+
+

एमालेलाई विश्वप्रकाशको प्रश्न : सीआईबीलाई विश्वास नगरेर कस्तो राज्य प्रणाली खोजेको ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १७:०८

२३ साउन, काठमाडौं । प्रमुख सत्ताघटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक समस्याको समाधान संसद अवरोध नभएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको निरन्तर संसद अवरोधपछि मंगलबार खुलेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर उनले संसद अवरोधको एमाले नीतिप्रति प्रश्न गरे ।

‘एउटा घटना आउँछ उभिदियो, प्रश्न गरिदियो घेरिदियो, अवरोध गरिदियो । के हरेक समस्याको हल सदन अवरुद्ध गरेर हुन्छ ?’ महामन्त्री शर्माको प्रश्न छ ।

०५७÷०५८ सालदेखि अनेक पटक संसदमा अवरोध गरिएको उल्लेख गर्दै उनले हरेक समस्याको समाधान बहसबाट गर्नुपर्ने बताए ।

‘सदन अवरोध नगर्ने संकल्प गरेर गरौं । विधि विधान र संविधान र नियमावलीमा उभिएर समस्याको समाधान खोजौं’, महामन्त्री शर्माको प्रस्ताव छ ।

एमालेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ । यही माग राखेर एमालेले साउन १० गतेयता संघीय संसद चल्न दिएको थिएन । यसप्रति महामन्त्री शर्माले व्यंग्य गरे, ‘आज संसद खुलेको छ । एक आपसमा बधाई साटासाट गर्नुपर्ने अवस्था छ ।’

गैरकानुनी रुपमा नेपाल भित्रिएको सुनका विषयमा राज्यको अनुसन्धान गर्ने निकायले अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले त्यसमा विश्वास गर्न आग्रह गरे ।

छानबिन आयोग गठन गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘सीआईबीप्रति अविश्वास हो ?’

महामन्त्री शर्माले राजनीतिक सहमतिबाट बन्ने छानबिनप्रति विश्वास हुने राज्यका निकायले गर्ने अनुसन्धानमा विश्वास नहुने भनेर कस्तो राज्य प्रणालीको परिकल्पना गरेको भनेर पनि एमालेमाथि प्रश्न तेर्साए ।

‘राजनीतिक दलहरुको बीचमा सहमति हुन्छ र छानबिन हुन्छ अनि लोकतान्त्रिक संविधानले परिकल्पना गरेका संस्थाहरु टुलुटुलु हामीले गरेको छानबिन हेरेर बस्छ ? हामी कस्तो समाज र राज्य प्रणाली बनाउन चाहन्छौं ?’ शर्माको प्र्रश्न छ, ‘के राजनीतिक दलहरुको बीचमा सहमति भएर बनेका संस्था मात्रै अनुसन्धानमा सक्षम छन ?’

भ्रष्टाचार विरुद्धमा जे विषय अगाडि बढे पनि सरकारप्रति विश्वास छैन भन्ने प्रवृत्ति त्याग्न महामन्त्री शर्माको सुझाव छ । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललतिा निवासको जग्गा प्रकरणको समेत फाइल खोलेको र कांग्रेसको केन्द्रीय समितिले भ्रष्टाचार विरुद्धको अभियानका कुनै पक्षधरताको ख्याल नगरिने भनेको स्मरण गरे ।

मदन भण्डारीको मृत्यु सम्बन्धी फाइल खोलौं

कांग्रेस महामन्त्री शर्माले विस्तृत अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नैपर्ने विषय अरु धेरै रहेको बताए ।

३३ किलो सुनको एक तोला समेत नभेटिएर त्यो प्रकरण यसै सेलाएको उनले स्मरण गरे । निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको विषय सम्झिए । मदन भण्डारीको निधनको विषयमा पनि उच्च स्तरीय छानबिन आयोग गठन गर्न सकिने बताए ।

‘…मदन भण्डारीको निधन भयो । बाहिर बोल्दा मित्रहरुले उठाउने गर्नुहुन्छ । उच्चस्तरीय आयोग बनाउँ, भन्दै गर्दा त्यो फाइल पल्टाऔं’ महामन्त्री शर्माले प्रस्ताव गरे ।

२०७५ साल गुर्जेको पाँच वर्ष भएको उल्लेख गर्दै उनले थपे, ‘आजका प्रतिपक्षका नेता त्यसबेला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ गइसकेपछि कांग्रेसका सभापति प्रधानमन्त्रीका रुपमा आउनुभयो । अहिले गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । आयोग बनाउने नै हो भने निर्मला पन्तको हत्याको विषयमा बनाऔं ।’

तर अनुसन्धान गर्ने निकाय अनुसन्धानमा प्रवेश गर्ने वित्तिकै त्यस विषयमा अवरोध नगर्न र अनुसन्धान सकिनेबेलासम्म धैयर्ता गर्नुपर्ने कांग्रेस महामन्त्री शर्माको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?