+
+

विभूषण लिलामीमा राखेपछि सरकारले महावीरलाई गरायो सचेत

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १५:४९

२३ साउन, काठमाडौं । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित गर्दै पत्र काटेको छ ।

गृह मन्त्रालयले विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने व्यहोराको पत्र महावीरलाई पठाएको हो ।

मन्त्रालयले पठाएको पत्रमा सामाजिक सञ्जालबाट लिलामीबारे जानकारी पाएको उल्लेख छ । महावीरले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए ।

तर, गृह मन्त्रालयले त्यसो नगर्न पुनलाई सचेत गराएको छ । ‘विभूषण ऐन, २०६४ को दफा २६ (१) बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्नेछ,’ उक्त पत्रमा भनिएको छ ।

कानुन बमोजिम कुनै विभूषण रद्ध भएमा विभूषण पाउने व्यक्तिको नाम र रद्ध गरिएको विभूषण समेत खुलाई सर्वसाधारणको जानकारीका लागि सूचना जारी गर्ने व्यवस्था रहेको पत्रमा उल्लेख छ ।

‘यहाँजस्तो प्रतिष्ठित र सम्मानित व्यक्तिबाट त्यसप्रकारको कुनै गैरकानुनी कार्य नहुनेमा मन्त्रालय विश्वस्त छ,’ पत्रमा भनिएको छ । मन्त्रालयले महावीर पुनलाई उद्धृत गरी सामाजिक सञ्जालमा गरिएको पोष्टको आधिकारिता समेत प्रष्ट पार्न मन्त्रालयले पुनलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?