
पूर्वी पहाडका घरहरुमा बार्दलीभरी ढकमक्क फूल फुलाउने गरिएको छ । यहाँ फूल केवल घरको शोभा मात्र होइन जीवन पद्धती नै बनिसकेको छ ।
त्यसैले त मौसम अनुसार फूल फुलाउने, गोडमेल गर्ने कुरामा उनीहरुको बार्षिक क्यालेन्डरमै समेटिन्छन् । फूलको प्रजाति, त्यसका लागि जरुरी मलजल, सिंचाईको तरिका, त्यसमा लाग्ने रोग एवं किराबारे पनि उनीहरु जानकार रहन्छन् ।
फूलको हेरचाह उनीहरुको दिनचर्याभित्र पर्छ ।
यो वर्षायाममा भने हरेक घरको बार्दली बेगोनिया फूलले हराभरा छ । यो विभिन्न रंग र प्रजातिमा उपलब्ध हुन्छ ।
कतिथरी ?
यो आउटडोर र इन्डोर दुबै किसिमको हुन्छ । आउटडोर मौसमी हुन्छ भने इनडोरलाई बाह्रैमास फुलाउन सकिन्छ ।
त्यसैगरी गमला र हयांगिङ गमलामा पनि रोप्न सकिन्छ । धेरेजसो गमलामा रोप्ने गरिन्छ तर आजभोलि ह्यांगिङमा रोप्ने प्रचलन बढेको छ । यो रोतो, पहेँलो, गुलाबी, बैजनी, सेतो, छिरबिरेलगायत धेरै रंगमा पाइन्छ ।
कसरी रोप्ने ?
बेगोनिया फूल बलौटे माटोमा कम्पोस्ट मल मिसाएर रोप्न सकिन्छ । गाउँघरतिर माटोमा गोबर मल मिसाएर पनि रोप्ने गरिन्छ । चिसो ठाउँमा भन्दा पनि घाम लाग्ने ठाउँमा एकदमै चाडै फूल गर्छ ।
बिरुवा कसरी सार्ने ?
बेगोनियाको बल्ब वा गानो रोप्ने गरिन्छ । गर्मी ठाउँमा फागुन र चैत्रमा रोपिन्छ भने चिसो ठाउँमा चैत र बैसाखको पहिलो हप्ता रोप्ने गरिन्छ । फूल रोपेको वा सारेको करिब ४५ दिनमा फुल्न सुरु हुन्छ । असार र साउनसम्म ढकमक्क फुल्छ ।
मल र पानी कसरी हाल्ने ?
यो फूल हुर्काउन सजिलो छ । दिनको एक पटक पानी हाल्नुपर्छ । तर, एकै पटकमा धेरै पानी हाल्नु हुँदैन, जरा कुहिन सक्छ । त्यसैले माटो कति ओसिलो छ त्यो हेरेर मात्र हाल्नुपर्छ । संभव भएसम्म साँझको समयमा पानी हाल्नुपर्छ ।
रोग र बचाउने उपाय
बिगोनिया फूलमा फंगस अर्थात सेतो ढुसी आउने समस्या हुन्छ । यसलाई कम गर्न फङ्गिसाइड औषधि छर्किनुपर्छ । एक लिटर पानीमा फङ्गिसाइड दुई ग्राम राखेर हप्तामा एकपटक मात्र छर्किनुपर्छ ।
यदि ढुसी बढी परेको छ र धेरै सेतो भएको खण्डमा हप्ताको दुई पटकसम्म हाल्न सकिन्छ । यसैगरी खुम्ले कीरा झुस्लीकीरा लाग्न सक्छ, जसका लागि किटनासक विषादी छर्कन सकिन्छ । तर, थोरै मात्र किरा लागेको छ भने विषादीको साटो हातैले झिकेर मार्नु उचित हुन्छ ।
कति समय फुल्छ ?
यो मौसमी र बाह्रैमासे दुई किसिमको हुन्छ । मौसमी भए ४ देखि ५ महिनापछि ओइलाउने हुन्छ भने बाह्रमासे बाह्रै महिना फुल्छ ।
तस्वीरहरु : मिलन मुखिया
प्रतिक्रिया 4