन्तरिम आदेश दिनु नपर्ने परमादेश दिएपछि महानगरपालिकालाई लामेआहालमा फोहोर व्यवस्थापन गर्ने कानुनी बाटो खुला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?